तीन जनाको नामसँगै विद्यालाई तनाब

पोखरा । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को गण्डकी प्रदेश कमिटीले कास्की २ मा प्रतिनिधि सभा सदस्यका लागि हुने उपनिर्वाचनका लागि ३ जनाको नाम सिफारिस गरेको छ ।

यसअघि कास्की जिल्ला कमिटीले तत्कालीन मन्त्री रविन्द्र अधिकारीकी श्रीमती विद्या भट्टराईको नाम सिफारिस गरेको थियो । तीन जनाको नाम सिफारिस भएपछि रविन्द्र अधिकारीकी पत्नी विद्या भट्टराईलाई झट्का लागेको छ ।

प्रदेश कमिटीको तिहारअघिको बैठकले विद्यासँगै पुराना नेता सोमनाथ अधिकारी र जिल्ला इञ्चार्ज राजकाजी गुरुङ समेतको गरी ३ जनाको नाम उम्मेदवारका लागि केन्द्रमा सिफारिस गरेको छ ।

गण्डकी प्रदेशका मुख्यमन्त्रीसमेत रहेका पार्टी इञ्चार्ज पृथ्वीसुब्बा गुरुङले उम्मेदवारका लागि ३ जनाकै नाम पठाउनुपर्ने भएकाले अधिकारी, गुरुङ र भट्टराईको नाम सिफारिस गरेको जानकारी दिएका छन् ।

जिल्ला कमिटीको ८ गतेको बैठकले नाम सिफारिस गरेको भोलिपल्टै प्रदेश कमिटीको बैठक बसेको थियो । कास्की २ मा मंसिर १४ गते प्रतिनिधि सभा सदस्यका लागि उपनिर्वाचन हुँदैछ ।

वाइडबडी घोटाला, ह्यात होटेलको सेयर काण्डलगायतमा परेका तत्कालीन मन्त्री अधिकारीको ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा मृत्यु भएको थियो ।

साझा पार्टीले उक्त चुनावका लागि उम्मेदवार सार्वजनिक गरिसकेको छ । कास्की कांग्रेसले १६ जनाको नाम उम्मेदवारका लागि पार्टी केन्द्रलाई सिफारिस गरेको छ ।

Published : Thursday, 2019 October 31, 9:58 am

फेसबुकबाट तपाईको प्रतिक्रिया