भ्रष्ट कम्युनिस्टहरूविरुद्ध कांग्रेसले फायर खोल्यो, बालुवाटारमा हँगामा

काठमाडौं । नेपाली कांग्रेसका राष्ट्रियसभाका सांसद राधेश्याम अधिकारीले नेपाल ट्रष्टको सार्वजनिक जग्गा निजी कम्पनीलाई भाडामा दिएको सम्बन्धमा दुईतिहाइको बलियो कम्युनिस्ट सरकारले जवाफ दिनुपर्ने माग गरेका छन् ।

राष्ट्रियसभाको सोमबारको बैठकमा विशेष समयमा बोल्दै राष्ट्रियसभा सदस्य अधिकारीले ट्रष्टको जग्गा भाडामा निजी कम्पनीलाई दिनु र सोही कम्पनीका मालिकलाई ट्रष्टी बनाउनुले प्रधानमन्त्री र उपप्रधानमन्त्रीको समेत संलग्नता रहेको आशंका उब्जाएको बताए ।

उनले नेपाल ट्रष्ट सम्बन्धी ऐनको संशोधन विधेयक बदनियतका साथ आएको बताए । विधेयकमा समर्थन गर्नेहरू सबैले नीतिगत भ्रष्टाचार गरेको ठहर्छ भनेर रोष्टमबाटै आफूले भनेको स्मरण गर्दै उनले नेपाल ट्रष्टको सम्पत्ति व्यक्तिगत लाभका लागि एउटा व्यापारिक समूहलाई हस्तान्तरण गर्नुको औचित्य पुष्टि गर्न सरकारलाई चेतावनी दिएका छन् ।

ट्रष्ट सम्बन्धी कानूनमा ट्रष्टको सम्पत्तिमा हकाधिकार र भोगाधिकार पनि बन्देज गरिएकोमा त्यसको अपचलन गर्ने मनसायका साथ विगतमा कानून संसोधन गरिएको उनको दावी छ ।

‘साविक कानून बमोजिम नेपाल ट्रष्टको सम्पत्ति व्यवसायिक प्रयोजनका लागि दिने अवस्था थिएन । नेपाल ट्रष्टमाथि हक जमाउन खोज्ने गिद्धे दृष्टिलाई यो असैह्य थियो’, अधिकारीले भने, ‘उनीहरू यति शक्तिशालि थिए ।’

‘तिनले सत्ताको बागडोर लिएको पार्टीलाई नै कानून संशोधन गर्न बाध्य पारे’, उनले भने, ‘जब व्यवसाय र सरकारबीचको लक्ष्मण रेखा मेटिन्छ, भ्रष्टाचार त्यही मौलाउँछ ।’

उनले भ्रष्टाचारका सम्बन्धमा प्रधानमन्त्रीको भनाई र गराईमा भिन्नता देखिएको भन्दै ट्रष्टको जग्गा विवादमा प्रधानमन्त्री र उपप्रधानमन्त्री दुवैको संलग्नताको आशंका उत्पन्न भएको टिप्पणी गरेका छन् ।

‘म भ्रष्टाचार गर्दिन, भ्रष्टाचार गर्न पनि दिन्न भन्ने प्रधानमन्त्री ज्यूको भनाई जग हसाई भएको छ’, उनले भने, ‘नेपाल ट्रष्टको सम्पत्ति हिनामिना र भ्रष्टाचारमा यो सरकारका प्रधानमन्त्री र उपप्रधानमन्त्री दुवैको प्रत्यक्ष संलग्नता छ भन्ने धारणा विकसित हुँदैछ ।’

व्यवसायिक प्रयोजनका लागि नेपाल ट्रष्टको जग्गा दिन सकिने कानून बन्नुअघि नै दरबारमार्गको १ रोपनी १४ आना जग्गा नेपाल ट्रष्टका ट्रष्टीहरूले व्यापारीक प्रतिष्ठानलाई दिएको उनको दावी छ ।

‘नारायणहिटी राजदरबारको विदेशी पाहुनालाई सत्कार कक्षमा रेष्टुराँ खोल्न यसै व्यवसायिक प्रतिष्ठानलाई दिन कसरत चल्दै छ’, नेपाली कांग्रेसका सांसद अधिकारीले भने, ‘किन रेष्टुराँ मात्रै खोल्ने ? सिंगै नारायणहिटी दरबारलाई आलिसान होटलमा परिणत गर्न लिजमा दिए भइगो नि ।’

Published : Monday, 2019 December 23, 7:57 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया