सप्तरीमा कांग्रेसका सांसदमाथि हातपात, देखाए तल्लो तहको औकात

राजविराज । सप्तरी जिल्लामा नेपाली कांग्रेसका सांसद तेजुलाल चौधरीमाथि हातपात भएको छ ।

सप्तरी जिल्लाको क्षेत्र नं. ४ बाट निर्वाचित नेपाली कांग्रेसका सांसद चौधरीमाथि मंगलबार राजविराजमा आफ्नै पार्टीका कार्यकर्ताले हातपात गरेका छन् ।

स्थानीय पबि माध्यमिक विधालयको मैदानमा आयोजना गरिएको जागरण अभियान समापन कार्यक्रमको आसन ग्रहणको विषयलाई लिएर उत्पन्न भएको विवादमा निर्वाचित सांसद् चौधरीमाथि कांग्रेसकै कार्यकर्ताले हातपात गरेका हुन् । उनलाई कार्यकर्ताले मञ्चबाट तल झारिदिएका छन् ।

आसन ग्रहणको क्रममा पार्टीका कनिष्ट नेताहरूलाई आसन ग्रहण गराएपनि सांसद् चौधरीलाई नगराएपछि वरिष्ठताको विवाद भएको थियो ।

त्यसपछि सांसद् चौधरीसहितका एक खेमाले कार्यक्रम बहिष्कार गर्दै राजविराजमा कांग्रेस सप्तरी सभापति दिनेश यादवविरुद्ध नाराबाजी गर्दै कारबाहीको माग गरेका थिए ।

विगतमा पनि जिल्ला सभापति यादवले पार्टीलाई एकलौटी बनाउन खोजेको र त्यसको विरोध गर्दा नै आफूमाथि सामान्य विषयमा उनले नै हातपात गराइएको दाबी सांसद् चौधरीले गरेका छन् ।

कार्यक्रमस्थलबाट आधा सहभागी बहिष्कार गरेर बाहिरिएपछि बाँकी रहेका कार्यकर्तामाझ जागरण सभा सम्पन्न गरिएको थियो ।

सभापति यादवले भने आरोप अस्वीकार गरेका छन् । उनले संसद चौधरीले नै कार्यकर्तालाई गाली गरेको आरोप लगाएका छन् ।

Published : Wednesday, 2019 September 25, 8:31 am

फेसबुकबाट तपाईको प्रतिक्रिया