कम्युनिस्ट अधिनायकवादसँग लड्न हामी एक बनौँः अम्बिका बस्नेत

भक्तपुर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री अम्बिका बस्नेतले दुईतिहाइको बलियो कम्युनिस्ट सरकारले जनअपेक्षा अनुसार मुलुकलाई सही दिशा दिन नसकेको बताएकी छिन् ।

नेपाली कांग्रेस जिल्ला कार्य समिति भक्तपुरले मंगलबार आयोजना गरेको राष्ट्रिय जागरण अभियान दोस्रो चरणको समापन तथा बिरोध कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारको गतिविधि संविधान र संघीयता विरोधी भएको बताइन् । उनले सरकारले काम गर्ने ठोस योजना पनि प्रस्तुत गर्न नसकेको बताइन् ।

शान्ति सुव्यवस्था कायम हुनुको बदला मुलुकमा हत्या, हिँसा, बलात्कार, भ्रष्टाचारका घटना बृद्धि भएको उनको भनाई थियो ।

नेतृ बस्नेतले वर्तमान सरकारका गलत कामको विरोध गर्नुपर्ने बेलामा आन्तरिक कलहमा नफसी एकताबद्ध भएर अघि बढ्नुपर्ने बताइन् ।

चुनावको बेलामा देशलाई आर्थिक समृद्ध दिने घोषणा गरेको कम्युनिष्ट सरकारले अहिले जनतालाई करको भार थोपार्नु बाहेक अन्य कुनै महत्वपूर्ण काम गर्न नसकेको आरोप लगाइन् ।

उनले जहिले कांग्रेस कमजोर भयो तहिले लोकतन्त्र कमजोर भएको बताउँदै पार्टीलाई बलियो बनाउन विधान सम्मत जानुपर्ने उल्लेख गरिन् ।

कार्यक्रममा आमन्त्रित केन्द्रीय सदस्य रमा पौडेलले जागरण अभियानले पार्टीलाई एक ढिक्का पार्न र जनसमुदायमा घुलमिल हुन बल पुगेको बताइन् ।

कांग्रेसका केन्द्रीय प्रतिनिधि कन्चनचन्द्र बादे, लोकेश ढकाल, होमराज दाहाल, समिता खड्गी, नेपाली कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापा, तरुण दलका पूर्वअध्यक्ष विनोद कायस्थ, जिल्ला सचिव निशान ढुंगेल, कोषाध्यक्ष बिजेश अवाल, क्षेत्र नं. १ का सभापति जीवन खत्री, २ का सभापति नारायाणभक्त खायमली लगायतले कांग्रेस गुट उपगुट नभनी एकजुट भएर अघि बढे कसैले पराजित गर्न नसक्नेमा जोड दिए ।

कांग्रेसले महँगी, भ्रष्टाचार, महिला हिंसा, बलात्कार, हत्या, अलोकतान्त्रिक बिधेयक, कम्युनिष्ट सरकारको कुशासन र स्थानीय सरकारले बढाएका अत्याधिक कर र शुल्कका बिरुद्ध बिरोध सभाको आयोजना गरेको जनाएको छ ।

Published : Tuesday, 2019 September 24, 11:57 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया