प्रदेश ५ कांग्रेस संसदीय दलका नेता शर्माको निधन, दुःखमा पर्‍याे कांग्रेस

बुटवल । नेपाली कांग्रेस प्रदेश ५ प्रदेश सभाका प्रमुख विपक्षी दलका नेता बलदेव शर्मा पोखरेलको निधन भएको छ ।

क्यान्सर रोगबाट पीडित ८२ वर्षीय पोखरेलको सोमबार दिउँसो पौने दुई बजे रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर १४ खैरियास्थित आफ्नै निवासमा निधन भएको हो ।

बिक्रम संवत १९९४ सालको माघ १९ गते प्यूठानको तुसारामा जन्मिएका पोखरेल नेपाली कांग्रेसको समानुपातिक कोटाबाट प्रदेशसभा सदस्य बनेका थिए । उनी प्रदेशसभाकै जेष्ठ सदस्यसमेत थिए ।

बिक्रम संवत २०१३ सालदेखि नेपाल छात्र संघबाट राजनीति सुरू गरेका पोखरेल २०१८ सालमा २ वर्ष नेपालगञ्जमा जेल परेका थिए ।

२०२६ सालदेखि २०३६ सालसम्म कांग्रेस रुपन्देहीको सचिव भएका पोखरेल नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिमा आमन्त्रित सदस्यसम्म भए ।

पोखरेललाई गत वर्ष माघमा छातीमा क्यान्सरको संक्रमण देखिएको थियो । पछिल्लो समय शरीरभर फैलिएको थियो ।

लामो समय नर्भिक अस्पताल काठमाडौं र पछिल्लो समय रुपन्देहीको क्रिमसन अस्पतालमा उपचार गराएका शर्मालाई हालै मात्र घर लगिएको थियो ।

२०२० सालदेखि रुपन्देहीको खैरियामा बस्दै आएका पोखरेलका एक पत्नी, चार छोरा र दुई छोरी छन् ।

Published : Monday, 2020 January 20, 4:36 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया