जागरण अभियानलाई ‘नाैटंकी’ भन्ने शाहीलाई आसन ग्रहण गराएपछि खैलाबैला, रिसाए देउवा

काठमाडौं । नेपाल तरुण दलको कारबाहीमा परेका महासचिव भुपेन्द्रजंग शाहीलाई आफू सहभागी भएको औपचारिक कार्यक्रमको मञ्चमा आसन गराएको भन्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आक्रोश पोखेका छन् ।

नेपाल विद्यार्थी संघका पूर्वअध्यक्ष नैनसिंह महरको किताव विमोचन कार्यक्रममा सोमबार काठमाडौंको राष्ट्रिय सभा गृहमा आयोजित कार्यक्रममा महासचिव पदबाट बर्खास्तमा परेका शाहीलाई मञ्चमा आसन ग्रहण गराएपछि देउवा रिसाएका हुन् ।

सभापति देउवाले तरुण दलले कारबाही गरेको व्यक्तिलाई किन मञ्चमा आसन ग्रहण गराएको भन्दै नेविसंघका पूर्वअध्यक्ष महरसँग रिसाएका थिए ।

‘यसलाई तरुण दलले कारबाही गरेको छ । कारबाही गरेको व्यक्तिलाई किन आसन ग्रहण गराएको ? भनेर सभापतिज्यूले आक्रोश पोख्नुभयो’, मञ्चमा रहेका एकजना नेताले भने, ‘परिस्थिति झण्डै उत्तेजित हुन पुगेको थियो ।’

सभापति देउवाले आपत्ति जनाउँदा पनि शाही मञ्चमै बसिरहेका थिए ।

नेविसंघको पूर्वअध्यक्ष महरले सभापति देउवासँग आफूलाई नेविसंघको अध्यक्ष पदबाट हटाएको झोँकमा शाहीलाई एउटै मञ्चमा राखेर पुरानो बदला लिएका छन् । महरले देउवा समूह छाडेका छन् । पछिल्लो समय महर र शाही नजिकिदै गएका छन् ।

शाहीलाई नेपाल तरुण दलको विधान विपरितका काम गरेको भन्दै अध्यक्ष जितजंग बस्नेतले कुनै पनि पदमा नरहने गरी कारबाही गरेर तरुण दलबाट निस्कासित गरेका छन् ।

अध्यक्ष बस्नेतले शाहीलाई तरुण दलको विधानको परिच्छेद १० को धारा ४४ को व्यवस्थाअनुसार कारबाही गरेका थिए ।

शाहीले नेपाली कांग्रेसले भदौ २४ गते देशभरि एकसाथ दोस्रो चरणको हिमाल, पहाड, तराई–मधेस राष्ट्रिय जागरण अभियानको उद्घाटन गर्दै गर्दा काठमाडौंका केही अनलाइनमार्फत ‘राष्ट्रिय जागरण अभियान नौटंकी हो’ भनेर टिप्पणी गरेका थिए ।

उनको यो टिप्पणीले नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरू आक्रोशित भएका थिए ।

Published : Tuesday, 2019 September 24, 12:21 am

फेसबुकबाट तपाईको प्रतिक्रिया