सिन्धुपाल्चोकमा ओली–दाहालका नेताहरू कांग्रेसमा प्रवेश, कम्युनिस्टविरुद्ध उर्लिए जनता
बाह्रबीसे । नेपाली कांग्रेसका युवा नेता मीनकृष्ण महर्जनले कम्युनिस्टहरूको हर्कत, ज्यादती, महँगी र चरम भ्रष्टाचारले गर्दा जनतामा वितृष्ण उत्पन्न भएको बताएका छन् ।
सिन्धुपाल्चोक जिल्लाको क्षेत्र नम्बर १ ‘क’मा केन्द्रीय प्रतिनिधिका रुपमा खटिएका युवा नेता महर्जनले चाकुबजारमा आइतबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै झण्डै दुईतिहाइको बहुमत दिएका मतदाताहरूनै नेपाल कम्युनिस्ट पार्टी (नेकपा)सँग आजित भएको बताए ।
कम्युनिस्ट कार्यकर्ता र नेताहरू कमाउ धन्धामा लागेका कारण जनतामा वितृष्ण भएको उनले बताए ।
वितृष्णाकै कारण लोकतान्त्रिक पद्धतिमाथि संकट आउने हो कि भनेर आशंका उत्पन्न हुने थालेको युवा नेता महर्जनले बताए । ‘कम्युनिस्टहरूका कारण निरासा भएपनि व्यवस्थालाई कुनै असर पर्न दिनु हुँदैन’, उनले भने, ‘अब कांग्रेसले जनताको निरासालाई आशामा बदल्नुपर्छ ।’
कम्युनिस्टले जनतालाई धोका दिएका कारण नेपाली कांग्रेसप्रति देशभरि आकर्षण बढेको उनले बताए । ‘कम्युनिस्ट पार्टीका नेता तथा कार्यकर्ताहरू कांग्रेसमा प्रवेश गरिरहेका छन्’, उनले भने, ‘प्रहिलो चरणको राष्ट्रिय जागरण अभियानमा पनि कम्युनिस्टका ३० हजार कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका थिए । दोस्रो चरणको कार्यक्रममा पनि त्यस्तै उत्साह देखिएको छ ।’
तानाशाह कम्युनिस्टहरूका कारण लोकतान्त्र खतरामा परेको महर्जनले बताए । ‘लोकतान्त्र जोगाउन पनि नेपाली कांग्रेसले राष्ट्रिय जागरण शुरु गरेको हो’, युवा नेता महर्जनले भने, ‘अर्को निर्वाचनमा कम्युनिस्टहरू ईण्डियामा पत्तासाफ भए जस्तै नेपालमा पनि पत्तासाफ हुनेछ ।’
नेपाली कांग्रेसका युवा नेता महर्जनले नेपाली जनताहरूले निर्धक्कले आफ्नो जीवनयापन गर्न पाउने र नेपाली जनताहरूले सुख, शान्तिले बस्न पाउने अवस्था कांग्रेसले मात्रै गर्न सक्ने बताए ।
युवा नेता महर्जनले कम्युनिस्टका कार्यकर्तालाई कांग्रेसमा प्रवेश गराउन प्रमुख भूमिका निर्वाह गर्ने चाकुबजार वडा नम्बर ५ का कांग्रेसका इकाई सभापति पासाङ लामाको निकै प्रशंसा गरेका थिए ।
नेपाली कांग्रेस केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले सिन्धुपाल्चोक जिल्लाका जनताहरूको जीवनस्तर उन्नति सुधार गर्न आफूले मात्रै गर्न सक्ने बताए ।
नेता बस्नेतले कम्युनिस्ट पार्टीबाट कांग्रेसमा प्रवेश गर्नेहरूलाई आफूले पार्टीमा क्षमताअनुसार जिम्मेवारी दिने र संरक्षण गर्ने समेत बताएका छन् ।
नेता बस्नेतले सिन्धुपाल्चोक जिल्लामा कम्युनिस्टले जितेका कारण विकासमा पछाडि परेको भन्दै अबका दिनमा कम्युनिस्टहरूलाई जनताले मतदान नगर्ने दाबी गरे । उनले भने, ‘अब नेपाली कांग्रेस सिन्धुपाल्चोकमा मात्रै होइन पूरै देशभरि जितेर आउँछ ।’
कार्यक्रममा हाँस्य कलाकारहरू शिवहरि नेपाल ‘बैरागी’, दमन रुपाखेती, शशिकला मोक्तान, सिर्जना खत्री र पुसन लामाले आ–आफ्ना प्रस्तुति दिएका थिए ।
यसैबीच, सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र राप्रपा छाडेर थुप्रै नेता तथा कार्यकर्ताहरू नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । उनीहरूलाई केन्द्रीय प्रतिनिधि महर्जन र केन्द्रीय सदस्य बस्नेतले नेपाली कांग्रेसमा भित्र्याएका छन् ।
नेकपा छाडेर नेपाली कांग्रेस प्रवेश गर्नेहरूमा नेकपाका सिन्धुपाल्चोकका जिल्ला सदस्य छोयल शेर्पा, राप्रपा जिल्ला नेता एवम् वडाध्यक्षका उम्मेदवार नोर्बु तामाङ, एमालेका पूर्ववडाध्यक्ष भीमबहादुर शेर्पा, वाईसीएलका जिल्ला कोषाध्यक्ष सुब्बा तामाङ, नेकपाकी क्षेत्रीय उपाध्यक्ष माया काइली तामाङ, नेकपाका ईकाइ सभापति दुन्दुप लामालगायत पचासभन्दा धेरै नेता तथा कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
नेपाली कांग्रेसमा प्रवेश गर्ने नेकपाका नेता तथा कार्यकर्ताहरूले नेकपाका अध्यक्ष एवम् प्रधानमन्त्री खड्गप्रसाद ओली र पुष्पकमल दाहालले धोका दिएका कारण पार्टी छाडेको बताएका थिए । उनीहरूले नेकपामा कुनै पनि सिद्धान्त नरहेको भन्दै जनतालाई कर लगाएर दुःख दिनेहरूको पछाडि नलाग्ने बताए ।

बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया