जनताले भ्रष्ट र गफाडी कम्युनिस्ट चिन्ने मौका पाएः विश्वप्रकाश शर्मा
दुधौली । नेपाली कांग्रेसका युवा नेता एवम् प्रवक्ता विश्वप्रकाश शर्माले पार्टीमा नेता तथा कार्यकर्ताहरूले अझै धेरै मेहनत गर्नुपर्ने बताएका छन् ।
सिन्धुली जिल्लाको दुधौली नगरपालिका वडा नम्बर १ मा शनिबार आयोजित नेपाली कांग्रेसको आमसभालाई सम्बोधन गर्दै शर्माले मेहनत गर्दा धरानमा जितेको उदाहारण दिँदै मिलेर जाने हो भने कांग्रेसले सजिलै जित्ने बताए ।
उनले धरानमा नेपाली कांग्रेसभन्दा कम्युनिस्टहरू धेरै मतले धेरै अगाडि रहेको बताए । ‘धरानलाई कम्युनिस्टहरूको गढ मानिन्थ्यो । हामी सधैँ हार्दै आएका थियौँ’, प्रवक्ता शर्माले भने, ‘यस पटक नेपाली कांग्रेस मिलेर मेहनत गर्दा कम्युनिस्टहरू गर्ल्याम गुर्लुम ढालिदिएका छौँ ।’
धरानमा जित्नका लागि नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरूले ठूलो मेहनत गरेको शर्माले बताए । उनले कांग्रेसका नेता तथा कार्यकर्ताले मेहनत गरेकै कारण धरानका जनताको विश्वास जित्न सकिएको बताए ।
नेपाली कांग्रेसका प्रवक्ता शर्माले गत निर्वाचनमा कांग्रेस पराजित भएर एककिसिमको फाइदा भएको बताएका छन् । ‘निर्वाचनमा पराजित भएर जे भयो ठीकै भयो । निर्वाचनमा हारेकाले हामीलाई ठूलो चोट पुगेको छ । चोट पुगेकै कारण जनताका पिरमर्का बुझ्न थालेका छौँ’, उनले भने, ‘मेहनत गर्नुपर्दो रहेछ भन्ने ठानेका छौँ । पहिलाको जस्तो अवस्था रहेनछ छन्ने लागेको छ ।’
उनले पराजयको पीडा भुलाउन उपनिर्वाचनमा नेता तथा कार्यकर्ताहरूले मेहनत गरेर धेरै ठाउँमा कम्युनिस्टहरूको गढ भत्काएको बताए । ‘हामी हारेका कारण कम्युनिस्टहरूले जितेपछि राम्रो गर्छन् भनेर भन्दै आएको भ्रम टुटेको छ । कम्युनिस्ट सत्ता आउनेछ भन्ने सधैँ भ्रम फिजाइ रहन्थे । त्यो भ्रम चिरिएको छ’, शर्माले भने, ‘कम्युनिस्टहरूले झण्डै दुईतिहाएको बहुमत पाउँदा पनि काम गर्न सक्दैनन् भन्ने कुरा जनताले छर्लङग थाहा पाएका छन् ।’
नाकाबन्दीका बेला नेपाली कांग्रेसले जसरी विरोध गर्नुपर्ने थियो त्यो गर्न नसकेका कारण त्यसको फाइला खड्गप्रसाद ओलीले लिएको प्रवक्ता शर्माले बताए । ‘नाकाबन्दीका बेला कांग्रेसले पनि बिरोध गर्यो । तर, जनताले पत्याएनन् । जनतालाई हामीले सुनाउन सकेनौँ’, उनले भने, ‘खड्गप्रसाद ओलीजीलाई जनताले राष्ट्रवादी ठाने । निर्वाचनमा जिताए ।’
‘निर्वाचनमा देखिएको खड्गप्रसाद ओली र कम्युनिस्टहरूको राष्ट्रवाद छवि कालापानी, लिपुलेक र लिम्पियाधुरामा पुगेर उदाङ्गो भएको छ’, उनले भने, ‘भारतले हाम्रो भूमि आफ्नो नयाँ नक्साभित्र राख्दा समेत दुई महिना भइसक्दा पनि खड्गप्रसाद ओली र कम्युनिस्ट सरकार बोल्न सकेको छैन ।’
नेपाली कांग्रेसका प्रवक्ता शर्माले नयाँदिल्लीसँग कुटनीतिक माध्यमबाट छिटो वार्ता गरेर गुमेको आफ्नो भूमि फिर्ता गर्न माग गरेका छन् । विगतमा नेपाली कांग्रेसले देशको धेरै विकास गरेको उनले बताए । तर, जनताले कांग्रेसले भन्दा धेरै विकास कम्युनिस्टले गर्छन् कि भनेर भोट दिएर जिताएको बताएका शर्माले भने, ‘कम्युनिस्ट भनेका गफाडी हुन् । विकास गर्न सक्दैनन् भन्ने कुरा जनताले बुझिसकेका छन् ।’
नेपाली कांग्रेसले जहिले पनि खानेपानी, सडक, स्वास्थ्य र शिक्षालाई महत्व दिएको प्रवक्ता शर्माले बताए । ‘निर्वाचनका बेला खड्गप्रसाद ओलीजीले रेल, पानीजहाजका कुरा गर्नुभयो । युवापुस्ताले पत्यायो । भोट पनि दियो’, उनले भने, ‘पानीजहाज र रेल सपनामा सीमित भएको छ । पहिला जनताको आधारभूत माग पूरा गर्नुपर्छ ।’ निर्वाचनका बेला जे भएपनि अहिले आएर जनताले नेपाली कांग्रेसलाई राम्रोसँग चिनेको शर्माले बताएका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया