जनतासँग चर्को कर उठाएर राज्यले व्यापार गर्ने होइनः बालकृष्ण खाँण

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले राज्यले लगानी गरेर आफै उद्योग चलाउनुभन्दा पनि निजी क्षेत्रलाई त्यसमा सहभागी गराउनुपर्ने बताएका छन् ।

काठमाडौंको भृकुटीमण्डपमा जारी रहेको नेपाल धागो उत्पादक संघले आयोजना गरेको नेपाली उत्पादनका कपडा र सामानहरूको प्रदर्शनीको आइतबार अवलोकनपछि पत्रकारहरूसँग कुरा गर्दै खाँणले नेपाली कांग्रेसले निजी क्षेत्रलाई प्रोत्साहन दिन सधैँ दुई कदम अगाडि रहेको बताए ।

नेपाली कांग्रेसको उदार अर्थनीतिका कारण अहिले नेपालमा निजी क्षेत्रले कपडादेखि हरेक उत्पादनहरू गरेर विदेश निर्यातदेखि स्वदेशमा खपतको वातारण बनाएको उनले बताए ।

नेपाली कंग्रेसले उद्योगहरू बेचेको भनेर आरोप लागिरहेको छ नि ? भन्ने प्रश्नको जवाफमा प्रमुख सचेतक खाँणले भने, ‘जनतासँग कर उठाएर घाटा लाग्ने उद्योग राज्यले चलाउन हुँदैन । कांग्रेसको पालामा ती घाटा लागेका उद्योग निजीकरण गरेपछि निजी क्षेत्र बलियो भएर आयो ।’ जनतासँग उठाइएको चर्को कर जनताको शिक्षा, स्वास्थ्य र देशको विकासमा लगाउनुपर्ने उनले बताए ।

उनले निजी क्षेत्र जान नसक्ने ठाउँमा मात्रै राज्यले लगानी गर्नुपर्ने बताए । ‘निजी क्षेत्रलाई बढावा दिने हो भने राजश्व, रोजगारी आफै सिर्जना भएर जान्छ’, उनले भने, ‘बरु अहिलेको सरकारले पनि कसरी निजी क्षेत्रलाई लगानी मैत्री वातावरण बनाउने हो त्यसमा ध्यान दिन जरुरी छ ।’

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री माृतका यादवले उद्योगी व्यवसायीहरूको पक्षमा सरकार रहेको बताए ।

उनले व्यवसायीहरूलाई सहज होस् भनेर आफ्ना सामानको जानकारी अनलाइनमा राख्नुपर्ने व्यवस्था गरिएको बताए ।

‘अनलाइनमा जानकारी राख्ने व्यवस्था केही समस्या भए जस्तो देखिए पनि त्यो राम्रो कुरा हो’, मन्त्री यादवले भने, ‘केही समस्या छ भने त्यसलाई सरोकारवालाहरूबीच परामर्श गरेर सुधार गर्न सकिन्छ ।’

नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले सरकारले उद्योग चलाउँदा कति घाटा हुन्थ्यो भन्ने कुरा निजी क्षेत्रले लगानी गरेको विषयले नै पुष्टि गरेको बताए ।

‘सरकारले उद्योग चलाउने होइन । व्यापार गर्ने होइन, कांग्रेसले निजीकरणलाई महत्व नदिएको भए निजी क्षेत्र अगाडि आउने थिएन’, उनले भने, ‘कांग्रेसले जुत्ताकारखाना बेचेपछि निजी क्षेत्रका सहयोगमा नेपाल जुत्तामा आत्मनिर्भर भएको छ । बैंक, स्कुल, कलेज, मेडिकल कलेज आदि क्षेत्र खुलेका छन् । रोजगारी सिर्जना भएको छ । अर्बौं राजश्व उठेको छ ।’

काठमाडौंको भृकुटीमण्डपमा नेपाली उद्योगहरूमा उत्पादन भएका कपडादेखि अन्य उत्पादनहरू प्रदर्शनीमा राखिएको छ । शुरूको दिन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रदर्शनीको अवलोकन गरेर उद्योगी व्यवसायीहरूको हौसला बढाइदिएका थिए ।

Published : Monday, 2019 September 23, 11:00 am

फेसबुकबाट तपाईको प्रतिक्रिया