सापकोटालाई रोक्न काठमाडौंमा भव्य प्रदर्शन, कम्युनिस्टहरूलाई तनाब

काठमाडौं । काभ्रे जिल्लाको दप्चा निवासी अर्जुन लामालाई अपहरण गरेर हत्या गरेको अभियोग लागेका सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता अग्नि सापकोटालाई सभामुख नबनाउन दवाव दिँदै पीडित परिवार र अधिकारकर्मीहरूले काठमाडौंमा प्रदर्शन गरेका छन् ।

काठमाडौंको माइतीघर मण्डलामा बुधबार सापकोटालाई कारबाहीको माग गरेर हत्या गरिएको भनिएका अर्जुन लामाकी श्रीमती पूर्णीमाया लामासहित नागरिक समाज तथा अधिकारकर्मीहरूले खबरदारी गरेका हुन् ।

उनीहरूले अर्जुन लामा हत्या घटनामा अनुसन्धानको क्रममा रहेका व्यक्तिलाई सभामुख नबनाउ माग गरेका छन् ।

प्रदर्शनमा सहभागीहरूले अर्जुन लामाका पीडितलाई थप अपहेलित र अपमानित नगर, मानवअधिकार र कानूनी शासनको सम्मान गर भन्ने जस्ता प्लेकार्ड र नारा लेखिएका ब्यानरहरू बोकेका थिए ।

पीडित, अधिकारकर्मी र नागरिक समाजले बिहीबार पनि दिउँसो ३ बजे माइतीघर मण्डलामा बिरोध प्रदर्शन गर्ने अधिकारकर्मी चरण प्रसाइँले जानकारी दिएका छन् ।

यस्तो थियो घटना

तत्काली नेकपा (माओवादी)का केन्द्रीय नेता अग्नि सापकोटा लगायतविरुद्ध काभ्रे जिल्ला छत्रेवास निवासी अर्जुनबहादुर लामालाई २०६२ साल वैशाख १६ गते श्रीकृष्ण मावि दाप्चामाको अभिभावक भेला स्थलबाट अपहरण गरी बेपत्ता बनाई सोही सालको श्रावण महिनाको तेश्रो हप्तातिर मृतक आफैलाई नै खाडल खन्न लगाई जीवितै सो खाडलमा पुरी हत्या गरेको आरोपमा निजकी श्रीमती पूर्णीमाया लामाले २०६४ सालमा काभ्रे जिल्ला प्रहरी कार्यालयमा कर्तव्य ज्यानसम्बन्धी मुद्दाको जाहेरी लिई गएकी थिइन् ।

प्रहरीद्वारा उक्त जाहेरी दर्खास्त दर्ता गर्न इन्कार गरेकोमा सर्वोच्च अदालतद्वारा मिति २०६४ फाल्गुन २२ गतेको परमादेशपछि मात्रै जाहेरी दर्ता भई अनुसन्धान प्रकृया सुरु भएको थियो ।

सर्वोच्च अदालतले प्रत्येक १५ दिनमा उक्त अनुसन्धानको प्रगति विवरण बुझाउन दिएको आदेशपश्चात सापकोटा लगायत विरुद्ध जिल्ला प्रहरी काभ्रेले जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोक, ईलाका प्रहरी कार्यालय कात्तिके देउराली र श्यामपाटी प्रहरी चौकीमा पटकपटक पत्र लेखी निज सापकोटालाई उपस्थित गराउन पत्रचार गरेको थियो ।

Published : Wednesday, 2020 January 22, 6:20 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया