खतिवडाद्वारा कथित राष्ट्रवादी कम्युनिस्ट सरकारको अर्काे हर्कतकाे भण्डाफोर

भरतपुर । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले विभिन्न बहानामा दुईतिहाइको बलियो कम्युनिस्ट सरकारले विदेशी हस्तक्षेप भित्र्याएको भन्दै आक्रोश व्यक्त गरेका छन् ।

चितवनको भरतपुरमा सोमबार आयोजित नेपाली कांग्रेसको हिमाल, पहाड, तराई–मधेस राष्ट्रिय जागरण अभियान कार्यक्रमलाई सम्बोधन गर्दै खतिवडाले कथित राष्ट्रवादी दुईतिहाइको कम्युनिस्टहरूलाई आफ्नो हैसियतमा बस्न चेतावनी दिए । ‘हामी कुनै पनि विदेशीको राजनीतिक हस्तक्षेप चाहँदैनौँ’, उनले भने, ‘विभिन्न बहानमा चिनियाँ हस्तक्षेप बढ्न थालेको छ । यो मुलुकका लागि हितकर छैन ।’

भारतलाई गाली गरेर कथित राष्ट्रवादी छवि बनाएका खड्गप्रसाद ओलीले आफ्नो पदीय हैसियत भुलेर चिनियाँ कम्युनिस्ट पार्टीको पोलिट ब्युरो सदस्यले जस्तो हर्कत देखाएको नेपाली कांग्रेसका पूर्वसांसद खतिवडाले आरोप लगाए ।

नेपालमा हुने कुनै पनि विदेशीहरूको राजनीतिक हस्तक्षेप मान्य नहुने उनले बताएका छन् ।

‘चीन, अमेरिका, भारत वा अन्य कुनैपनि देशको राजनीतिक हस्तक्षेप नेपाल र नेपालीका लागि सैह्य छैन’, खतिवडाले चेतावनी दिँदै भने, ‘पीँध नभएका नेपालका कम्युनिस्टहरूले चीनबाट कम्युनिस्ट नेताहरू झिकाएर देशमा राजनीतिक हस्तक्षेप भित्र्याएका छन् । उनीहरूका लागि यो कुरा जायज भए पनि नेपाली जनतालाई कुनैपनि हालतमा सैह्य छैन ।’

चीनमा राष्ट्रपति सी जिनपिङको शासन चलेपनि नेपालमा नचल्ने उनले बताए । ‘अहिलेका राष्ट्रवादी ओली सरकारले चीनको कुरा लागू गर्न खोजेर निरंकुशताको अभ्यास गरेको छ’, उनले भने, ‘नेपालमा ओलीको कम्युनिस्ट सरकारले राजनीतिक हस्तक्षेप निम्ताउन खोजेको छ ।’

नेपाली कांग्रेसका नेता खतिवडाले खड्गप्रसाद ओलीलाई चिनियाँ कम्युनिस्ट पार्टीको पोलिट ब्युरो सदस्य हो र ? भनेर प्रश्न गरेका छन् । ‘चीनको हस्तक्षेप बढ्नु राम्रो होइन’, उनले भने, ‘नेकपाबाट निर्वाचित मेयरहरूलाई चीनमा पढ्न पठाएर राष्ट्रवादी सरकारले आफ्नो छविलाई उदाङ्गो बनाएको छ ।

Published : Monday, 2019 September 23, 11:12 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया