प्रधानमन्त्री, सभापति, महान्यायाधिवक्ता, अध्यक्ष झापाकै, खरेल जाेगाउन काे-काे सक्रिय ?

काठमाडौं । नेपाल वायुसेवा निगमको न्यारो बडी विमान खरिदमा भएको एक अर्बभन्दा बढीको अनियमितता काण्ड संसदीय समितिले गुपचुप राखेको खुलासा भएको छ ।

एक अर्ब २० करोड घोटाला ठहर गरेको अन्तर्राष्ट्रिय सम्बन्ध समितिअन्तर्गतको उपसमितिले प्रतिवेदन लुकाएको हो ।

डा.दीपकप्रकाश भट्ट संयोजकत्वको उपसमितिले न्यारो बडी खरिदमा अनियमितता भएको प्रतिवेदन तयार पारेर समितिमा बुझाएको थियो ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)कै केही नेताका कारण प्रतिवेदन समितिमा गुपचुप राखिएको अन्नपूर्ण पोस्ट दैनिकले जनाएको छ ।

एयरबससँगको सम्झौता म्याद समाप्त भइसकेपछि पनि एउटा जहाजमा ६० करोड बढी मूल्य बढाएर खरिद गरिएको निष्कर्ष उपसमितिको छ ।

उपसमितिका अनुसार दुईवटा न्यारो बडी खरिदमा एक अर्ब २० करोडभन्दा बढी घोटाला भएको छ ।

उपसमितिमा सांसदहरू दीव्यमणि राजभण्डारी, रेनुका गुरुङ, सरला यादव र सुदन किराती सदस्य थिए ।

उपसमितिले वैशाख १९ गते समितिमा प्रतिवेदन बुझाए पनि गोप्य छाप लगाएर सार्वजनिक गरिएको छैन ।

नेपाल एयरलाइन्सका अध्यक्ष मदन खरेल कार्यकारी निर्देशक भएका बेला न्यारो बडी विमान खरिद गरिएको थियो ।

अहिले नेकपाका केही शीर्ष नेताहरू खरेललाई जोगाउन लागिपरेको समिति सदस्यहरू बताउँछन् ।

केही शीर्ष नेताले समितिमा रहेका नेकपाका सांसदलाई न्यारो बडी अनियमितताबारे नबोल्न दबाब दिएको उनीहरूको भनाइ छ ।

‘प्रधानमन्त्री झापाको, समिति सभापति झापाको, खरेलजी पनि झापाको भएकाले न्यारो बडीको प्रतिवेदन गोप्य राखियो’, समितिमा रहेका नेपाली कांग्रेसका एक सांसदले भने, ‘प्रधानमन्त्रीले आफ्ना मान्छेलाई च्यापेपछि समितिले के गर्न सक्छ र ?’

समितिमा रहेका माधव नेपाल र भीम रावलले भने न्यारो बडी छानबिन प्रतिवेदन सार्वजनिक गर्नुपर्ने पक्षमा रहेको समितिका सदस्य बताउँछन् ।

‘पुरानै मूल्यमा जहाज उपलब्ध हुने भनी मन्त्रिपरिषदमा पेस भएको लिखित प्रस्तावविपरीत कुनै आधार र कारणसमेत उल्लेख नगरी प्रत्येक जहाजको मूल्य ४२.५५ मिलियन डलरबाट बढाई ४८.५ मिलियन अमेरिकी डलरमा खरिद गरेको पाइयो’, गोप्य छापसहित लुकाइएको उपसमिति प्रतिवेदनमा भनिएको छ ।
उपसमितिका अनुसार एउटा जहाज ६ मिलियन डलर तिरेर खरिद गरिएको छ ।

Published : Wednesday, 2019 November 6, 8:48 am

फेसबुकबाट तपाईको प्रतिक्रिया