कांग्रेस कसैकाे पेवा हाेइन, कार्यकर्ताले बचाएकाे पार्टी हाे, ठूला कुरा नगराैंः भण्डारी (अन्तर्वार्ता)

शंकर भण्डारी, केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री, नेपाली कांग्रेस

नेपाली कांग्रेसभित्र व्यक्तिगत स्वार्थका कारण राष्ट्रिय जागरण अभियान अबरुद्ध भएको छ । पार्टीभित्र ६०–४० को भागबण्डाको फेरि जोडदार माग उठेको छ । कम्युनिस्टहरूको बलियो सरकार छ । संविधान विपरितका क्रियाकलापहरू भइरहेका छन् । यस्तो अवस्थामा कांग्रेस मिलेर जानुपर्ने बेला असन्तुष्ट नेताहरूको नेतृत्व गरेर वरिष्ठ नेता रामचन्द्र पौडेलले गुटगत भेलाहरू गर्दै आएका छन् । पौडेल समूहकै बहिस्कार र खटपटका कारण कांग्रेसले पुस महिनामा तेस्रो चरणको राष्ट्रिय जागरण अभियान चलाउन सकेन । संसद कम्युनिस्टहरूले बन्धक बनाएका छन् । यो अवस्थामा कांग्रेसको भावी योजना र विवाद समाधानको के छ उपाय भनेर नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री शंकर भण्डारीसँग हाम्रा सहकर्मीले गर्नुभएको कुराकानीको सम्पादित अंश :–

मिल्नुपर्ने बेला नेपाली कांग्रेसभित्र विवाद छ, गुटको भेला छ । यस्तो बेला कांग्रेसको राजनीति कता गएको छ ?

बिडम्बना नै भन्छु म । कांग्रेसभित्रको असहमति अस्वभाविक पनि हो । असहमतिले गर्दा जिल्लाका साथीहरूमा निरासा छ । कांग्रेसभित्र देखिएको असन्तुष्टिमा कुनै दम छैन । यसो गर्नु आवश्यक थिएन । सभापति शेरबहादुर देउवाजीले पनि सहि ढंगले आफ्नो भूमिका निर्वाह गर्न नसकेको अवस्था छ । सबै मिलेर जानुपर्छ भन्ने मनसाय ठीक हो । पछिल्लो समयमा देखिएका विवादमध्ये नेविसंघको विषय छ । सभापतिबाट नेविसंघमा जुन प्रस्ताव आएको छ त्यो गलत छ । यो कुरा मैले सभापति देउवाजीलाई भेटेर पनि भनिसकेको छु ।

नेविसंघको विधान हामीले स्वीकृत गरेका छौँ ३२ वर्षको उमेर हद लागू गर्‍यौँ । अहिले स्वतन्त्र विद्यार्थी युनियनको चुनाव आइरहेको छ त्रिभुवन विश्वविद्यालयले २८ वर्षभन्दा मुनिकालाई निर्वाचनमा प्रतिस्पर्धा गर्न पाउने भनेर मापदण्ड बनाएको छ । कांग्रेस नेतृत्वले आफ्नै प्रस्तावमा नेविसंघमा उमेर हदको व्यवस्था गरिसकेपछि फेरि अहिले आएर त्योभन्दा विपरित अन्तरिमकाल वा अन्तरिम व्यवस्था जे जति ढंगले ब्याख्या गरेपनि उमेर हदलाई व्यवस्थापन नगर्नु पनि समस्या भयो ।

नेविसंघको पदाधिकारीहरूको बारेमा सभापतिज्यूले आफ्नो तर्फबाट तीन जना महामन्त्री प्रस्ताव गर्नुभयो । रामचन्द्र पौडेलबाट तीन जना भन्नुभयो । कृष्णप्रसाद सिटौलालाई दुई वटा महामन्त्री र विजयकुमार गच्छदारलाई एउटा महामन्त्री भनेर ९ पुर्‍याइएको छ । नेविसंघ गठन गर्ने भनेको पनि दुई महिना पुगिसक्यो । अब नेविसंघको कार्यकाल ५ महिना मात्रै बाँकी छ । यो गलत भइरहेकोा छ । हामी पनि कांग्रेसको कार्यसमितिमा छौँ । हामी सभापतिलाई साथ दिएको व्यक्ति पनि हौँ । यस्ता कुराले भविष्यमा राम्रो हुँदैन ।

वरिष्ठ नेता रामचन्द्र पौडेल समूहबाट कार्यतालिकाको कुरा उठिसकेपछि कार्यतालिका आयो । पार्टीको कार्यसमितिको समयावदी एक वर्ष थप्नै प¥यो । गल्ती नै भयो भने पनि त अर्को विकल्प छैन । थप्ने परम्परा पनि हो । समय त थप्नै पर्‍यो । त्यसमा के कति कमजोरी भयो नेतृत्वबाट अथवा नेतृत्व भन्नाले शेरबहादुर देउवा मात्रै होइन ।

पार्टी सभापतिको निश्चित रुपमा उहाँको बढी जिम्मेवारी हुन्छ नै । नेतृत्व भनेको कार्यसमिति हो । सबैको दायित्व छ पार्टीको महाधिवेशन गराउने । नेतृत्वले सहि ढंगले पार्टीलाई चलाउन सकेन भनेर बहस चलाउन सकिन्छ । असन्तुष्टिका नाममा केन्द्रीय कार्यसमितिको बैठक बहिस्कार गर्ने, परामर्शका नाममा गुटको भेला राख्ने गर्नु भएन नि ।

सभापति शेरबहादुर देउवाले तोकिएको समयभित्र विभागहरू गर्न गर्न सक्नुभएन । संगठन चलायमान बनाउन सक्नुभएन । असन्तुष्ट समूहलाई मिलउन सक्नुभएन । भ्रातृ संस्था बनाउन सक्नु भएन नि ? यो कुरा त सत्य हो मान्नु हुन्छ ?

यो कुरा सत्य हो । पार्टीमा सहमति चाहिन्छ भन्ने कुरा पनि भयो । सहमति नहुँदा बैठक नै बहिस्कार गर्ने । बाहिर बाहिर भेला गर्ने । परामर्शका नाममा जिल्ला सभापतिहरूलाई बोलाएर छलफल गराउने । परामर्श भएपनि बाहिर मान्छेले हेर्दा र सुन्दा त चिन्ताको परिस्थिति आयो । असन्तुष्ट समूहलाई सहमति गराउन नसक्नु नेतृत्वको कमजोरी होला । सहमति हुन नदिनु पनि त कमजोरी होला नि ? सहमति सहमति भन्ने तर, सहमति हुन नदिने । बखेडा झिकिरहने काम भयो ।

सभापति शेरबहादुर देउवालाई विभाग गठन गर्न त समस्या थिएन । किन गर्नुभएन त ? अरुलाई दोष दिन त भएन नि ?

नेपाली कांग्रेसमा हामीले बनाएको विधानअनुसार पार्टीको विभाग गठन गर्दा महाधिवेशन सम्पन्न भएको दुई महिनाभित्र निर्वाचित नेतृत्वले विभागहरूको पूर्णता दिइसक्नुपर्नेछ भन्ने कुरा उल्लेख छ । विधानअनुसार काम भएन भन्ने विषयमा धेरै कुरा गर्नुपरेन । त्यसका पछाडिका कारण के छन् ? किन त्यस्तो गर्नुप¥यो ? किन विभाग गर्न हुन सकेन भन्ने कुरामा बसह गर्ने ठाउँ त होला ! तर, पनि कुरा सत्य के हो भने विधानअनुसार काम हुन नसकेकै हो । हामीले महासमितिको बैठक सम्पन्न ग¥यौँ । महामन्त्री पूर्णबहादुर खड्काज्यूको संयोजकत्वमा विधान मस्यौदा समिति बनायौँ ।

विधानमा मस्यौदा समितिले व्यापक प्रदेशस्तरीय र जिल्ला तथा कतिपय ठाउँमा पुगेर विधानको मस्यौदामा छलफल गरायौँ । महासमितिको बैठकबाट विधान पास गरायौँ । विभागकै कुरा गर्दा त्यहाँ २८ वटा विभाग भनियो । त्यतिखेर बिचार पुर्‍याउनु पर्ने थियो । अहिले विभाग बढाउने आवश्यक्ता थियो भने त्यस बेला नै किन यो विषयमा नसोँचेको ? पहिल त ४२ वटा विभागहरू थिए । ४२ वटाबाट झारेर २८ वटा बनाइएको हो अहिले । फेरि अहिले बढाउनु पर्‍यो । यहाँ कमजोरी देखियो । कमजोरी त स्वीकार गर्नुपर्‍यो नी । कमजोरीलाई ढाकछोप गर्दा त्यसले क्षति पु¥याउँछ । गलत कुरा गलत नै हुन्छ ।

अब कांग्रेसमा यस्तो समस्या रहेछ । रामचन्द्र पौडेल समूहले गुटको भेला गर्नुभयो । कांग्रेस कसरी अगाडि बढ्छ ?

उहाँहरूले परामर्श बैठक भन्नुभएको छ । आफूलाई सच्याने प्रयास गर्नुभयो । उदेश्य गुटकै भेला हो । जिल्लाका सभापतिहरूसँग मेरो कुनै गुनासो छैन । सभापतिहरूले केन्द्रको विवाद थाहा पाउनुभएको छ । कम्युनिस्टहरूको हर्कत उहाँहरूलाई थाहा छ ।

राज्यको सम्पूर्ण क्षेत्रमा कम्युनिस्टको कब्जाको अवस्थामा छ । बाह्य शक्तिको खेल त्यत्तिकै छ । जिल्ला सभापतिहरूलाई नेतृत्व लिएर काम गर्न धेरै समस्या छ । लुकाउनुपर्ने कुार छैन । परामर्श बैठक भने पनि त्यो भेला नै हो । मकसद के हो भने आफूलाई बलियो बनाउनको लागि र पार्टीमा बार्गेनिङ गर्नको लागि गरिएका गतिविधि हुन् । सभापतिहरूले पनि मिलेर जानुपर्छ भन्नुभएको छ ।

त्यो राम्रो कुरा आएको छ । रामचन्द्र पौडेल समूहले गरेका यी सबै कुरा गलत छन् । यो कार्य गर्नु आवश्यक्ता थिएन । केन्द्रीय कार्यसमिति भन्नाले हामी सबै हो । दुईवटा कांग्रेस पार्टी मिलेपछि त्यस बेला शेरबहादुर देउवालाई वरिष्ठ नेताको अभ्यास गरियो । अहिले रामचन्द्रजीलाई भनिएको छ । यो विषय पार्टीको विधानअनुसार भएको व्यवस्था होइन । वरिष्ठ नेता भनेको पार्टीमा सर्वस्वीकार्य सम्मान मात्रै हो ।

कांग्रेसले आफूलाई लोकतान्त्रिक पार्टी भन्छ । यसअघि कांग्रेसभित्र बहिस्कार गर्ने भन्ने कुरा सुनिएको थिएन । असहमतिका कुरालाई बैठकभित्रै बसेर राख्ने र असहमति जनाउने परम्परा थियो । यस पटक त बहिस्कार नै भयो । यसलाई कसरी बुझ्ने ?

यो कुरा कुनै पनि अवस्थामा राम्रो हुँदै होइन । आज कसको सम्मानको कुरा हो । कसलाई सम्मान चाहियो ? सम्मान जसले निष्ठानपूर्वक पार्टीमा निरन्तर समय दिएर आफ्नो व्यक्तिगत स्वार्थ नहेरिकन काम गर्नुभएको छ । पार्टीमा ईमान्दारिताका साथ काम गर्ने देशभरिका हजारौँ साथीहरूलाई सम्मान चाहिएको छ । सभापति, वरिष्ठ नेता, शंकर भण्डारीलाई सम्मान चाहिने कुरामा झगडा गर्न मिल्छ ? अनावश्यक बहस गर्न मिल्छ ? तिक्तता सिर्जना गर्न मिल्छ ? सम्मान चाहिएको छ भने निष्ठाका साथ लगानी गरेका साथीहरूलाई सम्मान चाहिएको छ ।

पार्टीभित्र जसको उचित राजनीतिक व्यवस्थापन भएको छैन, उचित मूल्यांकन भएको छैन, उचित न्याय र उचित व्यवहार हामीले गरेका छैनौँ ती साथीहरूको सम्मानको बारेमा बहस र विवदा गरौँ । केही व्यक्तिको वपौती हो कांग्रेस ? केही व्यक्तिका पात्रलाई कुन ठाउँमा राख्ने ? कति मान्छे बनाउने भन्ने नाममा झगडा गर्न पाइन्छ कांग्रेसमा ? यो कांग्रेस त्यसै बनेको छ ? हिजोका दिनमा शेरबहादुर देउवा र रामचन्द्र पौडेल पनि कांग्रेसको कार्यकर्ता हुन् । आज उहाँहरू नेता हुनुभएको छ । हामीले ईमान्दार भएर कहिल्यै समीक्षा गर्‍यौँ ? पार्टीमा हामीले कति पयौँ र पार्टीमा हामीले कति लगानी गर्‍यौँ भन्नेमा हाम्रो समीक्षा छ ? हामी युवा भनौदाहरूले केन्द्रीय सदस्य, मन्त्री, सांसद भएका छौँ ।

हामीले पार्टीलाई कति योगदान ग¥यौँ त ? के भूमिका खेल्यौँ ? हामीले आत्मसमीक्षा गरेका छौँ ? हामी को–कोसँग जोडिएका छौँ ? म भन्ने हिम्मत गर्न सक्छौँ । जनतालाई साक्षी राखेर मातृभूमिलाई शीरमा राखेर हामी विशुद्ध छौँ । हामी निष्ठापूर्वक पार्टीमा लागेका छौँ । कसैसँग लेनदेन छैन, हामी स्वार्थ (विदेशी शक्ति) जोडिएका छैनौँ भन्न सक्छौँ ? विदेशी तत्वले नेपालको राजनीतिमा हस्तक्षेपकारी भूमिका गरेर नेपालको अस्तित्वमाथि खेल्न खोजेको छ ती शक्तिसँग हामी नजोडिइकन तिनको, कुनै प्रभावमा नपरेर पार्टीको निष्ठा आदर्शप्रति कटिबद्ध भएर काम गरेका छौँ भनेर भने भन्ने ल्याकत छ अहिलेका युवाहरूमा ? छैन ।

तपाईहरू पनि एकजना नेताको पछाडि लाग्नुभएको छ । गुटलाई संरक्षण गर्नुभएको छ नि ?

पार्टीको आन्तरिक चुनावको प्रतिस्पर्धामा जाँदा एउटा समूह बन्यो । त्यो समूहमा मपनि जोडिए । मैले कुरा लुकाएको छैन । म शेरबहादुर देउवा समूहमा जोडिएर म १२औँ र १३औँ महाधिवेशनबाट म केन्द्रीय सदस्य भएँ । यद्यपि शेरबहादुर देउवाकै मान्छेहरूले पनि शंकर भण्डारीलाई असहयोग गरेको मसँग प्रमाण छ । शेरबहादुर देउवाको विपक्षमा रहेका साथीहरूले पनि मलाई साथ दिएको अवस्था छ । नैतिक रुपमा म आफूलाई के ठान्छु भने समूहमा जोडिएकै हो । समूहमा जोडिएका कारणले यो महाधिवेशनको कार्यअवधिमा समूहमा बसेर केही विशेक छलफल, मन्थन, कुरा त्यहिँभित्र गर्नुपर्छ भन्ने मेरो दृष्टीकोण हो ।

नेपाली कांग्रेसको विधानहरू केन्द्रीय कार्यसमितिमा बहुमतबाट निलम्बन गरिएको छ । रामचन्द्र पौडेल समूहले त्यो निर्णय खारेजीको माग गरेका छन् । त्यो सम्भव छ ?

त्यसको बारेमा चाहिँ कुरा के छ भने, सहमतिमा गरेको भए हुन्थ्यो भन्ने पक्षमा म पनि छु । मैले पनि सहमतिमा निर्णय गर्नुपर्छ भनेको थिएँ । यस्ता केही विषयहरू चाहिँ, हामीहरूलाई समेत थाहा नदिएर प्रस्ताव आयो । आवश्यक थियो भने अधिवेशनको कुरा हो । नेतृत्व त स्वच्छ प्रतिस्पर्धाबाट आउनुपर्छ । छलछाम आफैभित्र किन गर्ने ? जालझेल आफैभित्र किन गर्ने ? यो त पार्टीको नेतृत्व चयन गर्ने कुरा हो । यो कुनै आमनिर्वाचन पनि होइन । लोकतान्त्रिक प्रक्रियामा आमनिर्वाचन पनि निष्पक्ष हुनुपर्छ । निस्कलंक हुनुपर्छ । त्यसले प्रजातन्त्रिक मूल्य र मान्यताको मर्यादा कायम गर्छ । यो विषयमा केही बहस हुन सक्छ । यसलाई अन्यथा मान्दिन । असन्तुष्ट समूहले यो कुरा असल नियतले उठाएको भन्ने कुरामा आशंका छ । असन्तुष्ट समूहलाई ढुक्कसँग विश्वास गर्ने आधार पनि छैन ।

असन्तुष्ट समूहले आफनो स्वार्थका लागि कुरा कुरा उठाउनु भएको हो ?

पार्टी बनाउने विषयमा उहाँ(पौडेल समूह)हरूसँग कुन तर्क छ त ? पार्टीलाई मजबुत बनाउन, पार्टीलाई संस्थागत बनाउन, पार्टीलाई मर्यादित र सिङ्गो रुपमा अगाडि बढाउने कुरामा उहाँहरूसँग के तर्क छ ? कुनै तर्क छैन ।

पौडेल समूहले ६०–४० को कुरा गरेर आफ्नो नेता तथा कार्यकर्ताहरूलाई संरक्षण गर्ने भन्नु भएको छ त ?

को कार्यकर्ता ? के कार्यकर्ता ? चाहे शेरबहादुरजी होस् । चाहे रामचन्द्रजी होस् । अरु को–को हुन् । कति जना कार्यर्ता ? कांग्रेसमा कति जना मान्छेले बनाएको पार्टी हो यो ? कति जना मान्छे यसमा आवद्ध छन्, संलग्न छन् ? कसले कांग्रेस बनाएको छ । को हो आफ्नो मान्छे भनेको ?

कांग्रेसभित्रको यो अवस्थाले बलियो कम्युनिस्टसँग तपाईहरू कसरी प्रतिस्पर्धा गर्नु हुन्छ ?

त्यही त भनेको । जो विषयमा हामीले बहस गर्नुपर्ने थियो । मन्थन गर्नुपर्ने थियो । गृहकार्य गर्नुपर्ने थियो । मेहनत गर्नुपर्ने थियो । त्यहाँ चाहिँ हामीले केही पनि गरेका छैनौँ । नेपालको राजनीतिमा नेपालको कम्युनिस्ट भन्ने समूहरूले, पार्टीहरूले ०७ सालको परिवर्तनदेखि आजको दिनमा आएर संविधानसभा र संविधान बनाउँदै आम निर्वाचन सम्पन्न गर्ने अवधिसम्म कुन भूमिकाको नेतृत्व गर्ने काम गरे ? कम्युनिस्टले गरे भन्दाखेरी नेपालको कम्युनिस्टको नाममा धेरै पटक, धेरै प्रकारका द्वन्द्वहरू भए । कलहहरू भए । घात प्रतिघातको राजनीति भए ।

०१५ सालको जननिर्वाचित सरकार राजाले अपदस्थ गर्दा कम्युनिस्टहरूले दीपावली नै मनाए । यसको प्रमाण छ । ०३६ सालको जनमत संग्रहमा कतिपय कम्युनिस्टले पञ्चायतको पक्षमा मतदान गरेका छन् । तथ्य छ । प्रमाण छ । कथित माओवादीका नाममा कांग्रेसहरू काटिन थाले । त्यस बेला तत्कालीन नेकपा(एमाले)ले सहयोग गर्‍यो । प्रमाण छ । तथ्य छ । यस्ता धेरै कुरा छन् ।

माओवादीलाई शान्ति प्रकृयामा ल्याउने भूमिका गर्दैगर्दा तत्कालीन एमालेका असन्तुष्ट समूहका माधवकुमार नेपाल अभिव्यक्तिहरू, त्यहाँका केही दस्तावेज हेरे थाहा हुन्छ । कम्युनिस्टहरूको असली स्वरुप कसैलाई थाहा छैन । कहिले माले, कहिले मसाले, कहिले माओवादी, कहिले मण्डले, एमाले, नेकपा यिनको विभिन्न स्वरुप छन् । बुझ्न गाह्रो छ ।

कम्युनिस्टको बलियो सरकार छ । संविधान विपरित विधेयकहरू संसदमा पेश भएका छन् । धमाधम कानूनहरू बनेका छन् । यसरी त कांग्रेसले लोकतन्त्र र संविधानका रक्षा कसरी गर्छ ?

कम्युनिस्टले कांग्रेसविरुद्ध राज्यप्रशान प्रयोग गरेको धेरै तथ्य बाहिर आएका छन् । हाम्रा साथीहरूलाई अनावश्यक झुठ्ठा मुद्धा लगाउने । फसाउने । जेल हाल्ने । हिरासतमा राख्ने । यातना दिने काम त भइरहेका छन् । कांग्रेसका विरुद्धमा भएका गतिविधिमा हामी सचेत हुनुपर्छ । विभिन्न आन्दोलनबाट प्राप्त उपलब्धिहरूलाई अतिक्रमण गर्ने काम भइरहेको छ ।

संस्थागत रुपमा भ्रष्टाचार भइरहेका छन् । लाख करोडमा होइन अर्ब, खर्बमा भ्रष्टाचार भएका छन् । मूल्यवृद्धि भएको छ । न्यायालय, प्रशासन, सुरक्षा निकाय हरेक ठाउँमा कम्युनिस्ट सरकारको हस्तक्षेप छ । दुई छिमेकी मुलुकवीच भएको असमझदारीमा बहस गर्न सकेका छैन हामीले ।

यी कुरा त संसदमा उठाउने होइन र ? यस्तो अवस्था हुँदा पनि संसद चल्न सकेको छैन । कांग्रेस के हेरेर बसेको छ ?

कम्युनिस्टहरूका कारणले जननिर्वाचित सार्वभौम सम्पन्न संसद डेढलकको अवस्थामा छ । अनिर्णयको बन्दी भएर संसद बसेको छ । एक महिनादेखि संसद चल्न सकेको छैन । उपसभामुख त हुँदै हुनुहुन्छ । उहाँमार्फत संसद चलाउँदै देशको जल्दाबल्दा कुरा गर्नुपर्ने थियो नि । त्यो पनि गरिएको छैन । उहाँहरूको पार्टीभित्रको आन्तरिक समस्या होला । एकछिनलाई मानौँन सकारात्मक रुपमा ।

उपसभामुखलाई त हुनुहुन्छ नि । उहाँमार्फत संसद चल्न सक्दैन ? सक्छ । उपसभामुख भनेकै सभामुख नहुँदा संसद चलाउने भनेर बनाइएको र सिर्जना गरिएको भूमिका हो । उनको पार्टीको आन्तरिक कारणले आन्तरिक द्वन्द्व, कलह बेमेलको कारणले सिंगो जननिर्वाचित सार्वभौमसत्ता सम्पन्न संसद अबरुद्ध भइरहेको छ । यसले मुलुकलाई कहाँ लैजाँदै छ भन्ने कुरा गम्भीर विषय छ ।

यो विषयमा कांग्रेसले आन्तरिक विवादका कारण राम्रोसँग बहस गर्न पनि कसेको छैन । कांग्रेसमा के देखियो नियत भने, कांग्रेसमा अनावश्यक किचलो सिर्जना गरेर त्यसमा कोही पनि शुद्ध छैनन् । सभापति शुद्ध छ भनेर म दावा गर्न सक्दैन । तर, यो कलह किचलो गरेर बैठक बहिस्कार गरिरहनु पनि त्यसमा पनि जिम्मेवारी छैन भन्ने हुँदै होइन ।

पूर्णरुपमा किचलो गर्ने पौडेल समूह पनि दोषी छन् कुरालाई स्ष्ट पार्दै अब हामीले हिजो कांग्रेसले वीपी कोइरालाको नेतृत्वमा नेपालको राजनीतिमा प्रधान भूमिका खेल्ने अवस्था बनाएको थियो, त्यो परिस्थितिलाई मनन गरौँ । ०३३ सालमा वीपीले राष्ट्रिय मेलमिलापको नीति ल्याउनको अर्थ के हो ? त्यस बेला शुरुमा वीपीले गलत गर्नुभयो भनेर गणेशमानजीहरूले विरोध गर्नुभएको थियो ।

पछि उहाँहरूले स्वीकार गर्नुभयो । वीपीलाई सम्मान गर्दै साथ दिनुभयो । आज हामी कहाँ छौँ ? आज हामी कुन राष्ट्रिय धरातलमा उभिएका छौँ ? यो विषयमा हामीले गम्भीर भएर सोँच्नुपर्छ ।

पार्टीभित्रको विवाद कसरी समाधान गर्ने ? कांग्रेसको राष्ट्रिय जागरण अभियान कता पुग्यो ?

यसको विवाद समाधान भनेको १४औँ महाधिवेशनमा देशभरिका साथीहरूले न्याय गर्नेछन् । दुई वटा अतिवादी शैलीका सोँचको विपरित हामी लाग्नुपर्छ । म पनि त्यसका विरुद्ध छु । अरु साथीहरू पनि हुनुहुन्छ । १४औँ महाधिवशेनमा साथीहरूसँग बहस गर्छौं । १४औँ महाधिवेशनबाट समस्याको समाधान हुन्छ । यसको अर्को उपाय छैन । यिनीहरू कोही पनि जाने कुनै पनि ठाउँ छैन । यी सबै घुर्की, फुर्की, धम्की मात्रै हुन् । यसमा कुनै तुक नै छैन । यो अनुशासनहीन प्रवृत्ति छ ।

राष्ट्रिय जारण अभियानमा व्यापक तयारीका साथ जान त सकिएन । पहिलो र दोस्रो चरणमा उत्साहसहित जागरण अभियान सम्पन्न भयो । तैपनि कार्यकर्तामा उत्साह ल्याएको छ । केही नकेही पार्टीलाई सकारात्मक उर्जा दिएको छ । तेस्रो चरणको जारण अभियान पुसमा गर्ने भन्ने थियो । पुस महिना नै सक्कियो । पार्टीमा केही सकारात्मक गतिविधि गर्नै नदिने प्रवृत्ति छ ।

पार्टीमा यो प्रवृत्ति हाबी भएको छ । यसका पात्र त हामी आफै भयौँ । छायाँमा कुन शक्ति छ भन्ने कुरा खोज्नुपर्छ । मलाई थाहा छ । तर मैले बोल्न मिल्दैन । बाहिरबाट हेर्दा मूलपात्र त हामी नै हौँ पार्टीमा सकारात्मक काम गर्न नदिने । गाउँगाउँमा कांग्रेसको राष्ट्रिय जागरण अभियानमार्फत पार्टीको विचार पुगेको थियो । सरकारका गलत कुराहरू भ्रष्टाचार, महँगीलगायतका कुरामा हामी तथ्यगत प्रमाणसहित जान सकेनौँ । गाउँ तहमा जागरण अभियान लिएर जानुपर्छ भन्ने थियो । आन्तरिक विवादले जान सकिएन । रोकियो ।

१४औँ महाधिवेशनमा तपाई कुन गुटबाट कुन पदमा उम्मेदवार बन्ने योजनामा हुनुहुन्छ ?

मलाई गुटबाट कुन पदमा उठ्ने भन्दा पनि यो कांग्रेस पार्टीलाई कसरी पुनःजीवित गर्ने भन्नेछ । कांग्रेसले बाह्य शक्तिको बढ्दो प्रभावलाई न्यूनीकरण गर्दै समृद्ध नेपाल लोकतान्त्रिक पद्धतिको माध्यमबाट बनाउने भन्ने कुराको मेरो चिन्तन छ । म कांग्रेसको सामान्य कार्यकर्ता हो । नेपालको पहिचान, नेपालको अस्तित्वसँग जोडिएका मूलभुत विषयहरू पनि छन् । त्यो भनेका सनातन हिन्दू संस्कृति हो ।

बुद्धत्व हो हाम्रो । यो कुरालाई कांग्रेसले आत्मसात गर्नुपर्छ । विश्वका कतिपय देशहरू स्लाम देश भएर धर्मका नाममा स्थिापित छन् । परिभाषित छन् । ईसाइ मुलुकहरू छन् । कांग्रेस पार्टी ०३ सालमा स्थापना भएको हो । नेपालको आकार हुनुभन्दा पहिलादेखि रहेको भू–भागहरू हिन्दूत्व थियो । सनातन संस्कृति थियो, सभ्यता थियो । त्यो हाम्रो गौरवमय ईतिहाँस हो ।

त्यो हाम्रो पहिचान हो । त्यसलाई जोगाउने नीति कांग्रेसले बोक्नुपर्छ भन्ने मेरो बिचार छ । त्यो विचारमा आबद्ध पार्टीमा धेरै साथीहरू हुनुहुन्छ । यो विचारलाई जुन नेतृत्वले आत्मसात गर्छ त्योसँग हाम्रो सहकार्य हुन्छ । नभए छुट्टै बिचार बोकेर पार्टीमा बहस हुन्छ । १४औँ महाधिवेशनमा सहभागी हुन्छौँ ।

Published : Thursday, 2020 January 16, 9:45 am

फेसबुकबाट तपाईको प्रतिक्रिया