टानमा कांग्रेससँग हारे नेकपाका उम्मेदवारहरू, योगेश भट्टराईलाई तनाव
काठमाडौं । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)मा नेपाली कांग्रेस निकटका उम्मेदवारहरूले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकटका उम्मेदवारहरूलाई लज्जास्पद हारको स्वाद चखाइदिएका छन् ।
नेकपा निकटका उम्मेदवारहरूलाई नेपाली कांग्रेस निकटका उम्मेदवारले धुलो चटाएका छन् ।
शनिबार बिहान सम्पन्न मतगणनामा अधिकांश पदमा नेपाली कांग्रेस निकटका उम्मेदवारहरू विजयी भएका छन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई, नेकपका नेताहरू घनश्याम भुषाल र मुकुन्द न्यौपानेसहितकाले आफ्नो दल निकटका उम्मेदवारहरूको लागि भोट मागेका थिए । उनीहरूले भोट माग्दा पनि काम लागेन । कांग्रेसले नेकपाका उम्मेदवारहरूलाई भारी मतले हराइदिएका छन् ।
मतपरिणाम अनुसार अध्यक्षमा नेपाली कांग्रेसका खुमबहादुर सुवेदी विजयी भएका छन् ।
अध्यक्षका अर्का प्रत्यासी नेकपाका अञ्जन थापा ‘कुमार’लाई ८३ मतले पराजित गर्दै सुवेदी विजयी भएका हुन् ।
सुवेदीले ५ सय २१ मत ल्याएर विजयी भएका हुन् । पराजित थापाले ४ सय ३८ मतमात्रै प्राप्त गरेका छन् ।
महासचिवमा भने नेकपाकी सरिता लामा १३ मतको झिनो मतान्तरले विजयी भएकी छिन् । लामाले अर्का प्रत्यासी कांग्रेसका कर्मा शेर्पालाई पराजित गर्दै विजयी भएकी हुन् ।
नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा नवीन त्रिताल, प्रथम उपाध्यक्षमा चोलेन्द्रबहादुर कार्की, द्वितीय उपाध्यक्षमा भरत सापकोटा, कोषाध्यक्षमा ऋतु ग्याम्दान र सहकोषाध्यक्षमा सूर्यकुमार श्रेष्ठ निर्वाचित भएका छन् । निर्वाचित उनीहरू सबै नेपाली कांग्रेस निकटका अर्थात सुवेदी समूहका उम्मेदवार हुन् ।
सचिवमा एक जना थापा समूहका दामोदर ढकाल निर्वाचित भएका छन् ।
महिला सदस्यमा नेकपा निकटकी ङिमादिकी शेर्पा निर्वाचित भएकी छिन् ।
सदस्यमा नेकपाबाट पाँच जना ठाकुर सापकोट, प्रेमबहादुर लामा, मिङमा तेन्जिङ शेर्पा, रामबहादुर गुरुङ विजयी भएका छन् ।
नेपाली कांग्रेस निकटबाट सदस्यहरूमा सनम शेर्पा, कान्छा शेर्पा, सिम्बर घले तथा सोनाम ग्याल्जेन शेर्पा विजयी भएका छन् ।
टानमा १ हजार ३ सय १९ मतदाता रहेकोमा जम्मा ९ सय ८१ मत खसेको थियो ।

बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया