नवलपरासीमा कांग्रेसको ‘नमूना’ प्रदर्शन, ‘मुन्ना भाई’का हर्कत परास्त

नवलपरासी । नेपाली कांग्रेस नवलपरासीले हिमाल, पहाड, तराई–मधेस राष्ट्रिय जागरण अभियान दुईतिहाइको बलियो कम्युनिस्ट सरकारविरुद्ध प्रदर्शन गरेर समापन गरेको छ ।

नवलपरासी कांग्रेसले मंगलबार परासी बजारमा सरकारविरुद्ध भव्य प्रदर्शन गरेको हो । कार्यक्रमलाई विथोल्ने जिल्लाकै केही पूर्वमन्त्री समेत रहेका केन्द्रीय सदस्य लागेपनि कांग्रेसका स्थानीय नेता तथा कार्यकर्ताले कुनै प्रवाह नगरी भव्य प्रदर्शन गरेका छन् ।

प्रदर्शनपछि आयोजित कार्यक्रममा देवकरण जयसवाल, मेयर भरत थापा, मेयर नरेन्द्र गुप्ता, महासमिति सदस्य लालबहादुर गुरुङले धारणा राखेका थिए । कार्यक्रमको सभापतित्व अर्जुनकुमार पोखरेल र सञ्चालन सचिव बिक्रम यादवले गरेका थिए ।

मंगलबार भएको सरकारविरोधी प्रदर्शनमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् सांसद देवेन्द्रराज कँडेल ‘मुन्ना’ र पूर्वसांसद बिक्रम खनाल देखिएनन् ।

पूर्वसांसद खनाल बिरामी भएर उपचार गर्न काठमाडौं गएकाले अनुपस्थित भएको नवलपरासी कांग्रेसले जनाएको छ ।

केन्द्रीय सदस्य एवम् सांसद कँडेलले नवलपरासी कांग्रेसको अहिलेको नेतृत्वप्रति असहमति जनाउँदै मंगबारको कार्यक्रममा सहभागी नभएको स्रोतले जनाएको छ ।

केन्द्रीय सदस्य कँडेलले सभापति अर्जुनकुमार पोखरेललाई हटाएर नवप्रवेशी कांग्रेस सुवास गिरीलाई सभापति बनाउन चलखेल गर्दै आएका छन् । गिरी तत्कालीन लोकतान्त्रिक फोरम पार्टीबाट नेपाली कांग्रेसमा आएका हुन् ।

गिरीकै कारण केन्द्रीय सदस्य कँडेलले नवलपरासी कांग्रेसलाई भताभुङ्ग बनाएको आरोप छ ।

दुईतिहाइको बलियो कम्युनिस्ट सरकारविरुद्ध मंगलबार भएको विरोध प्रदर्शन विथोल्न केन्द्रीय सदस्य कँडेलले आफू निकटका नेता तथा कार्यकर्ताहरूलाई कार्यक्रममा जानबाट अबरोध सिर्जना गरेको स्रोतले जनाएको छ ।

केन्द्रीय सदस्य कँडेलको अबरोध भएपनि नवलपरासी कांग्रेसले मंगलबार भव्य र शानदार प्रदर्शन गरेको छ ।

विवादले उग्ररुप लिएपछि दुई दिन नवलपरासीका क्षेत्रीय सभापतिहरू काठमाडौं आएर सभापति शेरबहादुर देउवालाई भेटेर केन्द्रीय सदस्य कँडेलबाट आफूहरू पीडित भएको गुनासो गरेका थिए ।

जति षड्यन्त्र र असहयोग भएपनि दोस्रो चरणको कार्यक्रमलाई सफल बनाउन देउवाले निर्देशन दिएपछि नवलपरासीका क्षेत्रीय सभापतिहरू जिल्ला फर्किएर मंगलबारको कार्यक्रमको तयारी गरेका थिए ।

नवलपरासी कांग्रेसका नेता तथा कार्यकर्ताहरूले एक पटक फेरि व्यक्तिभन्दा पार्टी ठूलो भन्ने सन्देश दिएका छन् । सांसद एवम् केन्द्रीय सदस्य कँडेललाई झट्का दिएका छन् ।

Published : Wednesday, 2019 September 25, 12:12 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया