कांग्रेसभित्रको विवाद समाधान गर्न नेविसंघले दियो शीर्ष नेताहरूलाई दवाव

काठमाडौं । नेपाली कांग्रेसका शीर्ष नेताहरूवीच बोलबाराबार भएका बेला नेपाल विद्यार्थी संघ (नेविसंघ)का नेता तथा कार्यकर्ताहरूलाई शीर्ष नेताहरूलाई भेटेर विवाद समाधान गरेर पार्टीलाई एकढिक्का बनाएर अगाडि बढ्न दवाव दिएका छन् ।

नेपाल विद्यार्थी संघ (नेविसंघ)का पूर्वउपाध्यक्ष ऋषिकेशजंग शाह, नेविसंघका नेता दुजाग शेर्पासहितका दुई दर्जन बढी नेता तथा कार्यकर्ताले मंगलबार असन्तुष्ट समूहको नेतृत्व गरिरहेका वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री डा.शशांक कोइरालालाई भेट गरेर पार्टीभित्रको विवाद मिलाउन दवाव दिएका हुन् ।

नेविसंघका पूर्वउपाध्यक्ष शाहले पार्टीभित्रको असहमतिलाई कम गरेर सौहार्दपूर्ण वातावरण कायम गर्न वरिष्ठ नेता पौडेल र महामन्त्री डा.कोइरालालाई आग्रह गरेको जानकारी दिए ।

‘नेपाली कांग्रेसभित्र बढेको असहमतिलाई कम गरी पार्टीभित्र सौहार्दपूर्ण वातावरण कायम गरी पार्टीलाई एकढिक्का गराउने कुरामा लचकता अपनाउन अनुरोध गरेका छौँ’, उनले भने, ‘लामो समय संगठनमा काम गरी भूमिका विहीन रहेका देशभरका युवासाथीहरूलाई भूमिका र जिम्मेवारी दिएर परिचालन गर्न कञ्जुसाइँ नगर्नका लागि नेपाली कांग्रेसका वरिष्ठ नेता आदरणीय रामचन्द्र पौडेल र पार्टी महामन्त्री आदरणीय डा.शशांक कोइरालालाई भेटेर आग्रह गरेका छौँ ।’

नेविसंघका नेता तथा कार्यकर्ताहरूले बुधबार अन्य शीर्ष नेताहरूलाई भेटेर पार्टीभित्रको विवाद समाधान गर्न दवाव दिनेछ । उनीहरूले सभापति शेरबहादुर देउवासँग पनि भेट्नका लागि प्रयास गरिरहेका छन् ।

केन्द्रीय कार्यसमितिको हालैको निर्णयबाट आत्तिएको पौडेलले समूहले सभापति देउवालाई आफ्नो कदमलाई सच्चाउन दवाव दिँदै आएको छ ।

केन्द्रीय कार्यसमितिको बैठक बहिस्कार गर्दै आएको पौडेल समूहले सभापति देउवालाई असहयोग गर्न र असफल बनाउन दिनदिनै जसो गोप्य बैठक र छलफलहरू गर्दै आएको छ ।

Published : Tuesday, 2019 December 31, 3:17 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया