अन्तर्राष्ट्रियस्तरमा बदनाम भयो कम्युनिस्ट सरकार, भ्रष्टाचारले डङ्डङ्ती गन्हायो
काठमाडौं । भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय संस्था ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले सम्झौताको अवधि ६ वर्ष बाँकी रहँदा नै गोकर्ण फरेष्ट रिसोर्ट र त्यसले चर्चेको २९ सय ९३ रोपनी जग्गा थप २५ वर्षका लागि यती होल्डिङ्स प्रा.लिलाई दिने दुईतिहाइको कम्युनिस्ट सरकारको निर्णयप्रति आपत्ति जनाएको छ ।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष खड्गप्रसाद ओली नेतृत्वको कम्युनिस्ट सरकारले नेपाल ट्रष्ट ऐन संशोधन गरेर यती होल्डिङ्सलाई सहमति पूर्व फेरि लामो अवधिका लागि दिएको भन्दै ट्रान्सपरेन्सीले कडा आपत्ति जनाएको हो ।
ट्रान्सपरेन्सीले भ्रष्टाचारमा शून्य सहनशीलता अपनाउने दाबी गरेको सरकारको निर्णयले निरर्थक तुल्याएको दाबी गरेको छ ।
पुरानो सम्झौता अवधि २०८२ श्रावण मसान्तसम्म रहेको अवस्थामा नेपाल सरकारले हालसालै उक्त जंगल अर्को २५ वर्षका लागि दिने निर्णय गरेको छ ।
‘सार्वजिनिक खरिद ऐनको ठाडो उल्लंघन गरी स्वस्थ्य प्रतिस्पर्धा विना नेपाल ट्रष्ट स्थापना गर्दाको मूल मर्म विपरित कुनै एउटा व्यापारिक प्रतिष्ठानसँग गुपचुपमा संझौता गरी राष्ट्रिय सम्पतिको दुरुपयोग गर्ने कार्य कुनै पनि तर्कका आधारमा असल नियतले गरिएको निर्णय हो भनेर विश्वास गर्ने आधार देखिँदैन’, ट्रान्सपरेन्सीले विज्ञप्ति जारी गरेर भनेको छ ।
ट्रान्सपरेन्सीको विज्ञप्तिमा भनिएको छ, ‘अर्को निर्वाचित सरकार आएपछि पनि कानून सम्मत तरिकाले निर्णय गर्न सक्ने पर्याप्त समय बाँकी नै रहने अवस्थामा अपारदर्शी रुपमा हतार हतार तत्कालै यस्तो निर्णय गर्नुमा निर्णयमा संलग्न पदाधिकारीहरूलाई गलत तत्वले अनुचित प्रभावमा पारेको स्पष्ट देखिन्छ ।’
ट्रान्सपरेन्सीले प्रधानमन्त्री खड्गप्रसाद ओली आफै लुट मच्चाउन लागि परेको दाबी गरेको छ ।
‘म आफू पनि भ्रष्टाचार गर्दिन र अरुलाई पनि भ्रष्टाचार गर्न दिन्न भनी आमरुपमा प्रतिवद्धता व्यक्त गर्नुहुने प्रधानमन्त्री खड्गप्रसाद ओली ज्यूले राष्ट्रिय सम्पतिमा लुट मच्चिने खालको यस्तो निर्णय फिर्ता लिई यसमा संलग्न पदाधिकारीहरूलाई कानून वमोजिम कडा कारवाही गरी मुलुकमा सरकार प्रतिको विश्वास कायमै राख्न र सुशासनको प्रत्याभुति दिन जोडदार माग गर्दछौँ’, ट्रान्सपरेन्सीले विज्ञप्तिमा भनेको छ ।
ट्रान्सपरेन्सी इन्टरनेशन विश्वमा भ्रष्टाचार र पारदर्शिताको क्षेत्रमा काम गर्ने अन्तर्राष्ट्रियस्तरको संस्था हो ।
यो संस्थानले २३ वर्षदेखि नेपालमा कार्यालय स्थापना गरेर भ्रष्टाचारविरुद्ध काम गरिरहेको छ ।
प्रधानमन्त्री खड्गप्रसाद ओलीले नेपाल ट्रष्टको अध्यक्षबाट गृहमन्त्रीलाई हटाएर अध्यक्षमा उपप्रधान एवम् रक्षामन्त्री ईश्वर पोखरेललाई नियुक्ति गरी ऐन संशोधन गरेर यती होलडिङ्स प्रा.लिलाई गोकर्णको जंगल र दरबारमार्गको जग्गा दिइएको छ । यसको चौतर्फी रुपमा विरोध भइरहेको छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया