यादवका कारण बालुवाटारमा खैलाबैला, भीभीआईपीको घरमा सन्नाटा

काठमाडौं । उपप्रधानमन्त्री एवं कानून न्याय तथा संसदीय मामिलामन्त्री उपेन्द्र यादवले पदबाट राजीनामा दिएका छन् ।

यादवले प्रधानमन्त्री खड्गप्रसाद ओलीलाई राजीनामा बुझाएका हुन् । यादवले राजीनामा दिएलगत्तै पार्टीका अर्का मन्त्री मोहम्मद इश्तियाक राईले पनि राजीनामा दिएका छन् ।

समाजवादी पार्टीका अध्यक्षसमेत रहेका यादवले तत्कालीन संघीय समाजवादीसँग गरेको सहमतिबाट सत्तारुढ नेकपा पछि हटेको भन्दै राजीनामा दिएका हुन्।

उनको दलले आजै यादव र सहरी विकास मन्त्री मोहम्मद इश्तियाक राइले राजीनामा दिने निर्णय गरेको थियो ।

यादवले प्रधानमन्त्रीलाई संबोधन गरेको राजीनामा पत्र प्रधानमन्त्री कार्यालयमा पठाइएको समाजवादी पार्टीका महासचिव गंगा श्रेष्ठले जानकारी दिए ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले यादवको राजीनामा आएको बताए । ‘राजीनामा आएको छ, प्रक्रियामा गएको छ’, थापाले भनेका छन् ।

संविधान संशोधनका लागि आफूले पुस ७ को मन्त्रिपरिषद बैठकमा लगेको प्रस्ताव प्रधानमन्त्रीले अस्वीकार गरेकाले आफ्नो पार्टीसँग नेकपाले गरेको दुई बुँदे सहमति तोडिएको भन्दै उनले राजीनामा दिएको उनको राजीनामा पत्रमा उल्लेख गरिएको छ। यादवले सोमबारको मन्त्रिपरिषद बैठकमा संविधान संशोधनका लागि विज्ञ समिति बनाउने प्रस्ताव गरेका थिए ।

प्रधानमन्त्री ओलीले यसलाई ठाडै अस्वीकार गरेका थिए। प्रधानमन्त्रीले तत्काल संविधान संशोधन नगर्ने बताएपछि मंगलबार बसेको पार्टी पदाधिकारी बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको थियो ।

यादवले पदबाट राजीनामा दिएपछि दुईतिहाइको बहुमत रहेको ओली नेतृत्वको कम्युनिस्ट सरकार साधारण बहुमतमा पुगेको छ ।

यादवले मन्त्री पदबाट राजीनामा दिएपछि बालुवाटारमा खैलाबैला मच्चिएको छ । यादवको दल समाजवादी पार्टीभित्र पनि सन्नाटा छाएको छ ।

Published : Tuesday, 2019 December 24, 10:42 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया