कम्युनिस्टहरूका कारण जनतामा निराशा भयोः देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारका हरेक गतिविधि जनभावना र संविधान विपरीत भएको बताएका छन् ।

काठमाडौंमा बिहीबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले दुईतिहाइको कम्युनिस्ट सरकारका गलत कामका कारण जनतामा निराशा बढेको आरोप लगाए । उनले सरकारका कारण संघीय लोकतान्त्रिक व्यवस्थाप्रति नै खतार बढेको बताए ।

सभापति देउवाले दलित समुदायको मुद्दालाई अन्तर्राष्ट्रियकरण गर्ने र समान समस्या भएका विश्वका अन्य मुलुकका संसदसँग हातेमालो गरी विभेदविरुद्ध साझा लडाइँ लडनुपर्ने बताए ।

संविधानको अक्षरसः पालना गराउन सरकारलाई हरपल खवरदारीका लागि सबैलाई देउवाले आह्वानसमेत गरेका छन् ।

उनले जनभावना विपरीत हुने गरी सरकारले ल्याएको राष्ट्रिय मानवअधिकार आयोगसँग सम्बन्धित विधेयक, मिडिया काउन्सिल विधेयक, गुठी विधेयक, राष्ट्रिय सुरक्षा विधेयक समावेशीकरण विरुद्ध पनि भएकाले आफ्नो पार्टीले मान्य नहुने अडान लिएको स्मरण गराए ।

सभापति देउवाले दलित विकास समिति खारेज गर्ने सरकारको निर्णयप्रति पनि आपत्ति जनाएका छन् ।

उनले दलित, आदिवासी–जनजाति समूदायको हितका लागि आफूले २०५२ सालमै प्रधानमन्त्री हुँदा धेरै काम गरेको दावी गर्दै वर्तमान सरकार दलित समुदायको अधिकार सुनिश्चित गर्न गम्भीर नभएको बताए ।

Published : Thursday, 2019 September 5, 4:20 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया