एकले अर्कोलाई सिध्याउने खेल गर्नु हुँदैन, कांग्रेस कमजोर हुन्छः रामहरि खतिवडा
काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले पार्टीमा एकले अर्कोलाई सिध्याउने खेल कसैबाट गर्न नहुने बताएका छन् ।
प्राइम टेलिभिजनसँगको अन्तर्वार्ताका क्रममा खतिवडाले नेपाली कांग्रेसलाई ठूलो र जनताको प्यारो पार्टी बनाउनका लागि सबै मिल्नुको बिकल्प नरहेको बताए ।
‘एकले अर्कोलाई सिध्याउने काम गर्नु हुँदैन । सभापति शेरबहादुर देउवा पनि पाँच वर्षका लागि निर्वाचित हुनु भएको हो’, उनले भने, ‘कमिकमजोरी हुन सक्बछन् । आफ्ना साथीहरूलाई बाइपास गरेर उहाँपनि सफल हुन सक्नु हुन्न । शेरबहादुर देउवालाई असफल बनाएर वरिष्ठ नेता रामचन्द्र पौडेल पनि सफल हुनुहुन्न ।’
‘सभापति शेरबहादुर देउवाले नेता तथा कार्यकर्ताहरूसँगको भेटमा पहिलाकै अवस्थामा पार्टीलाई पु¥याउने भन्ने गरेको सुन्छु । वरिष्ठ नेता रामचन्द्र दाईले पनि पार्टी कमजोर भयो । पार्टीलाई कसरी बलियो बनाएर अगाडि बढाउने भन्ने गरेको सुन्ने गरेको छ’, नेता खतिवडाले भने, ‘दुबै नेताको चाहना पार्टीलाई बलियो बनाउनेछ । उहाँहरूको बाटा र प्रक्रियाहरू जे भएपनि कांग्रेसलाई बलियो बनाउने नै हो ।’
नेपाली कांग्रेसका युवा नेता खतिवडाले पार्टीका केही नेताहरूको व्यक्तिगत स्वार्थका कारण बेलाबेला समस्या आउने गरेको बताएका छन् ।
‘केही नेताहरू यस्ता छन् वरिष्ट नेता रामचन्द्र पौडेलको फेर नसमातेर केन्द्रीय राजनीतिमा देखा पर्न सक्दैनन् । केही पर्यो भने रामचन्द्र दाईले अगाडि ल्याइदिनुपर्ने अवस्था छ’, उनले भने, ‘उता सभापति शेरबहादुर देउवाको फेर नसमातिकन कामै गर्न नसक्ने नेताहरू पनि छन् ।’
‘हुँदाहुँदा कस्तो अवस्था भयो भने, केन्द्रीय सदस्य भएका हाम्रा साथीहरू बुथ कमिटीबाट चुनाव लडेर आउनभन्दा ‘प्रभु ! म त सक्दिन दाई’ भन्छन्’, खतिवडाले भने, ‘केन्द्रीय नेताहरूले कार्यकर्तासँग चुनाव लड्न डराउँछन् । आफूलाई गाउँमा सक्छन् भन्छन् ।’
सभापति देउवा र वरिष्ठ नेता पौडेललाई कुरा लगाउने नेताहरूका कारण पनि नेपाली कांग्रेसमा समस्या आउने गरेको उनले बताए ।
एक पटक केन्द्रीय सदस्य भएपछि अर्को पटक आफ्नै गाउँमा कार्यकर्ताबाट निर्वाचित भएर आउन नसक्ने केन्द्रीय नेताहरू रहेको उनको भनाइ छ । ‘गाउँका कार्यकर्तासँग डराउने नेता छन् । उनीहरूले कसरी नेपाली कांग्रेसको हितमा काम गर्न सक्छन्’, खतिवडाले भने, ‘कांग्रेस बनाउने हो भने गाउँ कमिटीबाट कार्यकर्ताको मत ल्याएर निर्वाचित भएर केन्द्रीय कार्यसमितिमा आउनुपर्छ । त्यो व्यवस्था विधानमा राख्नुपर्छ ।’
पार्टीभित्र पछिल्लो पटक देखिएको समस्याबाट नेता खतिवडाले चिन्ता जनाएका छन् । ‘सडकमा गन्ध आउने कांग्रेस हामीलाई नबनाइदिनुस्’, उनले भनेका छन्, ‘समस्या नेताहरूमा छ । कार्यकर्तामा समस्या छैन । अहिले पनि ९० वर्षको वृद्ध मान्छे कांग्रेसको चुनाव चिन्ह रुखमा भोट हाल्न भनेर बसेको हुन्छ ।’
नेपाली कांग्रेसका युवा नेता खतिवडाले सभापति शेरबहादुर देउवा पार्टीका कार्यकर्ताको ‘आमाबुबा’ दुबै भएको बताएका छन् । ‘सभापति हाम्रो अभिभावक हो । उहाँले पार्टीका कार्यकर्ताको मन राख्न सक्नुपर्छ’, खतिवडाले भने, ‘नेतृत्वले केही नेतालाई मात्रै कांग्रेस ठान्छन् भने त्यो कुरा गम्भीर भुल हो ।’
वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबाट भएको बैठक बहिस्कारप्रति खतिवडाले असन्तुष्टि जनाएका छन् । उनले बैठक बहिस्कारभन्दा पनि बैठकमा बसेर चित्त नबुझेका कुरा राखेर घरभित्रै झगडा गर्नुपर्ने सुझाव दिएका छन् । ‘घरभित्रको झगडा, घरभित्रै मिलाउने हो’, उनले भने, ‘घरभित्रको झगडालाई सडकमा ल्याएर जगत हसाउँने काम कसैबाट पनि गरिनु हुँदैन ।’
उनले विधि र विधानलाई उल्लंघन हुने गरेर कांग्रेसमा बैठक बहिस्कार गर्ने कार्य शुरु भएको भन्दै आलोचना गरेका छन् ।
कम्युनिस्टहरूको बहिस्कारको संस्कृति नेपाली कांग्रेसमा भित्रिएको भन्दै युवा नेता खतिवडाले चिन्ता जनाए । ‘झलनाथ खनाल प्रधानमन्त्री भएका बेला खड्गप्रसाद ओलीले खनालको कार्यक्रम बहिस्कार गर्नुभएको थियो’, खतिवडाले भने, ‘कम्युनिस्टहरूको बहिस्कार गर्ने प्रवृत्ति पार्टीभित्र हामीमा पनि आउन थाल्यो । हाम्रा कुराहरू अन्त पनि सर्न थाले ।’
सभापति शेरबहादुर देउवाले भागबण्डा दिन तयार भइसकेको अवस्थामा वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि आन्तरिक रुपमा छलफल गरेर मिलाउनुपर्ने खतिवडाले सुझाव दिएका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया