कांग्रेसका ‘योद्धा’को स्मरण गर्न पुगे देउवासहितका नेताहरू

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रजातन्त्र र लोकतन्त्रका लड्ने योद्धाहरूको उचित सम्मान गर्न नसकिएको बताएका छन् ।

नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री स्वर्गीय मार्शल जुलुम शाक्यको ८०औं जन्मजयन्ती तथा प्रतिमा अनावरण कार्यक्रममा देउवाले प्रजातन्त्र ल्याउन योगदान गरेका योद्धाहरूको उचित सम्मान गर्न नसकिएको बताए ।

उनले जनताको अधिकार र प्रजातन्त्र प्राप्तिको लागि शक्यले गरेको अतुलनीय योगदानका कारण र देशको परिर्वतनका लागि एक होनाहार यौद्धा भएकै कारण देशमा परिर्वनतको रेखामा हिडिरहेको बताए ।

नेपाली कांग्रेसका सभापति देउवाले तत्कालीन राजा स्वर्गीय महेन्द्र शाहले विक्रम संवत २०१७ सालमा प्रजातन्त्रमाथि ‘कु’ गरेपछि स्वर्गीय शाक्यले राजाका बिरुद्ध आन्दोलनमा देखाएको साहस, निडर नेतृत्वको प्रशंसा समेत गरे ।

कार्यक्रममा नेपाली कांग्रेस नेता ध्यानगोविन्द रञ्जितले स्वर्गीय शाक्यजस्ता अथक योद्धाहरूको नेतृत्व वर्गले उचित मूल्याङ्कन गर्न नसकेको गुनासो गरे । उनले शाक्यको इतिहास भावी पुस्तालाई सधै बुझाउन जरुरी रहेको बताए ।

नेपाली कांग्रेसका नेता एवम् प्रतिनिधि सभा सांसद भीमसेनदास प्रधानले शाक्य निवाशको सोही घरमा भूमिगत समयमा कांग्रेसका शीर्ष नेताहरूसहित राजनीतिज्ञहरूले राजनीतिक रणनीति बनाउने गरेको सम्झना गरे ।

नेता नवीन्द्रराज जोशीले शाक्यलाई तत्कालीन पञ्चायती व्यवस्थाले गिरफ्तार गरेको र पहिलो पटक यसरी गिरफ्तारीमा परेका शाक्यलाई तत्कालीन व्यवस्थाले ७ वर्षसम्म जेल जीवन, नेपालमा प्रजातन्त्र स्थापना र पुनस्र्थापनाका क्रममा संचालित हरेक आन्दोलन र संघर्षमा संलग्न रहँदा उनले १४ वर्षभन्दा बढी समय जेल जीवन व्यतित गरेको बताए ।

कांग्रेसका नेता तीर्थराम डंगोलले परिर्वतनका लागि लड्ने योद्धाहरू ईतिहासका पानमा सधै अटाइरहने बताए ।

काठमाडौंको ओम बहालको मिमनमी बहालस्थित स्वर्गीय शाक्यको निवासमा प्रतिमा स्थापना गरिएको छ ।

विक्रम संवत २०४७ सालको अन्तरिम मन्त्रिपरिषदमा शाक्य वाणिज्य तथा आपूर्तिमन्त्री थिए ।

खास नाम जुलुमकाजी शाक्य भएपनि उनले भूमिगत कालमा मार्शल जुलुम शाक्यको नामबाट प्रजातन्त्र प्राप्ति लागि भएको आन्दोलनमा सक्रिय रहेका थिए ।

शाक्यको जन्म विक्रम संवत १९९६ मा जन्म भएको थियो । विक्रम संवत २०७४ सालमा ७८ सालको उमेरमा निधन भएको थियो ।

स्व. शाक्य विक्रम संवत २०४३ देखि २०४५ सम्म नेपाली कांग्रेस जिल्ला कार्यसमिति, काठमाडौंको कार्यवाहक सभापति थिए । त्यसपछि केही समयसम्म उनी जिल्ला सभापति समेत रहेको स्मरण नेपाली कांग्रेसले गरेको छ ।

शाक्य नेपाली कांग्रेसका संस्थापक नेताहरू वीपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराईसँग अत्यन्त नजिकमा रहेर राजनीतिमा सक्रिय रहेका थिए ।

शाक्य नेपाल विद्यार्थी संघका संस्थापक सदस्य समेत थिए । विक्रम संवत २०४६ सालको जनआन्दोलनका क्रममा केन्द्रीय एक्सन कमिटीको सदस्य थिए ।

शाक्य विक्रम संवत २०४७ सालमा नेपाली काग्रेसका तत्कालीन कार्यवाहक सभापति एवं सन्तनेता कृष्णप्रसाद भट्टराईको नेतृत्वमा गठित अन्तरिम सरकारमा यातायात तथा आपूर्ति मन्त्री थिए ।

नेपालको संविधान २०४७ जारी गर्नमा समेत स्वर्गीय शाक्यले अहम् भूमिका निर्वाह गरेका थिए ।

Published : Friday, 2019 September 27, 8:56 am

फेसबुकबाट तपाईको प्रतिक्रिया