ओलीका जिल्लाबासी खरेलले निगममा लुट मच्चाउँदै, भारू १५ लाख गायब

काठमाडौं । नेपाल वायुसेवा निगम (नेवानी)का कार्यकारी अध्यक्ष मदन खरेलले मेडिकल सुविधाका नाममा झण्डै २५ लाख रुपियाँ सिध्याएको खुलासा भएको छ ।

केही दिन अगाडि भारत गएका बेला खरेलले मेडिकल सुविधाको रकम सिध्याएको स्रोतले जनाएको छ । खरेलले दिल्लीमा बसेर १५ लाख भारतीय रुपियाँ त्यहीको नेवानीको स्टेसनका नाममा तिराएको रहस्य बाहिरिएको हो ।

खरेलले यो खर्चका बारेमा बोल्ने आँट राख्छन् वा राख्दैनन् जिज्ञासाको विषय बनेको छ ।

कार्यकारी अध्यक्ष खरेलले पाएको नियुक्ति पत्र (सम्झौता पत्र)मा मेडिकल सुविधाको विषय उल्लेख छैन । यसअघि दुई वर्ष अगाडि खरेलको सम्झौता पत्रमा मेडिकल सुविधाको विषय उल्लेख थियो ।

त्यस बेला काम गर्न नसकेर खरेल बीचैमा छाडेर हिँडेका थिए । नेवानीमा खरेललाई ‘भगौडा’ भनेर कर्मचारीहरूले आरोप लगाउने गरेका छन् ।

कार्यकारी निर्देशक सुगतरत्न कंशाकारको पालामा पनि सम्झौता पत्रमा मेडिकल सुविधा उल्लेख थियो । उल्लेख भएअनुसार कंशाकारले सुविधा लिएका थिए ।

तर, यस पटक खरेलको सम्झौता पत्रमा यो विषय उल्लेख छैन । तैपनि दिल्लीमा बसेर त्यो सुविधा कागजपत्र मिलाएर खरेलले कुम्ल्याएको उच्च स्रोतले जनाएको छ ।

नेपाल वायुसेवा निगमका प्रवक्ता गणेशबहादुर चन्दले कार्यकारी अध्यक्ष खरेलले मेडिकल सुविधा पाउने बताए । ‘निगमको विनियममा उल्लेख भएकाले कार्यकारी अध्यक्ष मदन खरेलले मेडिकल सुविधा पाउनु हुन्छ’, उनले भने, ‘सम्झौता पत्रमा उल्लेख भएको छ वा छैन त्यसले कुनै अर्थ राख्दैन । विनियममा रहेकाले त्यो सविधा पाइन्छ ।’

पहिलाका कार्यकारी अध्यक्षहरूको सम्झौता पत्रमा मेडिकल सुविधा उल्लेख हुने गरेको थियो ? यस पटक मदन खरेलज्यूको सम्झौता पत्रमा उल्लेख छैन तैपनि उहाँले मेडिकल सुविधा पाउनु हुन्छ है ? भन्ने प्रश्नको जवाफमा प्रवक्ता चन्दले भने, ‘पाउनु हुन्छ । उल्लेख भएपनि नभएपनि । मैले पहिला पनि भनि सकेँ ।’

यस विषयमा बुझ्न कार्यकारी अध्यक्ष खरेलसँग सम्पर्क गर्दा उनले मोबाइल फोन उठाएनन् । खरेलले एसएमएसको जवाफ पनि दिएनन् ।

खरेल प्रधानमन्त्री केपी ओलीको गृहजिल्लाकै हुन् । प्रधानमन्त्री ओलीले आफ्नै जिल्लाको मान्छे हो, राम्रै गर्ला भनेर ‘भगौडा’ भएपनि फेरि मौका दिएर नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्ष बनाएका थिए ।

तर, खरेलले निगमको हितमा त सिन्कोसम्म भाँचेनन्–भाँचेनन् उल्टै प्रधानमन्त्री ओली र संस्कृति पर्यटन, तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईको समेत हुर्मत लिन थालेको चर्चा निगमभित्र छ ।

निगमभित्र काम गर्न नसकेका खरेलले ‘पर्यटन मन्त्री’ले कामै गर्न दिएनन् भनेर दुष्प्रचार गरेको एक कर्मचारीले बताए ।

‘प्रधानमन्त्रीकै जिल्लाको हुँ, भाउजु पवित्रा खरेल र महान्यायाधिवक्ता अग्नि खरेललाई लगाएर प्रधानमन्त्रीलाई आफूले ठीक ठाउँमा राख्ने त्यतिले नपुगे केही घरानीयाँ व्यापारीलाई प्रयोग गरेर प्रधानमन्त्रीलाई पनि तह लगाउन सक्छु’भन्दै खरेलले निगमभित्र आफू निकटका कर्मचारी समक्ष कुरा राख्ने गरेको स्रोतले जनाएको छ ।

अहिलेसम्मका सबै कार्यकारी प्रमुखहरूले आफ्नो फोन उठाउने कर्मचारीलाई चार वा पाँच तहका कर्मचारी राख्ने गरेको थिए । तर, खरेलले आफ्नो फोन उठाउनका लागि भन्दै नौ तहका कर्मचारीलाई काममा लगाएका छन् ।

‘ईञ्जिनियरिङ डाइरेक्टरले पेश गरेको प्रस्ताव मानव संसाधन विभाग र अर्थ विभागको निर्देशकले नबुझे पनि मैले बुझेको छु’ भनेर जबर्जस्ती दस्तखत गराएर कार्यकारी अध्यक्ष खरेलले जगत हसाँउने काम गरेको एक कर्मचारीले बताए ।

निगमभित्र खरेलले समिति र उपसमिति गठन गरी तिनैको प्रतिवेदनका आधारमा व्यापारीका इच्छाहरू लादेर निगमको हितविरुद्ध काम गरेको आरोप पनि छ ।

छोरीहरूको जागिर, पढाइको व्यवस्थाको लागि ठूलाठूला एजेन्टहरूलाई प्रभाव र दवाव दिने गरेको खरेललाई आरोप पनि छ ।

खरेलले कार्यालयको सोफा र गमला समेत उठाएर घरतिर दौडाउने गरेको एक कर्मचारीले बताए ।

खरेलले मन्त्रालयसित समन्वय गरेर काम गर्नुपर्नेमा पर्यटन मन्त्रीको कुरा काट्दै हिँड्ने गरेका छन् । कार्यकारी अध्यक्ष खरेलले मन्त्रालयसँग लडाइँ गरेको देखेर दिक्क मान्न थालेका छन् ।

महिना दिनमा पन्ध्र दिनभन्दा बढी उनी विदा बस्ने गरेको आरोप छ । तर, सार्वजनिक विदाका दिन आफू निकटका ‘नटवरलाल ग्रुप’लाई राखेर कर्मचारीहरूकै विरुद्धमा षड्यन्त्र र साजिश गर्ने गरेको एक कर्मचारीले बताए ।

खरेलले कर्मचारी युनियनका नेताहरूलाई विभाजित गराउन सफल भएका छन् । कर्मचारीहरूको एक वर्षको बढुवा नै उनले रोकेर राखेको आरोप छ । कर्मचारीहरूको बढुवामा प्रधानमन्त्री र पर्यटन मन्त्रीले असहयोग गरेको आरोप खरेलले लगाउने गरेका छन् ।

खरेलले वाइडबडी उडाउनभन्दा पनि आफै स्वार्थ बोकेका व्यापारीकहाँ धाउने गरेका छन् । राजेशप्रसाद श्रेष्ठ र अमृता श्रेष्ठलाई पैसा बटुल्न लगाउनेसम्मको गतिविधि खरेलले गरेको उच्च स्रोतले जनाएको छ । (दैनिक नेपाल डटकमबाट साभार)

Published : Tuesday, 2019 November 5, 7:15 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया