प्रदेश १ को कम्युनिस्ट सरकारले देख्यो कांग्रेसको पावर
विराटनगर । प्रदेश १ को प्रदेशसभा बैठक प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले बुधबार पनि अवरुद्ध गरेको छ ।
प्रदेशसभामा मनमोहन प्राविधिक विश्वविद्यालय सम्बन्धमा व्यबस्था गर्न बनेको विधेयक कार्यसूचीमा राखेपछि कांग्रेसले लगातार दोस्रो दिन बैठक अवरुद्ध गरेको हो ।
बुधबारको बैठक अवरुद्ध भएपछि अर्को बैठक असोज ५ गतेका लागि बोलाइएको छ ।
प्रदेशको कम्युनिस्ट सरकारले मनमोहन प्राविधिक विश्वविद्यालयसम्बन्धी विधेयक जसरी पनि यही अधिवेशनबाट पारित गर्ने अडान लिएको छ ।
प्रतिपक्षी दल नेपाली कांग्रेसले उक्त विधेयकका केही प्रावधान नसच्याएसम्म पारित गर्न नदिने अडान लिएको छ ।
विधेयक प्रदेशसभाको सामाजिक विकास समितिबाट पारित भई संसदमा पेश गर्ने तयारी छ ।
समितिमा नेपाली कांग्रेसले फरक मत राखेको छ । समितिबाटै रोक्ने प्रयासमा रहेको कांग्रेसले फरक मत राख्दै अन्तिममा निर्णय प्रक्रियामा सामेल भएको थियो ।
नेपाली कांग्रेसले विधेयकमा समावेश गरिएको बोर्ड अफ गभर्नस नियुक्ति प्रक्रिया र मनमोहन पोलिटेक्निक कलेजका सञ्चालकलाई संरक्षक बनाउने लगायतका प्रावधानमा असहमति जनाउँदै आएको छ ।
बहुमतका आधारमा समितिले प्रतिवेदन पारित गरेको मनमोहन विश्वविद्यालयसम्बन्धी विधेयक संसदबाट पनि बहुमतकै आधारमा पारित गर्ने नेकपाको तयारी छ ।
सामाजिक विकासमन्त्री जीवन घिमिरेले भने प्रतिपक्षलाई पनि साथमा लिएर सहमतिको आधारमा विधेयक पारित हुने दाबी गरेका छन् ।
नेपाली कांग्रेसले सदन अबरुद्ध पार्ने कामले निरन्तरता दिएपछि विवादका विषयमा सहमति खोज्न भन्दै सभामुख प्रदीपकुमार भण्डारीले पाँच दिनपछि मात्र बैठक राखेका छन् ।
चार दिनभित्र सहमति नजुटे संसदीय प्रक्रिया अनुसार विधेयक अगाडि बढाउने उनले चेतावनी दिएका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया