नवराज सिलवालले काम नगरेपछि सडक बनाउन स्थानीयले बनाए संघर्ष समिति
ललितपुर । ललितपुर जिल्लामा कान्ति लोकपथअन्तर्गत सातदोबाटो–सुनाकोठी–चापागाउँसम्मको बाटो निर्माणमा ढिलाइ भएको भन्दै स्थानीयले दवावका लागि संघर्ष समिति बनाएका छन् ।
ललितपुरको चापागाउँमा शुक्रबार बसेको स्थानीय युवा, बुद्धिजीव र विभिन्न राजनीतिक दलका स्थानीय नेता तथा कार्यकर्ताहरूको भेलाले सडक निर्माण र मर्मतका लागि दवाव सिर्जना गर्न रामभक्त महर्जनको संयोजकत्वमा २१ सदस्यीय संघर्ष समिति बनाएको हो ।
नेपाली कांग्रेसका युवा नेता मीनकृष्ण महर्जनका अनुसार संघर्ष समितिले सातदोबाटोदेखि चापागाउँसम्मको सडक मर्मत र निर्माणका लागि संघर्ष समितिले सरोकारवाला निकायलाई दवाव दिनेछ ।
‘यो संघर्ष समिति कुनै पनि राजनीतिक उदेश्यका लागि होइन’, उनले भने, ‘सातदोबाटोदेखि चापागाउँसम्मको कान्ति लोकपथ हिँड्नै नहुने गरी वर्षौंदेखि यथावत रहेपछि बाध्य भएर हामी स्थानीयहरू जम्मा भएर संघर्ष समिति बनाएका हौँ । हाम्रो उदेश्य भनेको सडक बनाउन दवाव सिर्जना गर्ने हो ।’
भेलापछि संघर्ष समितिका सदस्य र स्थायीहरूले गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनलाई भेटेर सडक निर्माणमा ध्यान दिन दवाव दिएका थिए ।
मेयर महर्जनले सडक निर्माण गर्नका लागि आफूले सक्दो पहल गरिरहेको भए पनि मन्त्रालय र सडक विभाग तथा ठेकेदार कम्पनीले नै समस्या बनाएको बताए । उनले आफूले सातदोबाटोदेखि चापागाउँसम्मको सडक बनाउन दवाव दिन कुनै पनि कसर बाँकी नराख्ने बताए ।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रदेश सांसद चेतनाथ सञ्जेलले सडक निर्माणका लागि बनाइएको संघर्ष समितिको कुनै पनि औचित्य नरहेको भन्दै भंग गर्न चेतावनी दिए । उनले सडक निर्माणका लागि दवाव दिन बनाइएको संघर्ष समितिका नाममा राजनीति गर्न खोजेको भन्दै आपत्ति जनाए ।
नेकपाका प्रदेश सांसद सञ्जेलले संघर्ष समितिको विरोध गर्दै सडक निर्माणमा दवाव दिन नहुने भनेपछि भेलामा सहभागी स्थानीय युवाहरू उनको विरोध गरेका थिए । स्थानीयको विरोधपछि प्रदेश सांसद सञ्जेल भेलाबाट बाहिरिएका थिए । सञ्जेलले पूर्वएमाले हुन् ।
ललितपुर क्षेत्र नं. १ बाट तत्कालीन एमालेबाट प्रतिनिधि सभामा नवराज सिलवाल विजयी भएका थिए । सिलवालले यो सडक बनाउन र कुनै ध्यान नदिएको स्थानीयको आरोप छ ।
सिलवालले आफ्नै दलको दुईतिहाइको बलियो कम्युनिस्ट सरकार हुँदा पनि काम गर्न नसकेपछि स्थानीय आफै सडक बनाउन दवाव दिने उदेश्यले अगाडि आएका हुन् ।
संघर्ष समितिको सहसंयोजकहरूमा दिलकुमार शाही, रमेश देशार, निराजन बिष्ट र दिल महर्जन रहेका छन् ।
सचिव खोमप्रसाद दाहाल, कोषाध्यक्षमा महेश कुँवर तथा सदस्यहरूमा द्वारिका श्रेष्ठ, किशोर देशार, सुरेन्द्र कपाली, अनिल श्रेष्ठ, नवराज कुँवर, रिजना श्रेष्ठ, उषा खड्का महर्जन, गुणदेवी शाक्य, राधा श्रेष्ठ, एजिला शाही, राजकुमार महर्जन, दिलिप श्रेष्ठ, प्रकाश आचार्य, अमरोज कुँवर लगायतका रहेका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया