नेकपाका सांसदहरूले काम नगरेपछि कान्तिलाेक पथको हिसाबकाे खाेजी, डेलिगेशन जाँदै स्थानीय
काठमाडौं । ललितपुर जिल्लाको सातदोबाटो हुँदै हेटौंडा जाने कान्तिलोकपथ सडक निर्माण नहुँदा स्थानीयले हैरानी भोग्नु परेको छ ।
भत्किएको सडकको हिलो र धुलोले चापागाउँ, ठेचो र सुनाकोठीको सडक हिँड्नै नसकिने गरी बिग्रिएको छ । सडक बिग्रिएको वर्षौं भइसक्दा पनि सरोकारवाला निकायले सडक बनाउने वा मर्मत गर्ने विषयमा ध्यान दिएका छैनन् । ठेकेदार र सो क्षेत्रका जनप्रतिनिधिहरू पनि कानमा तेल हालेर बसेका छन् । उनीहरूले स्थानीय जनताको मागको सुनुवाइ समेत गरेका छैनन् ।
धुलोका कारण स्थानीयलाई समस्या भएपछि गोदावरी नगरपालिकाले बाटोमा बेलाबेला ट्यांकरबाट पानी हाल्ने गरेको छ । धुलो नउडोस् भनेर हाल्ने पानीका कारण सडकमा चिप्लिएर दैनिक ५० भन्दा बढी मोटरसाइकल लड्ने गरेको स्थानीयले बताएका छन् ।
तीन महिना अगाडि ललितपुर जिल्लाका प्रतिनिधि सभाका सांसद पम्फा भुसाल, नवराज सिलवाल, प्रदेश सांसद चेतनाथ सन्जेल, ललितपुरका प्रमुख जिल्ला अधिकारी, सडक डिभिजन प्रमुख र ठेकदारबीच कात्तिक मसान्तसम्म यथास्थितिमा कालोपत्र गर्ने लिखित सहमति भएको थियो । कात्तिक मसान्त सक्किने बेला भइसक्यो । तर, सरोकारवाला निकायले सडक अहिलेसम्म सिन्को पनि भाँचेको छैन । ललितपुरमा प्रतिनिधि सभा र प्रदेश सभा सबैमा सत्तारुढ नेकपाले जितेकाे छ । उनीहरूले काम नगरेपछि स्थानीय हैरान भएका छन् ।
कात्तिक मसान्तसम्म पनि सडक कालोपत्र नहुने देखेपछि सयौँ स्थानीयहरूको भेलाले रामभक्त महर्जनको संयोजकत्वमा २५ जनाको संघर्ष समिति गठन गरेको छ । संघर्ष समितिले सडक बनाउन दवाव दिँदै आएको छ ।
समितिले गोदावरी नगरपालिकालाई पनि सडक बनाउन केन्द्र सरकारलाई दवाव दिन आग्रह गरिसकेको छ ।
सडकको दुरदशाबाट जानकार प्रदेश सांसद चेतनाथ सन्जेल भने सरोकारवाला निकायलाई दवाव दिएर सडक मर्मत र सुधार गर्नेभन्दा पनि स्थानीयले राजनीति गर्न थालेको भन्दै आक्रोश पोखेका छन् ।
त्यही क्षेत्रका जनताको भोटले प्रदेश सांसदमा निर्वाचित सञ्जेलले आफूलाई जनताको मागभन्दा टाढा राख्न खोजेपछि स्थानीयहरू आक्रोशित बनेका छन् ।
संघर्ष समिति बनाउने भेलामा सहभागी भएका बेला पनि प्रदेश सांसद सञ्जेलले समिति नबनाउन चेतावनी दिँदै बाहिरिएका थिए ।
भेलामा प्रदेश सांसद सञ्जेलले चापागाउँ, ठेचो र सुनाकोठीसम्म ढलान गर्न लागि परेका छौँ भनेका थिए । तर, उनको कुरा कसैले पत्याएनन् । ठेक्का परिसकेको सडक अहिलेसम्म बन्न नसकेका बेला ढलान गर्ने विषयलाई भेलाका सहभागीहरूले पत्याएनन् ।
आलोचनाबाट बच्न प्रदेश सांसद सञ्जेलले भेलामा राखेका भनाइको प्रतिवाद भएपछि कालोनिलो बनेका थिए । भेलाबाट बाहिरिन सञ्जेलले ‘मन्त्रीसँग मिटिङ छ’भन्दै बहाना बनाएको एक सहभागीले बताए ।
कान्तिलोक पथको टेन्डर ०७१ सालमा भएको थियो । ठेकेदारले मोबलाईसन रकम लिइसकेका छन् । कान्तिलोक पथ प्याकेज–प्याकेज गरी ५० करोडको टेन्डर भएको थियो ।
यता, संघर्ष समितिको आइतबार ११ बजे सडक डिभिजनमा डेलिगेशन जान लागेको छ । समितिका संयोजक रामभक्त महर्जनले सडक डिभिजन कार्यालयसँग अहिलेसम्म भएको कामको एकएक हिसाब किताब माग गरिने बताए ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया