पाैडेल समूहले दियाे धारणा, सिटाैला अनुपस्थित, देउवालाई तनाव

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले समूहले सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसमितिबाट गराएकाे निर्णय गतल मनसायमा आधारित रहेको भन्दै निर्णयहरू फिर्ता लिन चेतावनी दिएको छ ।

काठमाडौंमा शनिबार वरिष्ठ नेता पौडेल समूहको बैठकपछि आयोजित पत्रकार सम्मेलनमा असन्तुष्ट समूहले नेपाली कांग्रेसको निर्णय निष्पक्षता, पारदर्शीता र न्यायको सिद्धान्तका आधारमा हुनुपर्ने जनाएको छ ।

वरिष्ठ नेता पौडेलले सबैभन्दा पहिला शुक्रबारको केन्द्रीय कार्यसमितिबाट भएका निर्णयहरू फिर्ता लिनुपर्ने अन्यथा तल्लो तहका नेताहरूसम्मै आफूहरू जाने बताए । निर्णय सच्चिएन भने तपाईहरूले के गर्नुहुन्छ भन्ने जिज्ञासामा नेता पौडेलले भने, ‘साथीहरूसँग सम्पर्कमा छौँ । तल्लो तहका कार्यकर्ताहरूको सम्पर्कमा छौँ । सबै भ्रातृ संघका नेता तथा कार्यकर्ताहरूसँग सल्लाह गर्नेछौँ । जिल्ला सभापतिहरूसँग कुरा गर्छौं । उहाँहरूले जे सल्लाह दिनुहुन्छ त्यही हुन्छ ।’

जिल्ला सभापतिहरूदेखि कार्यकर्ताहरूसम्म आफूहरू सम्पर्कमा रहेको बताएका पौडेलले सभापति शेरबहादुर देउवासमक्ष गरएर निर्णय सच्याउनका लागि आग्रह नगरिने बताए । ‘तपाई पत्रकारहरूमार्फत निर्णय सच्याउन सभापतिजीसँग आग्रह गरेका छौँ’, उनले भने, ‘सभापतिजीलाई भेट्न गएर निर्णय सच्याउन भन्दैनौँ ।’

वरिष्ठ नेता पौडेलले पार्टीलाई विधान र सहमतिबाट चलाउनुपर्ने बताए । उनले सहमतिका लागि वार्ता हुँदै गर्दा एकलौटी रुपमा आफ्ना मान्छेहरूलाई मात्रै राखेर निर्णय गरिएको बताए ।

‘वार्ता हुँदै थियो । हामीले ९ बुँदा एजेण्डा राखेका थियौँ । वार्ता सकारात्मक भइरहेको थियो । एकलाैटी निर्णय गरियाे’, वरिष्ठ नेता पौडेलले भने, ‘०७७ सालको पल्लो छेउमा लगेर महाधिवेशनको मिति राखिएको छ । त्यो समयमा हुन सकेन भने पार्टीको हैसियत के हुन्छ ? त्यो समयमा महाधिवेशन हुन सकेन भने पार्टी संकटमा पर्छ ।’

१४औँ महाधिवेशनको मिति तोक्ने बेला सभापति देउवाले आफूहरूसँग परामर्श नै नगरिकन निर्णय गरेको पौडेलको भनाइ छ । ‘मुलुकमा आमनिर्वाचन हुँदा राष्ट्रमा विपक्षी दलसँग कुरा हुन्छ । यहाँ त आफ्नै पार्टीभित्र केही मान्छे बसेर मिति घोषणा गरियो । सल्लाहनै गरिएन’, पौडेलले भनेका छन् ।

‘विधानमा नभएको ४७ वटा विभाग गठन गरियो । १२ सय महासमिति सदस्यको बैठकले गरेको निर्णयलाई उल्लंघन गरिएको छ’, उनले भने, ‘पार्टीको विधानलाई उल्लंघन गरिएको छ । क्रियाशील सदस्यता वितरणमा पनि मनपरी गरिएको छ । क्रियाशील सदस्यता वितरण गर्न त्यो बुँदालाई निलम्बन गरिएको छ । यो विषयमा पनि सल्लाह गरिएन । पार्टीलाई भताभुङग पारिएको छ । त्यो संस्कार देखिएको छ ।’

सभापति शेरबहादुर देउवाको नेतृत्वप्रति प्रश्न उठाएका नेता पौडेलले नेतृत्वको हेलचेक्राइले भ्रातृ संगठनको वर्षौंदेखि अधिवेशन हुन नसकेको बताए । दलित संघ, नेविसंघलगायतका भ्रातृ संगठनहरू बेथितिमा गएको उनले बताए ।

नेता पौडेलले भने, ‘कम्युनिस्टहरूको हातमा सत्ता छ । धेरै भोट ल्यायौँ भनेर गलत काम भइरहेका बेला पार्टीभित्र शेरबहादुरकै नेतृत्वमा भएको छ । हाम्रो लडाइँ प्रजातन्त्र बचाउनको लागि हो । कांग्रेसलाई भरोसाको केन्द्र बनाउनका लागि नै लागेका छौँ ।’

नेता प्रकाशमान सिंहले ९ बुँदे एजेण्डा राखेर वार्ता भइरहेका बेला एकलौटी रुपमा निर्णय गरेको भन्दै सभापति देउवालाई निर्णय सच्याउन आग्रह गरे । उनले पार्टीलाई एकलौटी रुपमा चलाउन खोजिएको भन्दै आक्रोश पोखे ।

महामन्त्री डा.शशांक कोइरालाले पार्टी सभापतिको निर्णयलाई आफूहरूले अस्वीकार गर्ने बताए । उनले भने, ‘पार्टी एक ढिक्का हुनुपर्छ । मिलेर जानुपर्छ । शुक्रबार भएको निर्णय सच्याउनुपर्छ ।’

पौडेल समूहको बैठक र पत्रकार सम्मेलनमा नेता कृष्णप्रसाद सिटौला उपस्थित थिएनन् । पूर्वनिर्धारित कार्यक्रम परेकाले सिटाैला उपस्थित नभएकाे जनाइएकाे छ । तर, सिटाैला समूहका नेताहरू बैठकमा सहभागी थिए ।

Published : Saturday, 2019 December 28, 5:13 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया