ओली सरकारले भ्रष्टाचारका ठूला काण्ड मच्चायोः देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दुईतिहाइको बलियो कम्युनिस्ट सरकारका प्रधानमन्त्री खड्गप्रसाद ओली स्वयं लोकतान्त्रिक प्रणालीलाई कमजोर बनाउन लागेको बताएका छन् ।

काठमाडौंमा सोमबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले कानूनका माध्यमबाटै राज्य प्रणालीलाई कमजोर बनाउन प्रधानमन्त्री ओली लागेको बताए ।

‘प्रजातान्त्रिक मुलुकमा स्वतन्त्र मानव अधिकारको व्यवस्था, निर्बाध लेख्ने, अभिव्यक्त गर्ने स्वतन्त्रता हुन्छ तर ओली नेतृत्वको सरकारले पत्रकारलाई बोल्नसमेत नदिने गरी कानून बनाउन खोज्दै छ’, उनले भने, ‘स्वतन्त्र मानवअधिकार जस्तो निकायलाई नियन्त्रण गर्न खोज्दै छ ।’

उनले भने, ‘यसका विरुद्ध हामी सदनमा मात्रै होइन, सडकमा पनि आन्दोलन गर्छौं ।’

बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणको जिम्मा सरकारले चिनियाँ सरकारको स्वामित्वको चाइना गेजुवा वाटर एन्ड पावर ग्रुप कम्पनीलाई दिएको छ ।

नेपाली कांग्रेसका सभापति देउवाले आर्थिक चलखेलकै आधारमा सरकारले प्रतिस्पर्धाबिनै आयोजना उक्त कम्पनीलाई दिएको आरोप लगाएका छन् ।

‘जहाँ बिनाप्रतिस्पर्धा दिइन्छ, त्यहाँ भ्रष्टाचार भयो–भयो’, देउवाले भने, ‘बिनाप्रतिस्पर्धा यस्ता ठूला आयोजना संविधानले समेत दिन मिल्दैन । सरकारले शून्य सहनशीलताको कुरा गर्छ । तर व्यवहारमा ठूलो भ्रष्टाचार गरिरहेको छ ।’

देउवाले विना प्रतिस्पर्धा मेलम्ची खानेपानी आयोजनाको काम ठेक्कामा दिएर सरकारले ठूलै आर्थिक चलखेल गरेको पनि आरोप लगाएका छन् ।

विना प्रतिस्पर्धा अघि बढाउन नमिल्ने ती आयोजना अघि बढाएबाट यसमा आर्थिक चलखेल भएको देउवाको भनाइ थियो ।

ओली सरकारले शून्य सहनशीलताको कुरा गरेर मुलुकलाई भ्रष्टाचारको काण्डैकाण्डमा डुबाएको बताए ।

नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइरालाले ओली सरकारका जनविरोधी कामको विरोध गरे ।

उनले पार्टीलाई अघि बढाउन पार्टीभित्रको एकताको आवश्यक्ता रहेको बताए । डा.कोइरालाले पार्टी सभापति देउवालाई मात्रै गाली गरेर पार्टीलाई अघि बढाउन नसकिने बताएका छन् ।

महामन्त्री डा.कोइरालाले नेकपा नेतृत्वको वर्तमान सरकारले गरेका काम र पार्टी नेतृत्वको विगतका सरकारले गरेका कामको पनि तुलनात्मक अध्ययन हुने बताए ।

Published : Monday, 2019 September 23, 11:29 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया