देउवा–पौडेल–सिटौलावीच विवाद मिलाउने सहमति

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले असन्तुष्ट समूहका नेताद्वय रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौलासँग परामर्श गरेका छन् ।

काठमाडौंको बुढानिलकण्ठस्थित आफ्नै निवासमा सभापति देउवाले पौडेल र सिटौलासँग परामर्श गरेका हुन् । भेटवार्तामा पार्टीभित्रको आन्तरिक विवाद समाधान गर्ने विषयमा कुराकानी भएको स्रोतले जनाएको छ ।

नेपाली कांग्रेसभित्र देखिएको विवादलाई सहमतिका आधारमा समाधान गरेर अगाडि बढ्न तीन शीर्ष नेताहरू सहमत भएको दाबी गरिएको छ ।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल सोमबार भारतको राजधानी नयाँ दिल्ली जाने भएकाले आइतबार साँझ तीन शीर्ष नेतावीच कुराकानी भएको जनाइएको छ । पौडेल ३–४ दिनपछि नेपाल फर्किनेछन् ।

सभापति देउवाले शनिबार पौडेल र सिटौलालाई फोन गरेर पार्टीको विवाद समाधान गर्न आइतबारको छलफलका लागि आग्रह गरेका थिए ।

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक मंसिर २६ देखि बस्न सकेको छैन ।

विभाग गठन, महाधिवेशनको कार्यतालिकालगायतका विषयलाई लिएर संस्थापन विरोधी समूहले बैठक बहिष्कार गरेको थियो ।

पुस ११ बसेको केन्द्रीय कार्यसमितिको बहुमतको बैठकले महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको थियो ।

पौडेल पक्षले उक्त निर्णय खारेजको माग गरेपछि देउवा तयार भएका थिए ।

Published : Sunday, 2020 January 12, 9:13 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया