सभापति देउवाविरुद्ध डिनरसहित पौडेल समूहको गोप्य बैठक

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एकलौटी निर्णय गरेको भन्दै असन्तुष्ट वरिष्ठ नेता रामचन्द्र पौडेल नेतृत्वको समूहको काठमाडौंमा गोप्य बैठक बसेको छ ।

नेपाली कांग्रेस नेता एवम् सांसद दीव्यमणि राजभण्डारीको काठमाडौंस्थित निवासमा डिनरसहित पौडेल नेतृत्वको समूहको गोप्य बैठक बसेको हो ।

बैठकमा सभापति देउवाविरुद्ध पार्टीमा अभियान चलाउने विषयमा कुराकानी भएको स्रोतले जनाएको छ ।

स्रोतका अनुसार डिनरसहितको गोप्य बैठकमा पौडेल समूहले सभापति देउवाविरुद्ध हस्ताक्षर अभियान चलाएर महासमितिको बैठक बोलाउने वा अविश्वासको प्रस्ताव ल्याउने विषयमा समेत कुराकानी भएको छ ।

जिल्ला सभापतिहरूको भेला बोलाएर देउवालाई केन्द्रीय कार्यसमितिको निर्णय सच्याउन समेत दवाव दिनेबारेमा परामर्श भएको स्रोतले जनाएको छ ।

गोप्य बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा.शशांक कोइराला, केन्द्रीय सदस्यहरू प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, अजुन नरसिंह केसी, डा.रामशरण महत, डा.शेखर कोइराला, डा.मीनेन्द्र रिजाल, बलबाहादुर केसीलगायतका नेताहरूवीच कुराकानी भएको स्रोतले जनाएको छ ।

गोप्य बैठकका लागि सोमबार बिहान महोत्तरी पुगेका प्रकाशामान सिंह र मोरङमा रहेका डा.शेखर कोइराला पनि काठमाडौंँ आएका थिए ।

महाराजगञ्जमा शनिबार बसेको पौडेल समूहको बैठकमा सहभागी नभएका नेता कृष्णप्रसाद सिटौला सोमबारको बैठकमा भने सहभागी भएका छन् ।

सभापति देउवाले आईतबार आफू निकटका नेताहरूसँग परामर्श गरेका थिए ।

देउवाले सोमबार बिहान उपसभापति विमलेन्द्र निधिलाई आफ्नो दूत बनाएर वरिष्ठ नेतासँग कुरा गर्न बोहराटार पठाएका थिए ।

सोमबार नै सभापति देउवाले महामन्त्री डा.शशांक कोइरालासँग पनि कुराकानी गरेका थिए ।

Published : Monday, 2019 December 30, 8:48 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया