कम्युनिस्ट अधिनायकवादविरुद्ध एकजुट हुन देउवाको अपील

महेन्द्रनगर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले खड्गप्रसाद ओली नेतृत्वको दुईतिहाइको बलियो कम्युनिस्ट सरकारले काम गरेर देखाउने बेला भएपनि केही पनि गर्न नसकेको बताएका छन् ।

कञ्चनपुर जिल्लाको महेन्द्रनगरमा शुक्रबार साँझ नेपाल शिक्षक संघ सुदूरपश्चिम प्रदेश कार्यसमितिको प्रथम प्रतिनिधि सभाको उद्घाटन सत्रलाई सम्बोधन गर्दै देउवाले संविधानले सुरक्षित गरेका अधिकारलाई पनि ओली नेतृत्वको सरकारले विभिन्न विधेयक ल्याएर हस्तक्षेप गर्न खोजेको आरोप लगाए ।

‘शिक्षक साथीहरूले आफ्नो पेसागत मर्यादालाई कायम राख्दै अझ बढी शैक्षिक योगदान दिनुहुनेछ भन्ने विश्वास लिएको छु’, देउवाले भनेका छन्, ‘वर्तमान सरकार एकपछि अर्को गरी मौलिक हकहरूमाथि प्रतिबन्ध लगाउन खोज्दै छ ।’

‘संविधान विरोधी कुनैपनि कार्य हाम्रा लागि मान्य हुने छैन’, सभापति देउवाले भनेका छन् ।

कालापानी, लिपुलेक र लिम्पियाधुराको विषयमा सरकारले उच्चस्तरीय कुटनैतिक पहल अहिलेसम्म नगर्नु दुःखद् भएको देउवाले बताए ।

‘गर्नुपर्ने काम नगर्ने सीमा अतिक्रमण जस्तो सम्वेशदनशील विषयमा नबोल्ने र नगर्नुपर्ने काम गर्दै जाने’, उनले भने, ‘जनताका हक अधिकार खोस्दै जाने सरकारको कार्यशैली अधिनायकवाद उन्मुख छ यसका विरुद्धमा हामी सबै एकजुट हुनुको विकल्प छैन ।’

उनले अधिकांश सामुदायिक विद्यालयहरूको शैक्षिक गुणस्तर खस्कदै गएकोप्रति दुःख व्यक्त गरेका छन् ।

देउवाले सामुदायिक विद्यालयका गतिविधिमा अभिभावकहरूको चासो कम भएको प्रति चिन्ता व्यक्त गर्दै शिक्षकहरूलाई गुणस्तरीय शिक्षामा जोड दिन आग्रह गरेका छन् ।

Published : Saturday, 2019 November 16, 8:34 am

फेसबुकबाट तपाईको प्रतिक्रिया