राष्ट्रपतिका कांग्रेस निकट सम्धीकाे भाग्य खुल्दै, देउवाले बनाए कम्युनिस्टविरुद्व कुटनीति
काठमाडौं । विगत तीन दशकदेखि सत्तामा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा जोडिएका नेपाली कांगे्रसका सभापति शेरबहादुर देउवाले आफू प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतमा रहेको भन्दै संवैधानिक पदहरूमा भागवण्डा खोजेका छन् ।
प्रमुख प्रतिपक्षी दलले सरकारले गरेका राम्रो कामको समर्थन गर्दै उसका कमजोरीको खबरदारी गर्ने मूल दायित्वलाई विर्सिएर सभापति देउवाले सरकारको नीति तथा कार्यक्रमदेखि न्यायलयमा प्रश्न उठाइएका व्यक्ति प्रतिनिधि सभाको सभामुख जस्तै संवैधानिक पदमा उम्मेदवार हुँदा समेत असहमति जनाउन सकेन ।
सरकारले गरेका कमजोरीको प्रश्न गर्नु भन्दा सरकारले गर्ने राजनीतिक नियुक्तिमा प्रतिपक्षलाई समेत विश्वासमा लिएर निर्णय गर्नुपर्छ भन्दै सरकारसँग वार्गेनिङ थालेका छन् ।
सरकारका कमजोरीको खबरदारी गर्नुको सट्टामा विपक्षीलाई विश्वासमा लिएर सरकार चलाउनु पर्छ भन्दै देउवाले सार्वजनिक अभिव्यक्ति दिँदै हिँड्नुलाई धेरैले सत्ताको पुच्छर र छायाँ बन्न खोजेको टिप्पणी गर्न थालेका छन् । सरकारसँग देउवाले भागबण्डाको लागि सौदाबाजी गरेको पछिल्लो उदाहरणको रुपमा प्रतिनिधिसभाको उपसभामुख पदमा गरेको वार्गेनिङबाट प्रस्ट हुन्छ ।
माओवादीको शसस्त्र क्रान्तिको समयमा मारिएका अर्जुन लामाको हत्याको आरोप लागेका नेकपाका सांसद अग्नीप्रसाद सापकोटालाई सभामुख बनाउन पूर्णसमर्थन गरेपछि प्रमुख प्रतिपक्षीको हैसियतमा रहेको कांग्रेसको व्यापक टिप्पणी भएको छ ।
सर्वोच्च अदालतले अर्जुन लामा हत्या प्रकरणमा छानबिन गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको छ भने सभामुख सापकोटालाई अनुसन्धानमा सहयोग गर्न आदेश दिइसकेको छ ।
तर, कांग्रेस सभापति शेरबहादुर देउवाले सापकोटाको विषयमा चुईंक्क समेत नबोली पूर्ण समर्थन गरेका थिए । देउवाले पार्टीकी पूर्वकेन्द्रीय कोषाध्यक्ष चित्रलेखा यादव र प्रतिनिधिसभामा कांग्रेसकी सचेतक पुष्पा भूषालमध्ये एक जनालाई उपसभामुख बनाउन सापकोटालाई बिना सर्त समर्थन गरेको स्रोतले जनायो ।
यादव २०५६ सालको प्रतिनिधि सभाको उपसभामुख थिइन भने शिक्षा मन्त्री हुँदा बद्नाम कमाएकी थिइन् । त्यसो त विभिन्न ६ वटा विश्वविद्यालयमा खाली भएको उपकूलपति र पदाधिकारी नियुक्तिमा समेत देउवाले भागबण्डा खोजेका छन् । देउवाले भागबण्डा मात्र खोज्दैनन्, ति ठाउँमा राम्रो भन्दा हाम्रो मान्छे खोज्ने प्रबृत्तिबाट प्रधानमन्त्री केपी ओली पनि आजित भएका छन् ।
त्रिभुवन विश्वविद्यालयले आफ्ना आङ्गिक क्याम्पसमा आगामी फागुन १४ गते स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) को चुनाव गर्दैछ । स्ववियू निर्वाचनमा त्यसको अनुगमन, नियमन, व्यवस्थापन र केन्द्रीय निर्वाचन आयुक्तको भूमिका नै त्रित्रिविका रेक्टरको हुने गर्छ ।
सत्तारुढ नेकपाले त्रिविविको उपकूलपतिमा प्रधानमन्त्री केपी शर्मा ओलीको निर्वाचन क्षेत्र झापा ५ मा पर्ने गौरादह स्थायी घर भएका डा. धर्मकान्त वाँस्कोटालाई नियुक्त गरिसकेको छ । उपकुलपति आफ्नो भागमा नपरेपछि कांग्रेसले शिक्षाध्यक्ष रेक्टर आफूले पाउनु पर्ने माग गर्दै आएको थियो ।
तर, सत्तारुढ नेकपाले शिक्षाध्यक्षमा पनि आफू निकटका दाहाललाई नियुक्त गरेपछि रेक्टरमा नाम दिन कांग्रेस सभापति देउवालाई आग्रह गरेको थियो ।
गतसाता प्रधानमन्त्री ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सँगै राखेर देउवासँग बालुवाटारमा छलफल गरेका थिए । रेक्टरमा देउवाले आफू निकटका प्राध्यापक बासुदेव घिमिरेको नाम सिफारिस गरे ।
देउवाले दिएको नाम स्वीकृत गर्न प्रधानमन्त्री राजी भएपनि सहउपकूलपति समेत रहेका शिक्षामन्त्री गिरिराजमणी पोखरेल र उपकूलपति बाँस्कोटाले पीएचडी नगरेका घिमिरेलाई रेक्टर जस्तो पदमा नियुक्त गर्न मापदण्ड र योग्यता नपुग्ने स्पस्ट पारेका थिए ।
घिमिरेको सट्टामा अर्को उपयुक्त व्यक्तिको नाम सिफारिस गर्न प्रधानमन्त्री लेवलबाट आएको प्रस्तावलाई वेवास्ता गरेका छन् । देउवाको यस्तो वेवास्ता वा अनिच्छालाई नेकपा निकटका प्राध्यापकहरुले आगामी फागुन १४ गते हुने स्ववियू चुनावसँग जोडेर व्याख्या गरेका छन् ।
स्रोतका अनुसार स्ववियू निर्वाचनमा आफ्नो भ्रातृ संस्था नेपाल विद्यार्थी संघले आशातित सफलता पाउने सम्भावना नदेखेपछि देउवाले रेक्टरको नियुक्ति रोकेर स्ववियू निर्वाचन टार्न चाहेका छन् ।
देउवाले प्रधानमन्त्रीसँग वार्गेनिङ गरेको अर्को विषय हो, जापानस्थित राजदूत । आफू प्रधानमन्त्री भएको समयमा तत्कालिन सत्तारुढ राप्रपाको सिफारिस नभए पनि राप्रपाकी नेतृ प्रतिभा राणालाई जापानस्थित नेपाली राजदूत नियुक्त गरेका थिए ।
कांग्रेस–माओवादीको संयुक्त सरकारको समयमा राजदूत भएका १२ मध्ये १० राजदूतलाई सरकारले फिर्ता बोलाइसकेको छ । तर, देउवाकी सासु राणालाई राजदूतबाट फिर्ता नबोलाउन सभापति देउवाको आग्रहलाई प्रधानमन्त्रीले पनि स्वीकार गरेका छन् ।
देउवाले भागबण्डा खोजेको अर्को ठाउँ हो सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन समितिमा आफूले सिफारिस गरेका व्यक्तिलाई नियुक्त गर्नुपर्ने प्रस्ताव गरेका छन् । उनले दुवै आयोगमध्ये मेलमिलाप आयोगमा सुदूरपश्चिमका गणेशदत्त भट्टलाई प्रमुख बनाउन प्रधानमन्त्री ओली र नेकपाका अर्का अध्यक्ष दाहाललाई आग्रह गरिरहेका छन् ।
सरकारले त्रिविविको रेग्क्टरदेखि कृषि तथा बन विज्ञान विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, पोखरा विश्वविद्यालय र सुदूरपश्चिम विश्वविद्यालयमा उपकूलपति खाली छ भने पूर्वाञ्चल विश्वविद्यालय र नेपाल संस्कृत विश्वविद्यालयमा उपकूलपतिसहित सेवा आयोगको अध्यक्ष र सदस्य पद खाली छ ।
विश्वविद्यालयमा करिव ३० प्रतिशत भाग देउवाले खोजेका छन् । ६ मध्ये दुई वटा विश्वविद्यालयमा प्रतिपक्षी दललाई उपकूलपति दिन देउवाले ओलीलाई आग्रह गरेको स्रोतले वतायो । देउवाले प्रचण्डमार्फत ओलीलाई दबाब दिन विभिन्न संवैधानिक आयोगमा समेत कांग्रेसलाई भाग दिन माग गरिरहेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा रिक्त रहेको दुई आयुक्त पदमध्ये एउटामा आफूलाई भाग दिन देउवाले आग्रह गरेका छन् । त्यसका लागि देउवाले नेपाल प्रहरीका पूर्वएआइजी जयबहादुर चन्द र कांग्रेसका पूर्वसांसद किरण यादवका श्रीमानको नाम सिफारिस गरेका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीका सम्धी समेत रहेका किरणका श्रीमानको सम्भावना बढी रहेको स्रोतले जनायो । सरकारले समावेसी आयोग, दलित आयोग, महिला आयोग, मधेशी आयोग आदिमा पदाधिकारी नियुक्त गरेको छैन । देउवाले ति सबै आयोगमा कांग्रेसलाई भागबण्डा पाउनु पर्ने माग राख्दै आएका छन् । (यूनाइटेड पाेस्ट साप्ताहिकबाट साभार)
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया