गाउँमा यसरी जाँदै छ कांग्रेस, कार्यक्रम देखेर दङ्ग परे कम्युनिस्टहरू

काठमाडौं । नेपाली कांग्रेसले जननायक वीपी कोइरालाको १०६ औं जन्म जयन्ती अवसर पारेर भदौ २४ गतेदेखि ‘हिमाल, पहाड, तराई–मधेश (हिपतम) जागरणको दोस्रो चरणको अभियान’ घोषणा गरेको छ ।

कांग्रेसको यो घोषणासँगै नेता तथा कार्यकर्तामा उत्साह थपिएको छ । नेपाली कांग्रेसले यस पटक गाउँमा कार्यकर्ताको घरघरमा पुग्ने गरेर कार्यक्रम बनाएको छ । कार्यक्रमका लागि केन्द्रबाट प्रतिनिधिहरू तोकिनेछ ।

कांग्रेसको उद्देश्य

‘हिपतम’ जागरण अभियानको प्रथम चरणका क्रममा घोषित १५ वटा उद्देश्यको परिमार्जित र सामयिक विषय दोस्रो चरणको अभियान समेतको उद्देश्य हुनेछ । जो यसै सँग संलग्न गरिएको छ ।

केन्द्रित क्षेत्र र केन्द्रीय प्रतिनिधि

‘हिपतम’ जागरण अभियानको प्रथम चरणमा नेपाली कांग्रेस केन्द्रीय समितिले ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि पठाएको थियो । दोस्रो चरणमा पूर्व घोषणा अनुरूप ३३० प्रदेश सभा निर्वाचन क्षेत्र केन्द्रित अभियान सम्पन्न गरिनेछ । जस अनुरूप हरेक क्षेत्रमा एकका दरले ३३० केन्द्रीय प्रतिनिधि खटिनेछन् ।

समयावधि

‘हिपतम’ जागरण अभियानको प्रथम चरण वैशाख २५ मा प्रारम्भ भई जेठ २५ मा समापन भएको थियो । एक महिने प्रथम चरण पश्चात दोस्रो चरण पन्ध्र दिने रहेको छ । भदौ २४ गते प्रारम्भ हुने दोस्रो चरण असोज ७ गते समापन हुनेछ ।

दोस्रो चरणको कार्यक्रम स्वरूप

‘हिपतम’ जागरण अभियानको दोस्रो चरणका कार्यक्रमहरू प्रथम चरणका कार्यक्रमहरू झैं छरीतो स्वरूपमा हुनेछन् ।

– आसन ग्रहणको निश्चित संख्या (१ मिनेटभित्र आसन ग्रहण सकिने गरी)

– ठूला (केजीमा तौलिने) माला एवं व्याज रहित

– वक्ता सिमित संख्या

– बढी अन्र्तक्रियात्मक (अभियानको दोस्रो चरणमा पार्टीका नेता एवं प्रतिनिधिहरूले बोल्ने कम सुन्ने बढी प्रकृतिका कार्यक्रम निर्धारित छन् । सभा केवल एउटा तय गरिएको छ अन्तिम दिन असोज ७ गते जिल्ला स्तरीय) ।

भदौ २४ गते, प्रथम दिन, उद्घाटन कार्यक्रम

‘हिमतप’ जागरण अभियानको प्रथम चरणको उद्घाटन समारोह मञ्च केन्द्रित संक्षिप्त समारोहका साथ भएको थियो । दोस्रो चरणको उद्घाटन समारोह त्यसभन्दा भिन्न र अझै छरितो ढंगले सम्पन्न हुनेछ ।

जननायक वीपी कोइरालाको १०६ औं जन्म जयन्तीको प्रतीक स्वरूप १०६ विरूवा प्रत्येक प्रदेश सभा निर्वाचन क्षेत्रको निश्चित स्थलमा वृक्षारोपण गरेर दोस्रो चरणको ‘हिपतम’ जागरण अभियानको देशव्यापी रूपमा उद्घाटन गरिनेछ ।

यसरी एकै दिन ३४ हजार ९ सय ८० विरूवा रोपेर अभियानको प्रथम दिन पर्यावरणका लागि पार्टीका तर्फबाट योगदान पुर्‍याइनेछ ।

यद्यपि, वृक्षारोपणका लागि प्रतिकुल मौसम भएका कतिपय क्षेत्रमा उद्घाटनका दिन निश्चित स्थलमा रूख विरूवाको गोडमेल, घेराबारा या अनुकुलताका यस्तै रचनात्मक कार्य हुनेछन् ।

विपीको तस्वीरमा माल्र्यापण गरेर १ मिनेटको मौनधारण पश्चात वृक्षारोपण प्रारम्भ हुनेछ ।

बोल्ने कम सुन्ने बढी

केन्द्रीय तहबाट अभियान क्रममा केवल एउटा मात्रै सभा निर्धारित गरिएको छ । असोज ७ गते अन्तिम दिन जिल्ला स्तरीय विरोध प्रदर्शन । त्यस बाहेक जागरण अभियानको यो चरणमा पार्टीका नेता एवं प्रतिनिधिहरूले बोल्ने भन्दा सुन्ने विषयलाई विशेष प्राथमिकतामा राखिएको छ ।

यद्यपि, स्थानीय आवश्यकता अनुरूप कतिपय कार्यक्रम तय गर्न तलका समितिहरूले सक्नेछन् ।

अभियानका क्रममा निम्न कार्यक्रमहरु हुनेछन्

विशेष सामाजिक संवाद

दुईतिहाईको कम्युनिष्ट सरकारले शासन सम्हालेको दुई वर्ष समेत पुग्नु अघि नागरिक पंक्तिमा सरकारप्रति आशा, विश्वास र भरोसा हट्दै गएर एक ढंगको वितृष्णा समाजमा बढ्दै गएको छ । अत यस्तो परिस्थितिमा जागरण अभियानको क्रममा नेपाली कांग्रेस देशव्यापी रूपमा समाजिक संवादमा सहभागी हुनेछ ।

यसक्रममा,

– नेपाली समाजका विभिन्न समुदाय, वर्ग, पेशा र क्षेत्रका दिदीबहिनी दाजुभाइ आजको समयमा कस्तो धारणा व्यक्त गर्नु हुन्छ, के भावना राख्नु हुन्छ ।

– आजको मितिमा उहाँहरूका ज्वलन्त प्रश्न, पिडा र अपेक्षा के छन् ।

– वर्तमान सरकारसँग उहाँहरूका अपेक्षा के थिए र आजको समयमा कस्तो परिणाम अनुभूति र समिक्षा गरिरहनु भएको छ ।

– आजको अवस्थाका सम्बन्धमा नेपाली कांग्रेससँग उहाँहरूका प्रष्ट अपेक्षाहरू के छन् ।

यस्ता प्रश्नमा स्थानीय तहमा गाउँ–नगर वडा स्तरीय सामाजिक संवाद कार्यक्रमहरू आयोजना हुनेछन् ।

सामाजिक विसंगति विरूद्ध जागरण

‘हिपतम’ अभियानको दोस्रो चरण क्रममा पार्टीको केन्द्रीय प्रतिनिधिहरूले सम्बन्धित प्रदेश सभा क्षेत्रभित्र कुनै पनि ढंगका सामाजिक विसंगतिका परम्परा, अन्धविश्वास र अप्रिय घटनाहरू भएका छन् वा छैनन् त्यसबारे आवश्यक छलफल र अध्ययन समेत गर्नु हुनेछ ।

अभियानका क्रममा बोक्सी प्रथा, दाइजोको निहुँमा भएका उत्पीडन, जातीय छुवाछुत र विभेद, बाल श्रम शोषण, घरेलु हिंसा, चेलिवेटी बेचबिखन, छाउपडि लगायत अन्य विसंगतिहरूका विरुद्ध आवश्यक चेतना अभिवृद्धिमा पार्टीको सहभागिता रहनेछ ।

युवा केन्द्रित विशेष संवाद

‘हिपतम’ जागरण अभियान क्रममा प्रत्येक प्रदेश सभा निर्वाचन क्षेत्रमा युवा केन्द्रित विशेष संवादको कार्यक्रम आयोजना गरिनेछन् ।

नेपाल विद्यार्थी संघ, नेपाल तरूण दल र नेपाल महिला संघ लगायत भातृ र शुभेच्छुक संस्थामा आवद्ध युवाहरू तथा अन्य असंगठित युवाहरूको देश, लोकतन्त्र र कांग्रेसको आजको सन्दर्भमा खुला विचारहरू कार्यक्रममा संकलन गरिनेछ ।

३३० प्रदेश सभा क्षेत्रमा औसत ३०० युवाका बीचमा वीपीको विचार र संस्कारलाई कार्यक्रम क्रममा सम्प्रेषण गर्दा समग्रमा १ लाख युवासँग संवाद र सम्प्रेषण पन्ध्र दिनको अवधिमा हुनेछ ।

युवा केन्द्रित विशेष संवाद जागरण अभियान क्रममा आवश्यकता अनुसार प्रदेश सभा क्षेत्र, गाउँ–नगर या वडा स्तरीय समेत हुनेछन् ।

वडास्तरीय अन्तरक्रिया

‘हिपतम’ जागरण अभियानको दोस्रो चरणको कार्यक्रमहरूमध्ये वडास्तरीय अन्र्तकृया पार्टी सुदृढीकरण र प्रभाव विस्तारका सन्दर्भमा गाउँ–गाउँमा रहेका साथीहरूको भावना बुझ्न महत्वपूर्ण रहनेछ ।पार्टीको यो आन्तरिक कार्यक्रम विषय प्रवेश लगत्तै ‘फ्लोर ओपन’ गरी सहभागिहरूको राय संकलन गरिनेछ ।

वडा संगठनको स्थिति समीक्षा, वडाको विकास निर्माणमा पार्टीको भूमिका, गाउँ–नगरपालिकाको कार्य समिक्षा तथा समग्रमा कांग्रेस सुदृढीकरणका लागि आवश्यक कार्यहरूबारे वडा स्तरीय विशेष छलफल हुनेछन् ।

अग्रज, शहीद परिवार र द्वन्द्व पीडितको आंगनमा

नेपालको लोकतान्त्रिक आन्दोलनको सफलता र नेपाली कांग्रेसको जिवन्तताका लागि पार्टीका सयौं अग्रजले महत्वपूर्ण योगदान गरेका छन् । कयौंले आफ्नो अमूल्य जीवन न्यौछावर गरेका छन् ।

‘हिपतम’ जागरण अभियानको दोस्रो चरणका क्रममा पार्टीका केन्द्रीय प्रतिनिधि र अन्य साथीहरू, यस्ता अग्रजहरु एवं शहीद परिवारप्रति श्रद्धा प्रकट गर्न उहाँहरूको घर आंगनमा पुग्ने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

द्वन्द्वकालका एवं विभिन्न आन्दोलनका घाइतेहरूको पीडा र आजको स्थिति बुझ्नपनि प्रतिनिधिहरू पुग्नेछन् ।

पार्टी प्रवेश अभियान

‘हिपतम’ जागरण अभियानको प्रथम चरणमा ३१ हजार ६४२ जना नेपाली कांग्रेसमा प्रवेश गरेका थिए ।

दोस्रो चरणमा योभन्दा ठूलो संख्या विभिन्न राजनैतिक दल परित्याग गरेर नेपाली कांग्रेसमा समाहित हुने देखिएको छ ।

अभियान क्रममा यसलाई प्राथमिकतामा राखिनेछ । नवप्रवेशी साथीहरूलाई उपयुक्त समयमा विशेष प्रशिक्षण प्रबन्ध गरिनेछ ।

स्थानीय तहको दुई वर्षे समीक्षा

स्थानीय तहको पछिल्लो चरणको निर्वाचन सम्पन्न भएको असोजको प्रथम साता दुई वर्ष पुग्दैछ । ‘हिपतम’ जागरण अभियानको दोस्रो चरण क्रममा स्थानीय सरकारहरूको दुई वर्षे समीक्षा पनि गरिनेछ ।

यसक्रममा नेपाली कांग्रेस पार्टीका तर्फबाट उम्मेदवार भई विजयी भएका भएका जनप्रतिनिधि एवं उम्मेदवारहरू तथा पार्टीको स्थानीय समितिहरूका बीच विशेष आन्तरिक बैठक आयोजना गरिनेछ । सँगैमा

१. कांग्रेसको नेतृत्व रहेका तहमा जनभावना अनुरूप अझ प्रभावकारी भूमिका कसरी निभाउने र निर्वाचित साथीहरूबीच पर्याप्त समन्वय र एकता कसरी बढाउने ।

२. कांग्रेस प्रतीपक्ष रहेका तहमा प्रतिपक्षको प्रखर भूमिका कसरी प्रभावकारी बनाउने । आदि विषयमा गहिरो विमर्श गरिनेछ ।

भिन्न समिति भिन्न जिम्मेवारी

‘हिमतम’ जागरण अभियानको दोस्रो चरण मूलत ३३० प्रदेश क्षेत्र केन्द्रित छ तर यसको नेतृत्व, तयारी र व्यवस्थापन क्रममा पार्टीका जिल्ला, प्रतिनिधिसभा क्षेत्र, प्रदेशसभा क्षेत्र, गाउँ–नगर र वडा समितिहरू सबैले फरक–फरक जिम्मेवारी सम्पादन गर्नेछन् ।

१. जागरण अभियानमा जिल्ला कार्यसमिति

जागरण अभियानका क्रममा पार्टीका सबै जिल्ला कार्यसमितिहरूले निम्न चार काममा आफूलाई केन्द्रित राख्नेछन् ।

(क) अभिलेख संकलनलाई गति

केन्द्रीय कार्यसमितिले मिति २२ फागुन ०७५ मा पठाएको परिपत्र बमोजिम जिल्ला समितिको बैठकले आवश्यक संयन्त्र निर्माण गरी क्षेत्र र गाउँ–नगर समितिहरूलाई समन्वय गरी अभिलेख संकलनलाई गति दिइनेछ ।

(ख) जिल्लाका सबै प्रदेश क्षेत्रमा युवा केन्द्रीत विशेष संवादको सहजीकरण ।

(ग) प्रदेश सभा क्षेत्रका जागरण कार्यक्रमहरूको आवश्यक समन्वय ।

(घ) असोज ७ गते अन्तिम दिन जिल्लास्तरीय विरोध प्रदर्शनको तयारी, व्यवस्थापन र नेतृत्व गर्ने ।

२. जागरण अभियानमा प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय समिति, प्रदेश सभा निर्वाचन क्षेत्रीय समिति, गाउँपालिका–नगरपालिका समिति र वडा समितिहरूले निम्न दायित्वलाई अभियान क्रममा आपसी समन्वयका साथ सम्पादन गर्नेछन् ।

(क) भदौ २४ को उद्घाटन समारोह ।

(ख) प्रदेश सभास्तरीय युवा केन्द्रीत विशेष संवाद ।

(ग) गाउँ–नगरस्तरीय ‘सामाजिक संवाद’ कार्यक्रम ।

(घ) स्थानीय तहमा विजयी र उम्मेदवार साथीहरू तथा पार्टीबीच छलफल ।

(ङ) वडास्तरीय विशेष अन्र्तक्रिया कार्यक्रम

(च) पार्टी प्रवेशका कार्यक्रमहरू

(छ) असोज ३ गते संविधान दिवसका कार्यक्रमहरू ।

(असोज ७ गते जिल्लास्तरीय प्रदर्शनमा सबै तहको एकीकृत सहभागिता)

जागरण अभियानमा भातृ र शुभेच्छुक संस्थाहरू

१. ‘हिपतम’ जागरण अभियानका क्रममा पार्टीको भातृ र शुभेच्छुक संस्थाहरूले अभियान सफल बनाउन तोकिएका कार्यक्रमहरूमा आफ्नो संयन्त्र परिचालन गर्नेछन् । जागरणका अन्य कार्यक्रममा सहभागिता बाहेक भातृ र शुभेच्छुक संस्थाको विशेष तयारी असोज ७ गतेको प्रर्दशनको व्यापकताका लागि केन्द्रीत हुनेछ ।

२. समयावधि सकिएका भातृ र शुभेच्छुक संस्थाहरूले केन्द्रीय कार्यसमितिको पछिल्लो निर्णय बमोजिम अधिवेशन तयारीका लागि विषय प्रारम्भ गर्नेछन् ।
जागरण अभियानमा जनसम्पर्क समितिहरू

‘हिपतम’ जागरण अभियानका क्रममा विदेशस्थित नेपाली जनसम्पर्क समितिहरू निम्न दुई कार्यमा सकृय हुनेछन् ।

१. सम्मानित सर्वोच्च अदालतले विदेशमा रहेका नेपालीहरुलाई मतदानको प्रबन्ध मिलाउने व्यवस्था गर्न सरकारका नाममा आदेश जारी गरेको एक वर्ष पुग्दापनि यस सम्बन्धी छलफल र तयारी थालिएको देखिन्न । जागरण अभियानका क्रममा नेपाली जनसम्पर्क समितिहरूले विदेशमा रहेका सम्पूर्ण नेपालीको प्रतिनिधित्व गर्दै राजदूतावास र कन्सुलेट मार्फत नेपाल सरकार समक्ष मतदानको अधिकार व्यवस्थापनका लागि ज्ञापनपत्र पेश गर्नेछन् ।

२. समयावधि सकिएका जनसम्पर्क समितिहरूले केन्द्रीय कार्यसमितिको पछिल्लो निर्णय बमोजिम अधिवेशन तयारीका लागि आवश्यक प्रारम्भ गर्नेछन् ।

जिल्ला—काठमाडौं सम्पर्क समितिका हकमा

काठमाडौंमा रहेका पार्टीका जिल्ला सम्पर्क समितिहरूले जागरण अभियानका क्रममा अभियानको प्रचारका लागि भूमिका निर्वाह गर्नेछन् । आ–आफ्नो जिल्ला अन्तर्गतका कार्यक्रमहरू सफलताका लागि काठमाडौंबाट गर्न जरुरी समन्वयको अलावा प्रथम चरणको अभियानसँगै प्रारम्भ नियमित रक्तदानलाई निरन्तरता दिनेछन् ।

असोज ३ संविधान दिवसका कार्यक्रमहरू

जागरण अभियानको अवधिमा पर्ने संविधान दिवसको असोज ३ को मितिमा अभियानका कार्यक्रम निम्नानुसार हुनेछन् —

१. नेपालको संविधान निर्माणमा कांग्रेसले गरेको नेतृत्व, संविधानका विशेषता र आजको दायित्व विषयक कार्यक्रम (अन्तरक्रिया या विचार गोष्ठी) प्रदेश सभा कार्यसमितिको आयोजना ।

(कार्यक्रम क्रममा तराई–मधेशमा रहेको असन्तुष्टि र जनजाति, महिला, दलित, थारू आदिका मुद्धाहरूको हल संविधानको संशोधनद्वारा नै सम्भव रहेको पार्टीको धारणाका साथ संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान सम्वर्द्धनका पक्षमा सबैमा अपील गरिने)

२. साँझ सबै गाउँ–नगरका निश्चित चौक बजारमा दिप प्रज्ज्वलन गर्ने । गाउँ–नगर वडा समितिको समन्वयमा ।

अन्तिम दिन असोज ७ गते ५ मुद्दामा जिल्ला स्तरीय प्रदर्शन

‘हिपतम’ जागरण अभियानको दोस्रो चरणको अन्तिम दिन असोज ७ गते जिल्ला स्तरीय विरोध प्रदर्शन र सभा गरिनेछ ।

प्रदर्शन मुलतः ५ मुद्दामा केन्द्रित रहनेछ—

१. बढ्दो महंगीका विरुद्ध ।

२. भ्रष्टाचार (वाइडबडी, न्यारो वडी प्रकरण लगायत) का विरुद्ध ।

३. बढ्दो महिला हिंसा, बलात्कार र हत्याका विरुद्ध ।

४. अलोकतान्त्रिक विधेयकहरूका विरुद्ध ।

५. कम्युनिष्ट सरकारको सम्पूर्ण कुशासनका विरुद्ध ।

(जिल्लास्तरीय प्रदर्शनमा स्थानीय स्तरका मुद्दाहरूलाई पनि प्राथमिकताका साथ उठाइनेछ ।)

हिमाल, पहाड, तराई–मधेश नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियानको दोस्रो चरणका कार्यक्रमहरूको सफलताका लागि नेपाली संचार जगत, लेखक, वुद्धिजीवि, विभिन्न पेशा व्यवसायमा सरिक व्यक्तित्वहरू लगायत स्वदेश र विदेशमा रहेका समस्त नेपाली दिदीबहिनी–दाजुभाइको साथ र सहयोगको— अपेक्षा लिएकाे शर्माले बताएका छन् ।

 

Published : Thursday, 2019 September 5, 6:50 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया