सरकारले तान्यो महरा चढ्ने गाडी, दुइटा गाडीमा भने कब्जा

काठमाडौं । अर्काकी पत्नीलाई जबरजस्ती करणी गरेको आरोपपछि सभामुख पद गुमाएका सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद कृष्णबहादुर महराले एउटा गाडी फिर्ता गरेका छन् ।

महराले झण्डावाल गाडी बिहीबार फिर्ता गरेपनि दुइटा गाडी फिर्ता गरेका छैनन् । उनले अटेर गरेर सुविधामा दुइटा गाडी राखेका हुन् ।

महरालाई संघीय संसद सचिवालयले उपलब्ध गराएको झण्डावाल गाडी फिर्ता भएको छ । झण्डावाला गाडी फिर्ता आएको प्रतिनिधि सभाका संसदको सवारी शाखाका उपसचिव कान्छा दुलालले जानकारी दिए ।

राजीनामा लगत्तै गृह मन्त्रालयले गाडीको विषयमा संसद सचिवालयलाई सोधेको थियो ।

महरालाई सचिवालयले एउटा गाडी दिएको थियो । उनको सचिवालयले थप एक गाडी प्रयोग गर्ने गरेको थियो ।

गृह मन्त्रलायले कालो रंगको गाडी औपचारिक कार्यक्रममा प्रयोगका लागि दिएको थियो ।

सभामुखको हैसियतमा रहँदा महराले बा २ झ १२६८ नम्बरको गाडी चढ्दै आएका थिए । उनको सुरक्षाका लागि क्याप्टेनको नेतृत्वमा १७ सैनिक र प्रहरी निरीक्षकको नेतृत्वमा ११ जना प्रहरी सुरक्षामा खटिएका थिए ।

महराले आफू चढ्दै आएको गाडी संसद सचिवालय अन्तर्गतको सवारी शाखालाई बुझाएका छन् ।

संघीय संसदमै काजमा कार्यरत महिला कर्मचारीलाई जबरजस्ती करणी गरेको आरोप लागेपछि महराले मंगलबार सभामुख पदबाट राजीनामा दिएका थिए ।

महराले अझै सांसद पद छाडेका छैनन् । नेकपा सचिवालय बैठकले महरालाई सभामुख र सांसद दुवै पदबाट राजीनामा दिन सुझाव दिएको थियो ।

Published : Thursday, 2019 October 3, 9:44 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया