कांग्रेसको विवाद यसरी मिल्ने, बन्यो नयाँ प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसमा देखिएको विवाद सहमति नजिक पुगेको छ । दोस्रो तहका नेताहरूबीच भएको गृहकार्य र सम्वादपछि भागबण्डासहित सहमति गरिएको हो ।

सहमतिअनुसार नेपाली कांग्रेसको १४औं महाधिवेशन ०७७ फागुनभित्र गर्ने तयारी भएको छ ।

सभापति देउवाको तर्फबाट वार्ता समितिका संयोजक उपसभापति विमलेन्द्र निधि र वरिष्ठ नेता रामचन्द्र पौडेलका वार्ता समितिका संयोजक केन्द्रीय सदस्य प्रकाशमान सिंहबीच आइतबार ठमेलमा भएको वार्तामा ०७७ सालको फागुनभित्र महाधिवेशन गर्ने गरी प्रस्ताव तयार पारिएको हो ।

बैठकमा दुवै पक्ष ०७७ फागुनभित्रै महाधिवेशन गर्ने सहमतिमा पुगेको केन्द्रीय सदस्य दिलेन्द्रप्रसाद बडुले जानकारी दिएका छन् ।

सभापति देउवा अहिले नै महाधिवेशनको कार्यतालिका जारी गर्ने पक्षमा नदेखिएपछि पौडेलले लगातार पाँच दिन केन्द्रीय समिति बैठक बहिष्कार गरेर दवाव दिएका छन् ।

‘उहाँहरू (देउवा पक्ष) पनि महाधिवेशन गर्न सहमत हुनुहुन्छ । उहाँहरूले फागुनमा गरौं भन्नुभएको छ’, बडुले भने, ‘हामी (पौडेल पक्ष) मंसिरमै हुनुपर्छ भन्नेमा छौं ।’

सभापति देउवा पक्षले पार्टीको संघीय विधानअनुसार सबै निकायमा समायोजन नसकिएको दाबी गर्दै अहिले महाधिवेशनको कार्यतालिका बनाउन नसकिने बताउने गरेको थियो ।

नेपाली कांग्रेसले प्रदेशबाहेक पार्टीका अरू निकायमा सहमतिमै अन्तरिम संरचना तयार गर्ने सहमति गरेको थियो ।

सभापति देउवाले पौडेल पक्षको बहिष्कारबीच ९ एजेन्डा छलफलका लागि केन्द्रीय समितिमा पेश गरेका छन् ।

२८ विभागलाई बृद्धि गरी ४१ पुर्‍याउने र ती विभाग पूर्णता दिने मुख्य एजेन्डा छ ।

पौडेल पक्षले विभाग बढाउनु विधान विपरीत हुने बताएको छ । सभापति देउवाले निर्वाचित भएको दुई महिनाभित्र बनाइसक्नुपर्ने विभाग चार वर्षसम्म गठन नगरेको र अहिले महाधिवेशनलाई प्रभाव पार्ने गरी गठन गर्न खोजेको पनि पौडेल समूहको आरोप छ ।

नेपाली कांग्रेसमा नेविसंघको विवाद अलिक धेरै छ । नेविसंघमा ११ औं महाधिवेशन गराउने नेतृत्वसहित कार्यसमिति बनाउने कि तीन वर्षे कार्यकाल नै भएको समिति बनाउने भन्नेमा विवाद कायमै छ ।

नेविसंघलाई नेतृत्व दिने आधारहरू खोजी भइराखेका छन् । ‘गत चुनावमा भएको मतको आधार मान्न सकिन्छ भनेका छौं’, बडुले भनेका छन् ।

तरूण दललाई पूर्णता दिन नसक्नु आफूहरूको कमजोरी रहेको पनि उनले बताए ।

कात्तिकमा कार्यकाल सकिएको जीतजंग बस्नेत नेतृत्वको तरूण दललाई नै अझै छ महिना निरन्तरता दिने प्रस्ताव देउवाले केन्द्रीय समितिमा प्रस्ताव लगिसकेका छन् ।

यी समग्र विषयमा पुस १० गते बस्ने केन्द्रीय समितिमा छलफल हुनेछ ।

सभापति देउवाको चार वर्षे कार्यकाल यही फागुनमा सकिँदैछ । विधानमै भएको व्यवस्थाअनुसार केन्द्रीय समिति बैठकबाट पारित गराएर देउवा एक वर्ष कार्यकाल थप्ने पक्षमा छन् ।

Published : Sunday, 2019 December 22, 7:24 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया