असन्तुष्ट समूहलाई फकाउन देउवाले पठाए ‘दूत’

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ‘दूत’ पठाएर अन्सन्तुष्ट समूहलाई फकाउने प्रयास गरेका छन् ।

देउवाले सोमबार बिहान उपसभापति विमलेन्द्र निधिलाई वरिष्ठ नेता रामचन्द्र पौडेलको निवास बोहराटारमा पठाएर विवाद समाधानका लागि पहल गरेका हुन् । देउवाको सन्देश लिएर गएका निधिले पार्टीभित्रको विवादलाई मिलाउन आग्रह गरेका थिए ।

हुन त यसअघि सभापति देउवा आफै पनि पौडेलको निवासमा पुगेका थिए ।

सभापति देउवाले आफू पहिला पनि सहमति चाहेको र अहिले पनि सहमति र मेलमिलापभन्दा बाहिर नगएको सन्देश निधिमार्फत पठाएका हुन् ।

‘म एक्लै केही पनि होइन । मेलमिलाप र सहकार्यभन्दा बाहिर गएको छैन’, सभापति देउवाले वरिष्ठ नेता नेतृत्वको असन्तुष्ट समूहलाई पठाएको सन्देशका बारेमा स्रोतले भन्यो, ‘सहमतिका लागि म जेपनि त्याग गर्न तयार छु । असन्तुष्ट साथीहरूको कुरा सम्बोधन गर्न तयार छु ।’

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले पौडेल नेतृत्वको असन्तुष्ट समूहका अधिकांश मागहरूलाई पूरा गरिदिएपछि पार्टीभित्र हँगामा भएको छ ।

पौडेल समूहले माग गरेअनुसारको भाग नपाएको भन्दै हँगामा गर्दै आएको आरोप छ । सभापति देउवाले पौडेल समूहलाई ४० प्रतिशत भाग दिन तयार छन् । तैपनि पौडेल समूहले असन्तुष्टि जनाएको छ ।

वरिष्ठ नेता पौडेलले केन्द्रीय कार्यसमितिबाट गरिएको निर्णय फिर्ता गर्न माग गर्दै अडान कायम रहेको सन्देश निधिमार्फत देउवालाई पठाएका छन् ।

पौडेल समूहले पटक–पटक केन्द्रीय कार्यसमितिको बैठक बहिष्कार गरेपछि सभापति देउवाले बिहीबारको बैठकबाट पार्टीको महाधिवेशनको कार्यतालिका, विभागको संख्या बढाउने तथा भ्रातृ संस्थासम्बन्धी निर्णय गराएका थिए । यो निर्णयपछि पौडेल समूह झन् आक्रोशित बन्न पुगेको छ ।

वरिष्ठ नेता पौडेललाई भेट्न उपसभापति निधि सोमबार बिहान देउवाको सन्देश लिउर पौडेल निवास बोहोराटार पुुगेका थिए ।

निधिसंगको भेटमा पौडेलले बहुमतका नाममा सभापतिले पेलेर अघि बढ्न खोजेकोप्रति आपत्ति जनाउँदै निर्णय सच्याउनुपर्ने बताएका थिए ।

सो भेटमा पौडेल पक्षका बार्ता टोलीका सदस्य हृदयराम थानीसमेत थिए । निधि र थानीले आफूहरू सहमति नजिक पुुगेको बताएका छन् ।

भेटमा निधिले आशंका दूर गर्न र समस्याको समाधान गरी अघि बढ्न पौडेलसंग आग्रह गरेको बताए ।

Published : Monday, 2019 December 30, 6:02 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया