डा.तुम्बाहाङफेको कुरा सुनेर ओली–दाहाल जिल परे, बालुवाटारभित्र खैलाबैला

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष समेत रहेका प्रधानमन्त्री खड्गप्रसाद ओली र दोस्रो तहका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाललाई उपसभामुख डा.शिवमाया तुम्बाहाङफेले दिएको आइतबारको जवाफले झट्का दिएको छ ।

ओलीको सरकारी निवास बालुवाटारमा आइतबार ओली, दाहाल र डा.तुम्बाहाङफेवीच भएको वार्तामा डा.तुम्बाहाङफेले उपसभामुख पदबाट राजीनामा नदिने घोषणा गरेकी हुन् ।

स्रोतका अनुसार ओली र दाहालले डा.तुम्बाहाङफेलाई उपसभामुख पदबाट राजीनामा दिएर सभामुख चयनमा सहयोग गर्न आग्रह गरेका थिए ।

ओली र दाहालले गरेको राजीनामाको आग्रहलाई दोस्रो पटक पनि डा.तुम्बाहाङफेले अस्वीकार गरेकी छिन् । तुम्बाहाङफेको जवाफ सुनेर ओली र दाहाल झस्किएका छन् ।

तुम्बाहाङफेले सभामुखमा आफूलाई उम्मेदवार बनाउनुपर्ने अडान दोहोर्‍याउँदै राजीनामा नगर्ने प्रष्ट पारेको स्रोतले जनाएको छ । उनलाई सभामुखको उम्मेदवार चयनका लागि पनि राजीनामा आवश्यक रहेको भनेर नेताहरूले सम्झाएका थिए ।

उपसभामुखले राजीनामा दिन्न भनेर हिँडेको बालुवाटार स्रोतले जनाएको छ ।

सभामुख कसलाई बनाउने भनेर ओली र दाहालले व्यक्तिमा छलफल नगरेको दाबी गरिएको छ । तर, ओलीले सुवासचन्द्र नेम्वाङ र दाहालले अग्नि सापकोटालाई सभामुख बनाउन खोजेका छन् ।

सचिवालयको बैठकको निर्णयसमेत डा.तुम्बाहाङफेले नमानेपछि बिहानै दाहाल प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए ।

उपप्रधानमन्त्री ईश्वर पोखरेल र नेकपा महासचिव विष्णु पौडेल पनि छलफलमा थिए । उपसभामुखलाई बोलाएरै छलफल गर्दा पनि निकास दिन नमानेपछि नेकपा नेतृत्व संकटमा परेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीको साथ पाएको भनिएकी उपसभामुखले पार्टीको आग्रह र निर्णयसमेत नमानेपछि अब के गर्ने भन्नेमा नेतृत्व छलफलमा छ ।

उनलाई अन्तिम पटक सम्झाउने तयारी छ । सम्भवतः प्रधानमन्त्रीले राष्ट्रपतिलाई पनि आग्रह गर्नेछन् । अहिले उनलाई सभामुख नबनाउने निर्णय नभएकाले राजीनामा दिएर निकास दिनुपर्ने नेतृत्वको भनाइ छ ।

डा.तुम्बाहाङफेले उपसभामुख पदबाट राजीनामा नदिएमा नेकपा सामु तीनवटा विकल्पमात्र छन् । तीमध्ये पहिलो विकल्प उनैलाई सभामुख बनाउने निर्णय गर्ने रहेको छ । दोस्रोमा राजीनामा गराउने रहन्छ ।

यो पनि नभएमा समानुपातिक सांसदको सूचीबाट डा.तुम्बाहाङफेको नाम हटाउन पार्टीले निर्वाचन आयोगलाई पत्र लेख्ने रहन्छ ।

नेकपालाई अन्तिम विकल्प महाअभियोग रहेको छ । डा.तुम्बाहाङफेले आफूलाई महाअभियोग लगाएर हटाउनसमेत चुनौती दिइसकेकी छिन् ।

Published : Sunday, 2020 January 12, 2:09 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया