काण्डवाला नेपाल ट्रष्टमा शक्तिशाली महिला

काठमाडौं । उपप्रधान एवम् रक्षामन्त्री ईश्वर पोखरेलले नेपाल ट्रष्टको सञ्चालक समितिको सदस्यमा नियुक्त गरेका अनमी याङजोम शेर्पाका विषयमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र विरोध भएको छ ।

केही महिना अगाडि ट्रष्टका अध्यक्ष समेत रहेका मन्त्री पोखरेलले शेर्पालाई सञ्चालक समितिमा नियुक्त गरेका थिए ।

‘नेपाल ट्रष्टमा बस्नका लागि याङजोम शेर्पाको कुनै विज्ञता नै छैन’, स्रोतले भन्यो, ‘पार्टीमा योगदान गरेका र विज्ञता हासिल गरेका धेरै व्यक्ति छन् । ईश्वर पोखरेलज्यूले याङजोम शेर्पामा के देखेर सदस्य बनाउनुभयो जवाफ चाहिन्छ ।’

ताप्लेजुङ जिल्लाको घुन्सा घर भएकी शेर्पाले घुन्सामा स्वास्थ्य चौकी बनाउने भनेर फाउण्डेशनका नाममा लाखौँ रकम उठाएकी थिइन् । उनको कति पैसा संकलन गरेकी छिन् केही बताएकी छैनिन् ।

एमाले पृष्ठभूमि भएकी शेर्पाले ४–५ वर्ष अगाडि मात्रै संगठित सदस्यता पाएकी थिइन् । उनले आफूभन्दा निकै सिनियर नेताहरूलाई उछिनेर ट्रष्टको सञ्चालक समितिको सदस्य बन्न भ्याएकी छिन् ।

शेर्पालाई उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पोखरेलले राष्ट्रपतिबाट वितरण हुने पदक समेत दिलाएका थिए । शेर्पाले राष्ट्रका लागि के काम गरेकी छिन् र उपप्रधानमन्त्री पोखरेलले हरेक ठाउँमा उनलाई अवसर दिने गरेका छन् ? भनेर नेकपाभित्र प्रश्न उठ्न थालेको छ । पदक सिफारिस समितिको संयोजक पोखरेल नै थिए । मन्त्री पोखरेलले अवसर मिल्नेवित्तिकै शेर्पालाई ठाउँ दिने गरेको आरोप छ ।

शेर्पासँग नेपाल ट्रष्टको कार्यालयका कर्मचारी र सञ्चालक समितिका अन्य पदाधिकारी र सदस्यहरू पनि डराउने गर्छन् । शेर्पाको शक्ति कहाँबाट आयो भनेर सबै आश्चर्य चकित बनेका छन् ।

ताप्लेजुङको घुन्सा घर भएपनि शेर्पाले तेह्रथुम जिल्लाको आठराई संक्रान्तिमा बसेर अध्ययन गरेकी हुन् ।

नेपाल ट्रष्टको सम्पत्ति कौडीको भाउमा बलियो कम्युनिस्ट सरकारले दुरुपयोग गरेर यती ग्रुपलाई दिएको भन्दै विरोध भइरहेका बेला ट्रष्टभित्र शक्तिशाली महिलाका रुपमा शेर्पा उदाएकी छिन् ।

Published : Friday, 2019 December 27, 12:28 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया