खतिवडाको प्रश्न, ‘निःशुल्क भन्ने, व्यवसायीहरूलाई दुई करोडको भारी किन ?’
काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले वैदेशिक रोजगारीमा निःशुल्क पठाउने हो भने वैदेशिक रोजगार व्यवसायीहरूलाई दुई करोडको भारी किन बोकाएको हो भनेर दुईतिहाइको बलियो कम्युनिस्ट सरकारसँग प्रश्न गरेका छन् ।
काठमाडौंको सामाखुसीमा नेपाली कांग्रेस निकटको नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरम निकटका उम्मेदवारहरूले आइतबार आयोजना गरेको भेलालाई सम्बोधन गर्दै खतिवडाले व्यवसायीहरूलाई दुई करोड रुपियाँ रकम धरौटी राख्न लगाएर अन्याय गरेको बताए ।
‘तपाई व्यवसायीहरूले दुई करोड रुपियाँ धरौटी राख्नुपर्छ भने मन्त्रीहरूले पनि प्रधानमन्त्री समक्ष धरौटी राख्नुपर्छ’, उनले भने, ‘किन राख्न लगाइयो यो सरकारलाई म प्रश्न गर्न चाहन्छु ।’
वर्तमान कम्युनिस्ट सरकारले विभिन्न बहानामा वैदेशिक रोजगार व्यवासयीहरूलाई दुःख दिएको भन्दै नेपाली कांग्रेसका युवा नेता खतिवडाले यस पटक सत्ताको पछाडि लागेर व्यवसायीहरूलाई तनाव दिनेहरूलाई सबक सिकाउन सुझाव दिए ।
‘तपाईहरूलाई आक्रमण गर्ने, अफ्ठ्यारो पर्दा फेरि पुलिसलाई गुहार्ने, भोट माग्ने बेलामा हामी नै सरकारमा हुन्छौँ हामीलाई नै दिनुस् भन्ने । यस पटक तपाई वैदेशिक रोजगार व्यवसायीहरूलाई सुअवसर छ’, उनले भनेका छन्, ‘सत्तामा रहेका तपाईहरूले हामीलाई छातीमा बन्दु, मुठी, लाठी बर्जानुभयो । हामी तपाईहरूका विरुद्ध भोट बजारेर जिताउँछौँ भन्नुपर्छ । लोकतान्त्रिक समूहलाई भोट दिएर जिताउनुहोस् ।’
नेपाली कांग्रेस निकटका व्यवसायीहरूलाई काम गरेर देखाउने राम्रो अवसर आएको भन्दै मतदाता व्यवसायीहरूलाई विष्णु गैरे नेतृत्वको लोकतान्त्रिक समूहलाई जिताउन अपील गरे ।
नेपाली कांग्रेसका नेता खतिवडाले वैदेशिक रोजगारीको वातावरण बनाउने भनेर कम्युनिस्ट सरकारले भनिरहेका बेला वैदेशिक रोजगार व्यवसायीहरूलाई दुःख दिइरहेको बताए ।
उनले यस्ता खालका समस्या दिएर व्यवसायीहरूलाई तनाव नदिन दुईतिहाइको बलियो कम्युनिस्ट सरकारलाई चेतावनी दिएका छन् ।
‘सत्ताका दास र मलामीहरूलाई होइन तपाईहरूको अवाजलाई बुलन्द गर्ने प्रजातान्त्रिक समूहलाई जिताउनुस्’, खतिवडाले अपील गर्दै भने, ‘असोज ७ गते बेलुका विष्णु गैरे समूहलाई जसरी पनि जिताउनु होला । तपाईहरूको पछाडि नेपाली कांग्रेसको साथ छ ।’
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया