तरुण दलले नयाँ जीवन पायो, कम्युनिस्टविरुद्ध अभियान चलाउने

काठमाडौं । नेपाली कांग्रेसले नेपाल तरुण दलको केन्द्रीय कार्यसमितिको पदावधि छ महिना थप गर्ने निर्णय गरेको छ ।

ललितपुरको सानेपामा शुक्रबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले तरुण दलको पदावधि ६ महिना थप गर्ने निर्णय गरिएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

‘नेपाल तरुण दल केन्द्रीय कार्यसमितिको ०७६–७–२८ गते बसेको बैठकले नेपाल तरुण दलको विधानको धारा ३९ (२) बमोजिम दलको पदावधि ६ महिना थप गर्ने निर्णय गरेको थियो’, नेपाली कांग्रेसको विज्ञप्तिमा भनिएको छ ।

‘उक्त निर्णयलाई अनुमोदन गरिदिनका लागि पार्टी समक्ष अनुरोध गरेकोमा नेपाल तरुण दलको केन्द्रीय कार्यसमितिको उक्त निर्णयलाई अनुमोदन गर्ने निर्णय भएको छ’, शर्माले भनेका छन् ।

पार्टी सभापति शेरबहादुर देउवाले आवश्यक परामर्श गरी नेपाल तरुण दल केन्द्रीय कार्यसमितिलाई पूर्णता दिनेछन् ।

६ महिनाभित्र अधिवेशन सम्पन्न गर्न नेपाल तरुण दललाई निर्देशन गर्ने निर्णय पनि कांग्रेसको केन्द्रीय कार्यसमितिले गरेको छ ।

नेपाल तरुण दलमा अध्यक्ष जितजंग बस्नेत, उपाध्यक्ष उत्तम चापागाइँ र कोषाध्यक्ष विद्वान गुरुङले कार्यसम्पादन गर्दै आएका छन् ।

तरुण दलको म्याद थप भएसँग कम्युनिस्ट अधिनायकवादविरुद्ध देशभरिका तरुणहरूलाई एक बनाएर लोकतन्त्रको रक्षाका लागि संघर्ष गरिनेछ ।

यसअघि अध्यक्ष बस्नेतले तरुण दलको संगठन विपरितको कार्य गरेको भन्दै महासचिव भुपेन्द्रजंग शाहीलाई कारबाही गरेर निस्काषन गरिसकेका छन् ।

शाहीले नेपाली कांग्रेसले दोस्रो चरणको राष्ट्रिय जागरण अभियान शुरु गरेकै दिन कांग्रेसको जागरण अभियान नौटंकी भएको र औचित्य नरहेको भन्दै वक्तव्य जारी गरेका थिए ।

शाहीले विभिन्न नेता र व्यापारिक घरानाबाट आर्थिक सहयोग लिएर हिनामिना गरेको आरोप पनि छ ।

महासचिवबाट कारबाही गरेर हटाइएका शाही वरिष्ठ नेता रामचन्द्र पौडेल निकटका मानिन्छन् । वरिष्ठ नेता पौडेलकै स्वीकृतिमा शाहीलाई तरुण दलबाट निस्काशित गरिएको दाबी गरिँदै आइएको छ ।

Published : Friday, 2019 December 27, 10:13 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया