२२ करोड घाटा खाएर कम्युनिस्ट सरकारले बेच्यो बोइङ

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष खड्गप्रसाद ओली नेतृत्वको कम्युनिस्ट सरकारले नेपाल वायुसेवा निगमको बोइङ ७५७ गण्डकी जहाजलाई २२ करोड रुपियाँ घाटा खाएर बेच्ने निर्णय गरेको छ ।

शुक्रबार काठमाडौंमा बसेको निगम सञ्चालक समितिको बैठकले बोइङ ७५७ गण्डकी जहाज अमेरिकन कम्पनी सिएसडिएस एयरक्राफ्ट सेल्स एण्ड लिजिङ इंकलाई बेच्ने निर्णय गरेको हो ।

अमेरिकन कम्पनीलाई निगमले नेपाली बोइङ ७५७ गण्डकी जहाजलाई ६५ करोड २२ लाख रुपियाँमा बिक्री गर्ने निर्णय गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले पनि निगमको बोइङ ७५७ गण्डकी जहाजलाई घाटा खाएर बिक्री गर्न अनुमति दिएपछि प्रश्न उठेको छ ।

नेपालको अन्तिम बोइङ विमान ७५७ सिएसडिएसलाई बिक्री गर्ने गरेको स्रोतले जनाएको छ । पहिलाको भन्दा २२ करोड मूल्य घटाएर अमेरिकनलाई दिइएको छ ।

परामर्शदाता कम्पनी फिनटेक एफएएस एभिएसन सर्भिसेज कम्पनीले जहाज र ६ सयभन्दा बढी पार्टसको न्यूनतम मूल्य ८७ करोड रुपियाँमा बिक्री गर्न सकिने प्रतिवेदन दिएको थियो ।

निगमले २२ करोड रुपियाँ कममा अमेरिकन कम्पनीलाई बिक्री गर्ने निर्णय गरेको छ ।

निगम व्यवस्थापनले तोकिएको मूल्यमा खरिदकर्ता नआएपछि फिनटेकले गरेको न्यूनतम मूल्यभन्दा कममा बिक्री गर्नुपरेको जनाएको छ ।

निगमले गत असार ११ मा ४५ दिनको सूचना जारी गर्दै निगमले यसको न्यूनतम लिलाम दर ७६ लाख डलर अर्थात करीव ८७ करोड रुपियाँ हाराहारी राखेर टेण्डर निकालेको थियो ।

निगमले साउन २९ गते दोस्रोपटक टेन्डर आह्वान गरेको थियो । थपिएको म्याद–प्रस्तावमा तीनवटा अमेरिकी कम्पनीले जहाज खरिद गर्न प्रस्ताव बुझाएका थिए ।

प्रस्ताव बुझाउनेमा अमेरिकी कम्पनीहरूमा एभियोन सिस्टम इंक, सिएसडिएस एयरक्राफ्ट सेल्स एन्ड लिजिङ इन्क र एमके एभिएसन्स थिए । एक सय ९० सिट क्षमताको उक्त जहाज एक अर्बमा ३१ वर्षअगाडि खरिद गरिएको थियो ।

Published : Sunday, 2019 December 29, 12:17 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया