कांग्रेसको बाेल्ड निर्णय, एक वर्ष म्याद थप, विभागहरू थपिए
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसमितिको कार्यकाल एक वर्ष थपेका छन् ।
ललितपुरको सानेपामा शुक्रबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले चार वर्षे कार्यकाललाई एक वर्ष थप गरेर पाँच वर्ष पुर्याएका हुन् ।
विधानमा भएको व्यवस्थाअनुसार सभापति देउवाले आफू नेतृत्वको केन्द्रीय समितिको कार्यकाल ०७७ फागुन १९ सम्म थपेको जारी विज्ञप्तिमा उल्लेख छ ।
महाधिवेशन गर्न र संक्रमणकालको अवस्थालाई हेरेर विधानमा भएको व्यवस्थाअनुसार कार्यकाल एक वर्ष थपिएको हो ।
बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा.शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादवलगायत पौडेल पक्षका केन्द्रीय सदस्य उपस्थित थिएनन् । पौडेल समूह भनेर चिनिएको असन्तुष्ट समूहले शुक्रबारको केन्द्रीय कार्यसमिति बैठक बहिस्कार गरेको थियो ।
वरिष्ठ नेता पौडेल पक्षले महाधिवेशनको कार्यतालिका माग गर्दै मंसिर २६ गतेदेखि निरन्तर छ वटा केन्द्रीय समिति बैठक बहिष्कार गरेका थिए ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा देउवा पक्षका केन्द्रीय सदस्य मात्र सहभागी रहेको केन्द्रीय समिति बैठक चलिरहँदा पौडेल समूहका केन्द्रीय सदस्यहरू प्रकाशमान सिंहको चाक्सीबारीस्थित निवासमा छलफल गरिराखेका थिए ।
पौडेल पक्षले अर्को वर्ष मंसिर पहिलो साता महाधिवेशन गर्ने गरी सभापतिले कार्यतालिका ल्याउनुपर्ने अडान राखेका थिए ।
दुबै बैठकमा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षका केन्द्रीय सदस्य उपस्थित थिएनन् । सिटौलाले बहुमत र बहिष्कारको खेलले पार्टीलाई क्षति पु¥याउने बताउँदै आएका छन् ।
पार्टीको १४ औं महाधिवेशन ०७७ फागुन ७ देखि १० गतेसम्म काठमाडौंंमा गर्ने निर्णय पनि बैठकले गरेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिएका छन् ।
केन्द्रीय समितिले सभापति देउवाले गरेको प्रस्तावअनुसार नै भातृ संस्था नेपाल तरूण दलको म्याद छ महिना थप्ने निर्णय पनि गरेको छ ।
जितजंग बस्नेत नेतृत्वको तरूण दलको म्याद गत कात्तिकमा सकिएको थियो । ९५ सदस्यीय हुनुपर्ने तरूण दल केन्द्रीय समितिमा तीन जनामा मात्रै सीमित छ ।
शुक्रबारकै केन्द्रीय समितिले २८ विभागलाई बढाएर ४७ पुर्याउने निर्णय गरे पनि विभागलाई पूर्णता भने दिएको छैन ।
बैठकले पार्टीका सबै निकायमा पुस महिनाभित्रै अन्तरिम संरचना गठन गरिसक्न निर्देशन दिएको छ । केन्द्रदेखि वडासम्म नेपाली कांग्रेसमा नयाँ विधानअनुसार आठ निकाय छ ।
बैठकले नेविसंघबारे भने कुनै निर्णय गरेको छैन । सभापति देउवाले मंसिर २६ गते नेविसंघलाई नेतृत्व दिने प्रस्ताव पनि केन्द्रीय समितिमा छलफलका लागि पेश गरेका थिए ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया