ओली नेतृत्वको राष्ट्रवादी सरकारलाई तनाब हुने विश्वप्रकाशको प्रश्न

काठमाडौं । नेपाली कांग्रेसले नेपालको माटोप्रति कहिँबाट पनि उब्जिने प्रश्न सैह्य नहुने जनाएको छ ।

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले ट्वीट गर्दै लिपुलेक र कालापानी नेपालको अभिन्न अंग भएको भन्दै नेपाली माटोप्रति उब्जिने प्रश्न गम्भीर विषय भएको बताएका छन् ।

नयाँ दिल्लीले भर्खरै मात्र नेपालका भू–भाग कालापानी र लिपुलेक भारतको नयाँ नक्सामा पारेको भन्ने समाचारप्रति प्रवक्ता शर्माले ध्यानाकर्षण भएको जनाएका हुन् ।

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले यसबारेमा तत्काल धारणा सार्वजनिक गरी गम्भीर पहलकदमी लिन दुईतिहाइको बलियो र राष्ट्रवादी सरकारसँग माग गरेका छन् ।

उनले कालापानी र लिपुलेक नेपालका अभिन्न अङ्ग भएको बताउँदै नेपाली माटोका बारे कहीँबाट पनि उब्जिने प्रश्न आपत्तिजनक र अस्वीकार्य भएको बताए ।

नेपाली कांग्रेससको भ्रातृ संस्था नेपाल तरुण दलले पनि विज्ञप्ति जारी गरी नेपालको माटो भारतले आफ्नो नक्सामा मिसाएको भन्ने विषय सार्वजनिक हुँदा समेत कम्युनिस्ट सरकार किन मौन छ भनी प्रश्न गरेको छ ।

अध्यक्ष जितजङ्ग बस्नेतले विज्ञप्ति जारी गर्दै नेपाली जनताको चाहनाबमोजिम उक्त भू–भागबारे सरकारको आधिकारिक धारणा सार्वजनिक गर्न माग गर्दै नेपालको एक मुठी माटो पनि कसैले लगेमा तरुण दललाई मान्य नहुने बताएका छन् ।

‘कालापानी र लिपुलेक हाम्रा अभिन्न अङ्ग हुन् । भारतले सार्वजनिक गरेको नयाँ नक्सा सच्याउनका लागि सरकारले कूटनीतिक पहल तत्काल शुरु गरोस्’, तरुण दलको विज्ञप्तिमा भनिएको छ ।

Published : Wednesday, 2019 November 6, 12:55 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया