ओली–दाहालका केन्द्रीय सदस्यलाई कुटपिट

खलंगा । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता तथा कार्यकर्ताले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य निरज आचार्यसहितका नेताहरूलाई कुटपिट गरेर घाइते बनाएका छन् ।

जाजरकोट जिल्लाको बारेकोटको लैखमभीरमा बुधबार बिहान साढे ७ बजे आक्रमण गरेर घाइते बनाएको सत्तारुढ नेकपाले जनाएको छ ।

विप्लव नेतृत्वको नेकपाको यो हर्कतबाट प्रधानमन्त्री समेत रहेका खड्गप्रसाद ओली र दोस्रो तहका अर्का अध्यक्ष पुष्पकमल दाहाल रिसाएका छन् ।

‘जाजरकोट जिल्लाको बारेकोट गाउँपालिकामा आयोजित पार्टीको कार्यक्रममा सहभागी हुन जाँदै गर्दा सत्तारुढ नेकपाका केन्द्रीय सदस्य निरज आचार्य, कर्णाली प्रदेश कमिटी सदस्य डम्बरबहादुर सिंह र अनेरास्ववियूका जिल्ला सदस्य विशाल बस्नेत लगायतका कमरेडहरूलाई बारेकोटको लैखमभीरमा विप्लव समूहका आक्रमणकारीहरूले आक्रमण गरी सख्त घाइते बनाएका छन्’, विज्ञप्तिमा भनिएको छ ।

‘जंगली एवम् बर्वर आक्रमणको घोर भर्त्सना गर्दछौं’, नेकपाले भनेको छ, ‘घाइते कमरेडहरूको शीघ्र स्वास्थलाभको कामना गर्दछौं ।’

सत्तारुढ नेकपाले आक्रमणकारीहरूलाई कडा कानूनी कारवाही गर्न सम्बद्ध निकायको ध्यानकार्षण गराएको छ ।

सत्तारुढ नेकपाका केन्द्रीय सदस्यसहितका नेताहरूलाई आक्रमण गरिएको विषयमा विप्लव नेतृत्वको नेकपाले केही भनेको छैन ।

Published : Wednesday, 2019 October 23, 5:11 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया