कम्युनिस्ट सरकारले दियो आशाको कार्यक्रमलाई सरकारी पैसा, मिलन मोक्तान मालामाल

काठमाडौं । साधन कला केन्द्र काठमाडौंले पर्यटन बोर्डसँग मोटो रकम लिएर भारतीय गायिका आशा भोसलेको सांगीतिक कार्यक्रमका लागि अत्याधिक महँगो रकममा टिकट बिक्री गरेको छ ।

पर्यटन वर्ष २०२० लाई सहयोग गर्ने नाममा केन्द्रले बोर्डसँग मोटो रकम लिएको छ । साधना कला केन्द्र पदमबहादुर मोक्तान (मिलन)ले पर्यटन बोर्डले दिएको रकमका बारेमा केही भन्न नमिल्ने बताए ।

‘पर्यटन बोर्डले आशा भोसलेको कार्यक्रमका लागि आर्थिक सहयोग गरेको छ । बोर्डले दिएको रकमका बारेमा केही भन्न मिल्दैन’, उनले भने, ‘करीव ६ सय जनाको कार्यक्रममा उपस्थिति हुनेछ ।’

साधना कला केन्द्रले शनिबार काठमाडौंको होटेल सोल्टीमा भारतीय गायिका आशा भोसले, संगीतकार रञ्जित गजमेर तथा ३ दर्जन नेपाली कलाकारहरूले प्रस्तुति दिनेछन् ।

कला केन्द्रले एउटा टिकट १० हजार रुपियाँमा बिक्री गरेको छ । मोक्तानका अनुसार टिकट मात्रै ६ सय बिक्री भएको हो भने ६० लाख रकम उठेको छ । मोक्तानले पत्रकारहरूका लागि ५० वटा टिकट पासका रुपमा बाँडेको बताए ।

यसअघि पनि साधना कला केन्द्रले पर्यटन भ्रमण वर्षलाई सहयोग गर्नेभन्दै अभिनेता राजेश हमाल अभिनित फिल्मका गीतहरूको कार्यक्रम देखाइ सकेका छन् । त्यसका लागि पनि मोक्तानले पर्यटन बोर्डबाट मोटो रकम असुलेका छन् ।

मोक्तानले साधना कला केन्द्रबाट गर्ने खर्च र आम्दानीका विषयमा सार्वजनिक नगरेपनि हुन्छ । तर, राज्यको ढुकुटीबाट लिएको रकमका विषयमा मोक्तानले जानकारी दिनुपर्छ । उनले पर्यटन बोर्डबाट के कति सहयोग लिएका छन् लुकाएर राखेका छन् ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष खड्गप्रसाद ओली नेतृत्वको कम्युनिस्ट सरकारले मोक्तानलाई पर्यटन बोर्डमार्फत रकम दिएको विषयमा विभिन्न टिकाटिप्पणी भएका छन् ।

संगीतकर्मीहरूले पर्यटन बोर्डले साधना कला केन्द्र मात्र नभइ अन्य विभिन्न संघ संस्थालाई दिएको सहयोग पारदर्शी हुनुपर्ने माग गरेका छन् ।

Published : Saturday, 2019 December 28, 12:56 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया