कम्युनिस्टले विस्तारै जनताको अधिकार खोस्दैछः देउवा

ललितपुर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिस्टहरूले जनताका प्रजातान्त्रिक हकअधिकार खोज्न लागेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

ललितपुर जिल्लाको गोदावरी नगरपालिकाको चापागाउँमा बिहीबार वीर गणेशमान सिंह तेस्रो राष्ट्रय खुल्ला किक बक्सिङ प्रतियोगिताको उद्घाटन सत्रलाई सम्बोधन गर्दै सभापति देउवाले निरंकुश कम्युनिस्टहरूले फेरिका दिनमा जनताको अधिकार नखोसुन् भनेर जनता एक हुने बेला आएको बताए । उनले आवश्यक पर्‍यो भने अधिकारका लागि संघर्ष गर्नुपर्ने बेला आउन सक्ने बताएका छन् ।

‘कम्यनिस्टहरूले विस्तारै विस्तारै प्रजातान्त्रिक हकअधिकारहरू खोस्न खोजी रहेका छन्’, सभापति देउवाले भने, ‘विशेष सेवा विधेयकमार्फत गोपनीयताको हक खोस्न लागिएको छ । टेलिफोनबाट व्यक्तिगत कुराहरू ट्यापिङदेखि लिएर जनताले लेख्न पाउने, बोल्न पाउने अधिकारहरूलाई फेरि खोस्न विधेयकहरू ल्याउँदै छन् ।’

‘नेपालको सबैभन्दा स्वतन्त्र संस्था मानवअधिकार आयोगलाई महान्यायाधिवक्ताको कार्यालय मातहत राखेर सम्पूर्ण रुपमा नियन्त्रण गर्न खोजिएको छ’, उनले भने, ‘आज अदालत, सेना लगायतका क्षेत्रमा कम्युनिस्टहरूले हस्तक्षेप गरेर निरिह बनाउन खोजेका छन् ।’

‘लोकतान्त्रिक व्यवस्थालाई कमजोर पार्न खोजिएको छ’, उनले भने, ‘यसको खिलाफमा सबै क्षेत्रले आवाज उठाउनुपर्छ । नेपालमा फेरि यस्ता किसिमका बद्मासी नगरोस् खेल क्षेत्रसहित हामी मिलेर अगाडि बढ्नुपर्छ ।’

नेपाली कांग्रेसका सभापति देउवाले प्रजातन्त्रका लागि संघर्ष गर्नुभएका गणेशमान सिंहको स्मरण गर्दै त्यो मार्गमा हिँड्नुपर्ने बताए ।

‘गणेशमानजी जेलबाट भागेर जानुभयो । गणेशमान सिंहज्यू प्रजातन्त्रका लागि कहिल्यै नथाक्ने व्यक्ति हुनुहुन्थ्यो’, उनले भने, ‘उहाँको बाटोलाई अनुशरण गर्नुपर्छ ।’

Published : Thursday, 2020 January 16, 7:47 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया