कांग्रेस निर्णयबारे पौडेलले दिए देउवालाई झट्का लाग्ने प्रतिक्रिया

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले १४औँ महाधिवेशनको मिति तोक्ने र विभागहरूको संख्या बढाउने निर्णय गरेपछि कांग्रेसभित्रको विवाद चरम उत्कर्षमा पुगेको छ ।

सभापति शेरबहादुर देउवाले एकलौटी रुपमा सहमति कायम नगरेर निर्णय गरेको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले असन्तुष्टि जनाएको हो ।

शुक्रबार नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय कार्यसमितिको बैठक बसिरहेका बेला पौडेल समूहले चाक्सीबारीमा नेता प्रकाशमान सिंहको निवासमा समानान्तर बैठक राखेको थियो ।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले केन्द्रीय कार्यसमितिले गरेका सबै निर्णय खारेजीको माग गरेका छन् । उनले ती निर्णयहरूको कुनै अर्थ नरहेको प्रतिक्रिया दिएका छन् ।

नेता पौडेलले शुक्रबारको निर्णयले पार्टीभित्र विभाजन र असहमतिहरूको दुरी बढाएको बताएका छन् ।

मंसिर महिनाभित्रै महाधिवेशन गर्ने सुझाब दिएको बताएका पौडेलले सभापति देउवाले बहुमतको आडमा फागुनमा महाधिवेशन गर्ने निर्णय गरेको बताए ।

नेता पौडेलले सभापति देउवाको निर्णयलाई दुर्भाग्य भएको टिप्पणी गरेका छन् । नेविसंघ र तरुण दलको विवाद समाधान नगरी गरिएको निर्णयको पनि उनले विरोध गरे ।

यसैबीच, पौडेल समूहले देउवाद्वारा केन्द्रीय कार्यसमितिबाट गरिएका निर्णयहरूको विरोध गर्न शनिबार पत्रकार सम्मेलनको तयारी गरेको छ । पत्रकार सम्मेलन गर्नु अगाडि पौडेल समूहको बैठक बस्नेछ ।

Published : Saturday, 2019 December 28, 8:53 am

फेसबुकबाट तपाईको प्रतिक्रिया