तरुणहरूले संसद भवन घेराउ गर्ने

भोजपुर । नेपाली कांग्रेसका युवा नेता एवम् नेपाल तरुण दलका केन्द्रीय उपाध्यक्ष उत्तम चापागाइँले अहिलेको अवस्थामा पार्टीलाई कम्युनिस्टहरूबाट ठूलो चुनौती रहेको बताएका छन् ।

साल्पा सिलिछो गाउँपालिकामा नेपाली कांग्रेसको समायोजन कार्यक्रमलाई आइतबार सम्बोधन गर्दै उपाध्यक्ष चापागाइँले मुलुकमा बढ्न थालेको कम्युनिस्ट अधिनायकवादविरुद्ध कांग्रेसले मात्रै प्रतिवाद गर्न सक्ने बताए ।

‘हामी पहिला आफूभित्र मिलेर कम्युनिस्टहरूको अधिनायकवादविरुद्ध लड्नुपर्छ’, उनले भने, ‘कम्युनिस्ट सरकारले महँगी, भ्रष्टाचार, शान्ति सुरक्षा, बेथिती लगायतका कुनै पनि काम गर्न सकेको छैन । आफै भ्रष्टाचारमा चुर्लुम्म डुबेको छ ।’

भोजपुरकै विकासमा समेत जितेर गएका सांसदहरूले सिन्को भाँच्न नसकेको चापागाइँले आरोप लगाए । ‘संसदको रोस्टममा उभिएर हाम्रै सांसदजीले भोजपुरमा कुनै पनि विकासको कार्यक्रम लैजान सकिन भन्नुभयो’, युवा नेता चापागाइँले भने, ‘नेकपाकै सरकार भएका बेला विकास ल्याउन नसक्ने कस्तो जनप्रतिनिधि चुनेर पठाएका रहेछौँ हामीले ? यो सरकार कस्तो रहेछ आफै थाहा पाइहाल्नुभयो ।’

भोजपुर जिल्लाकै व्यक्ति राष्ट्रपति र प्रदेश १ को मुख्यमन्त्री रहँदा पनि विकासले गति लिन नसकेको उनले बताए । चापागाइँले भने, ‘विकास भनेको नेपाली कांग्रेसले गर्छ । कम्युनिस्टहरूले आफैलाई मात्रै गर्ने हुन् । जनताका लागि सोँच्ने फुर्सद कम्युनिस्टहरूलाई छैन ।’

क्रसर व्यवसायीहरूको अवैध धन्दालाई संरक्षण गर्न कम्युनिस्ट सरकार लागेको भन्दै तरुण उपाध्यक्ष चापागाइँले भने, ‘यो कम्युनिस्ट सरकारभन्दा बलिया त क्रसर व्यवसायीहरू रहेछन् । राष्ट्रिय सम्पत्तिको संरक्षण गर्न हिँडेको युवाको दिनदहाडै ज्यान लिइन्छ ।’ उनले दिलीप महतोका दोषीहरूलाई हदैसम्मको कारबाही र परिवारलाई उचित क्षतिपूर्तिको माग पनि गरेका छन् ।

नेपाली तरुण दलका उपाध्यक्ष चापागाइँले नेकपाका केही नेताहरूको स्वार्थमा सूचना टाँसेर संसदलाई चल्न नदिएको भन्दै आक्रोश पोखेका छन् । उनले छिटोभन्दा छिटो संसद चलाउन आग्रह गरेका छन् ।

संसदलाई यसै गरी बन्धक बनाइएमा तरुणहरूले संसद भवन घेराउन गर्नुपर्ने समय आउन सक्ने चेतावनी उनले दिएका छन् । ‘जनताका आवाज उठाउने  थलाे संसदलाई बन्धक बनाउन पाइँदैन’, उनले भने, ‘संसदीय पद्धतिलाई नै असर पर्ने गरेर हर्कत हुन थाल्यो भने देशभरिका तरुणहरू संसद भवन घेराउ गर्न बाध्य हुनेछन् ।’

उनले प्रधानमन्त्री खड्गप्रसाद ओली र पुष्पकमल दाहाललाइ चेतावनी दिँदै भनेका छन्, ‘ओली–दाहालजी व्यक्तिगत स्वार्थका लागि संसदलाई बन्धक नबनाउनुस् देशभरिका तरुणहरूले संसद घेराउ गर्न नपारोस् ।’

यसैवीच, भोजपुर जिल्लाको साल्पा सिलिछाे गाउँपालिकामा नेपाली कांग्रेस समायोजन गरिएको छ । गाउँपालिकाका अध्यक्ष समेत रहेका नेपाली कांग्रेसका नेता महेश राईको नेतृत्वमा समायोजन गरिएको हो ।

नेपाली कांग्रेस भोजपुरका सभापति नन्दमणि राईको प्रमुख आतिथ्यतामा समायोजन गरिएको छ । कार्यक्रममा तरुण दलका केन्द्रीय उपाध्यक्ष चापागाइँका साथै नेपाली कांग्रेसका युवा नेता उमेशजंग रायमाझी, नेपाली कांग्रेस भोजपुरका सचिव कैलाश आले, नेपाली कांग्रेस भोजपुरका कोषाध्यक्ष सफल किराती, नेपाल तरुण दल भोजपुरका अध्यक्ष सरोज बस्नेत, नेपाल सांस्कृतिक संघका अध्यक्ष मनोज कार्की, नेपाल तरुण दल भोजपुरका सचिव ज्योति पौडेललगायतका नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।

Published : Sunday, 2020 January 12, 8:09 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया