कम्युनिस्ट अधिनायकवादविरुद्ध एकजुट बनौँः देउवा

जनकपुरधाम । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लोकतन्त्रमाथि संकट आएको बताएका छन् ।

धनुषाको सबैलामा शनिबार नेपाली कांग्रेसका दिवंगत नेता बलराम नायकको श्रद्धाञ्जलि सभालाई सम्बोधन गर्दै देउवाले लोकतन्त्रमाथि संकट बढेकाले जनताका अधिकार जोगाउन पार्टी एकजुट हुनुपर्ने बताए ।

देउवाले लोकतन्त्रमाथि संकट देखिएकोले पार्टी एकजुट हुनुको विकल्प नरहेको धारणा राखेका हुन् ।

प्रजातन्त्रमाथि चौतर्फी आक्रमण शुरु गरेको केपी ओली नेतृत्वको कम्युनिष्ट सरकारले संघीयता मास्न खोजेको देउवाको भनाई थियो । ‘यस्तो अवस्थामा लोकतन्त्र बचाउन पनि कांग्रेस एकजुट हुनु जरुरी छ’, उनले भनेका छन् ।

संवैधानिक आयोगका पदाधिकारी नियुक्तिमा कम्युनिस्ट सरकारले एकलौटी गरेको देउवाले आरोप लगाएका छन् ।

उनले वर्तमान सरकारले संवैधानिक आयोगहरुलाई शाही आयोग जस्तो बनाउन थालेको आरोप लगाए ।

नेपाली कांग्रेस उपसभापति विमलेन्द्र निधिले कम्युनिस्ट नेतृत्वको कम्युनिस्ट सरकार सर्वसत्तावाद र अधिनायकवादतर्फ उन्मुख रहेको आरोप लगाए ।

संघीयताको मर्म बिपरित सरकारले सबै अधिकार सिंहदरबारमा केन्द्रीत गरेको निधिको आरोप थियो ।

कम्युनिष्ट सरकारले आमनागरिकको लोकतान्त्रिक अधिकार खोस्न थालेको उनको भनाइ थियो ।

सभालाई नेपाली कांग्रेसका केन्द्रीय सदस्य आनन्दप्रसाद ढुंगाना, फरमुल्लाह मन्सुर, महेन्द्र यादव, रामकृष्ण यादवलगयातका नेताहरूले सम्बोधन गरेका थिए ।

Published : Sunday, 2019 December 29, 11:20 am

फेसबुकबाट तपाईको प्रतिक्रिया