के हुँदै छ नेविसंघभित्र ? यस्ताे छ विद्यार्थी नेताहरूकाे तयारी

काठमाडौं । नेपाली कांग्रेसमा संस्थापन पक्ष र असन्तुष्ट पक्षबीचको विवाद बुढानिलकण्ठस्थित पार्टी सभापति शेरबहादुर देउवाको निवासमा मिलेको भनेर प्रचार गरे पनि त्यसको परिणाम भने उल्टो देखिएको छ ।

सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको पार्टी केन्द्रीय कार्यसमितिको बैठकमा विद्यार्थी नेताबीचको झडप र बिबादले पार्टी नेताबीचको द्वन्द्व अझै समाप्त भएको छैन भन्ने देखाएको छ ।

सभापति देउवाले गत मंसिर २६ गते बोलाएको केन्द्रीय कार्यसमिति बैठकमा पार्टी सभापति शेरबहादुर देउवाले पार्टीको १४ औं महाधिवेशनको कार्यतालिका नल्याएको भन्दै असन्तुष्ट नेताहरू रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला लगायतले बहिस्कार गर्दै आएका थिए ।

सभापति देउवाले असन्तुष्ट नेताको बहिस्कारका बाबजुद पनि पुस ११ गते पार्टी विधानका विभिन्न दफा निलम्वन गर्ने र पार्टी केन्द्रीय विभागहरूको सख्या २८ बाट बढाएर ४७ पुर्‍याउने निर्णय गरेको थियो ।

सहमति बमोजिम केन्द्रीय कार्यसमितिको सोमबारको बैठकले महाधिवेशनको मिति वाहेक वडा, गाउँ, नगर, प्रदेशसभा, संघीय निर्वाचन क्षेत्र र जिल्ला अधिवेशन आगामी २०७७ साल कात्तिकसम्म सम्पन्न गर्ने गरी संशोधन गरेको थियो । त्यसवाहेक सहमति भएको भनिएको विषयमा समेत निर्णय हुन सकेन ।

पदाधिकारी र पूर्वपदाधिकारीबीच गत साता शुक्रबार वुढानिलकण्ठमा भएको बैठकमा नेपाल विद्यार्थी संघको तदर्थ समिति गठन गर्ने र त्यसमा असन्तुष्ट रामचन्द्र पौडेललाई ३३ र कृष्णप्रसाद सिटौला पक्षलाई २८ प्रतिशत दिने सहमति भएको थियो । त्यस्तै नेपाल तरुण दलमा समेत पौडेल पक्षलाई ३० प्रतिशत र सिटौला पक्षलाई २० देखि २५ प्रतिशत दिने सहमति भएको थियो ।

केन्द्रीय विभागमा भने सहमति हुन सकेको छैन । नेविसंघ र तरुण दलमा जस्तै विभागमा पनि भागबण्डा गरिने भनिए पनि असन्तुष्ट सिटौलाले विभाग गठन गर्न नहुने पक्षमा अडान लिएका छन् ।

असन्तुष्ट नेता रामचन्द्र पौडेलले भने विधान बमोजिम २८ वटा विभाग गठन गर्नु पर्ने र त्यसमा आफूहरुलाई ४० प्रतिशत दिनु पर्ने अडान लिएका छन् । संस्थापन पक्षले भने सबै केन्द्रीय सदस्यहरुलाई जिम्मेवारी दिने उदेश्यले ४७ वटै विभाग बनाउनु पर्ने प्रस्ताव गरेका छन् ।

पौडेल पक्षधर भनेर चिनिएका प्रभावशाली नेता डा. शेखर कोइरालाले भने महाधिवेशनको घोषणा भइसकेपछि विभागहरु गठन गर्न नहुने सुझाव सभापति देउवालाई दिएका छन् ।

नेविसंघको तदर्थ समितिमा उमेर हद नलगाउने र आगामी महाधिवेशनमा भने २०७५ साल माघ २८ गतेसम्म ३२ वर्ष उमेर नकटेका विद्यार्थीले नेतृत्वको लागि प्रतिष्पर्धा गर्न पाउने गरी केन्द्रीय कार्यसमितिले निर्णय गरेको छ ।

विगतमा कृष्णप्रसाद सिटौलाको गुटबाट नेविसंघको महामन्त्रीमा लोकप्रिय मतबाट विजयी भएका कुन्दनराज काफ्लेले गुट परिवर्तन गरेका छन् । सिटौलाले पार्टी नेताहरूसँग आफूले २८ प्रतिशत पाउने भएपछि सहमति जनाएका थिए ।

तर सिटौलाको आग्रह तथा युवा केन्द्रीय सदस्यहरू गगन थापा र प्रदीप पौडेलको आग्रहलाई समेत अश्विकार गरेका थिए । स्रोतका अनुसार काफ्लेलाई संस्थापनइत्तर पक्षका नेता बलबहादुर केसी र डा.रामशरण महतले सहयोग र सुझाव दिएको बुझिएको छ । यसको जानकारी पार्टी केन्द्रीय कार्यसमिति बैठकमा केसीले ‘सिटौलाजी कुन्दन त हाम्रो भइसक्यो नि’ भनेर सुनाएका थिए ।

उता पूर्वमहामन्त्री प्रकाशमान सिंह निकटका भनेर चिनिएका नेविसंघ काठमाडौका अध्यक्ष मनोज बैद्य पार्टी सभापति देउवाको गुटमा गएका छन् । सभापति देउवाले नेविसंघको तदर्थ समितिमा महामन्त्री पद दिने आश्वासन दिएको स्रोतले जनाएको छ ।

बैद्यले सोमबार पार्टी सभापति देउवा पार्टी कार्यालयमा प्रवेश गर्दा अबरोध गरेर अपमान गरेको भन्नै अनसन बसेका कुन्दन काफ्ले समूहका विद्याथीलाई आक्रमण गरेका थिए । बैद्य समूहका विदार्थी चाम्स शिवाकोटी नेतृत्वको टोलीले अनसन बसेका विद्यार्थीमाथि कुटपिट गरेका थिए ।

कुटपिटबाट महेन्द्र रत्न क्याम्पस ताहचलका विद्यार्थी कमल पन्थको टाउको फुटेको छ भने अछामकी विद्यार्थी लक्ष्मीकुमार बोगटीको जीउमा निलडाम थियो । कुटपीटबाट सरोज थापा र आकास रेग्मी घाइते भएका थिए ।

सभापति देउवाले बैद्यवाहेक शुभराम बस्नेतलाई पनि महामन्त्री बनाउने आश्वासन दिएका छन् । तर, बस्नेतले आफूलाई मनोज बैद्यसँग तुलना गरेर महामन्त्री बनाउन खोजेको भन्दै अश्वीकार गरेका छन् ।

बैद्य र बस्नेतलाई महामन्त्री बनाउन देउवाले प्रयास गरेपछि सुदूरपश्चिमको नाममा राजनीति गरेका पुष्पबहादुर शाही र प्रेमराज भट्ट रुष्ट बनेका छन् । देउवाले महामन्त्रीमा महिलाबाट भने महेश्वरी कुँवरलाई नियुक्त गर्न खोजेका छन् । (यूनाइटेड पाेस्ट साप्ताहिकबाट साभार)

Published : Thursday, 2020 January 30, 11:03 am

फेसबुकबाट तपाईको प्रतिक्रिया