राजीनामा नदिए डा.तुम्बाहाङफेको सांसद बालुवाटारले खाइदिने

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य एवम् युवा नेता विष्णु रिजालले डा.शिवमाया तुम्बाहाङफेले उपसभामुख पदबाट आइतबार राजीनामा दिने बताएका छन् ।

आइतबार बिहान सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेर नेकपाका केन्द्रीय सदस्य रिजालले डा.तुम्बाहाङफेलाई पार्टीले उपसभामुखबाट फिर्ता आउन लिखित निर्देशन दिने बताए ।

डा.तुम्बाहाङफेले उपसभामुख पदबाट राजीनामा नदिए सांसद पदबाटै हटाउने चेतावनी केन्द्रीय सदस्य रिजालले दिएका छन् ।

‘धेरै हल्ला किन गर्नु ? नेकपा (एमाले) बाट समानुपातिक सांसद रहनुभएकी शिवमाया तुम्बाहाङफेलाई नेकपाले आज उपसभामुखबाट फिर्ता आउन लिखित निर्देशन दिन्छ र उहाँले राजीनामा दिनुहुन्छ’, नेकपाका केन्द्रीय सदस्य रिजालले भनेका छन् ।

‘किन्तु, परन्तु, भन्ने कुरै भएन । समानपातिकलाई चाहेमा पार्टीले सांसदबाटै त सजिलै फिर्ता बोलाउन सक्छ, कानूनी रूपमै’, उनले भनेका छन् ।

उपसभामुख पदबाट राजीनामा दिन दिन अस्वीकार गरेकी डा.तुम्बाहाङफेले महाभियोग लगाउन नेकपालाई चेतावनी दिएकी छिन् ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष समेत रहेका प्रधानमन्त्री खड्गप्रसाद ओलीले डा.तुम्बाहाङफेलाई राजीनामा दिवाव दिँदै आएका छन् ।

ओलीले सभामुख सुवासचन्द्र नेम्वाङलाई बनाउन खोजेका छन् । डा.तुम्बाहाङफेले आफू नै सभामुख बन्न पाउनुपर्ने अडान राखेपछि ओली रिसाएको स्रोतले जनाएको छ ।

नेम्वाङले पनि डा.तुम्बाहाङफेलाई हटाएर आफै सभामुख बन्ने दाउमा छन् । नेम्वाङले ओलीलाई दैनिक सरह उचाल्ने गरेका छन् ।

हुन त सभामुखमा पूर्वमाओवादी पृष्ठभूमि भएका नेताहरूले पनि दाबी गरेका छन् । ओली–नेम्वाङका अगाडि पूर्वमाओवादीहरूको ‘दाल’ नगल्ने भएको छ ।

Published : Sunday, 2020 January 12, 9:14 am

फेसबुकबाट तपाईको प्रतिक्रिया